![](https://internal.appharu.com/wp-content/uploads/2021/08/nrb-768x285.jpg)
काठमाडौं । नेपाल राष्ट्र बैंकले सिडी रेसियो (कर्जा–निक्षेप अनुपात)को सीमाभन्दा बढी भएका वाणिज्य बैंकलाई पत्राचार गर्दै जवाफ माग गरेको छ । सिडी रेसियो सीमा ९० प्रतिशतभन्दा बढी भएका वाणिज्य बैंकहरुलाई पत्रचार गर्दै केन्द्रीय बैंकले जवाफ माग गरेको हो ।
राष्ट्र बैंकका अनुसार हाल २७ मध्ये १५ वटा बैंकको सिडी रेसियो ९० प्रतिशतभन्दा बढी छ । जसमा २ वटा बैंकको सिडी रेसियो ९५ प्रतिशतभन्दा बढी पुगिसकेको छ ।
‘सिडी रेसियो ९० प्रतिशतभन्दा तल झार्नका लागि कसरी योजना बनाउनु भएको छ भन्ने पत्र राष्ट्र बैंकबाट आएको छ,’ एक बैंकका उच्च अधिकारीले क्लिकमाण्डूसँग भने, ‘राष्ट्र बैंकले सिडी रेसियो ९० प्रतिशतभन्दा बढी हुने बैंकलाई मात्र पठाएको हो ।’
राष्ट्र बैंकले असार मसान्तपछि नियम अनुसार सिडी रेसियो ९० प्रतिशत बढी हुने बैंकहरुलाई कारवाही गर्ने तयारी गरेको छ । राष्ट्र बैंकका अधिकारीहरु केही बैंकबाहेक सबै बैंकको सिडी रेसियो असार मसान्तसम्ममा ९० प्रतिशतभन्दा तल हुनेमा विश्वासमा छन् ।
राष्ट्र बैंकले दुई दिन अगाडि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ)हरुलाई बोलाएर सिडी रेसियो ९० प्रतिशतभन्दामाथि कटाउने बैंकलाई असार मसान्तको समय सीमा सम्झाएको थियो ।
राष्ट्र बैंकले सीइओहरुलाई सिडी रेसियोको व्यवस्था परिवर्तन नहुने र असारभित्र सीमा ल्याउनुपर्ने भनेको थियो । असारभित्र सिडी रेसियो गणना विधि समेत परिवर्तन हुनेछ । अहिले बैंकहरुले ऋणपत्रलाई पुँजीकोष तथा सिडी रेसियो दुबैमा गणना गर्ने गरेका छन् । अहिले १ खर्बजति ऋणपत्र सिडी रेसियोमा गणना भएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार अहिले औसतमा भने वाणिज्य बैंकहरुको सिडी रेसियो ९० प्रतिशतभन्दा तल आइसकेको छ । राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकको औसत सिडी रेसियो ८९.६१ प्रतिशत छ । यसमा भने बैंकहरुले ऋणपत्र समेत जोडेका छन् ।
राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिदेखि सिसिडी रेसियो खारेज गरेर सिडी रेसियोमा जाने नीति लिएको हो । सिसिडी ८५ प्रतिशतबाट परिवर्तन गरेर सिडीमा ९० प्रतिशतको व्यवस्था गरिएको हो ।
बैंकहरुले प्रकाशित गरेको चैत मसान्तको वित्तीय विवरण अनुसार सबैभन्दा बढी सिडी रेसियो प्राइम बैंकको ९९.६२ प्रतिशत थियो भने एसबिआई बैंकको ९५.३५ प्रतिशत थियो ।
SHARE YOUR THOUGHTS