सेयर बजारमा साक्षरताको कमी छ, बजारमा परिपक्वता आएको छैनः अर्थमन्त्री शर्मा « Eglish Khabarhub

सेयर बजारमा साक्षरताको कमी छ, बजारमा परिपक्वता आएको छैनः अर्थमन्त्री शर्मा



फाइल फाेटाे

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपालमा सेयर बजार सम्बन्धी साक्षरताको कमी रहेको बताएका छन् ।

‘त्यसभित्र गर्नुपर्ने धेरै काम गर्न बाँकी छ । ती सबै काम समयमा हुन नसक्दा आम लगानीकर्ताले प्रक्रियालाई बुझने, कहाँ गर्दा के हुन्छ भन्ने जानकारी छैन’ उनले भने ‘बजारमा परिपक्वता आएको छैन ।’

यसको लागि धितोपत्र बोर्डको साधन र स्रोत बलियो बनाउनुपर्ने मन्त्री शर्माको तर्क छ । सेयर बजारमा अहिलेको चुनौतीले सकारात्मक दिशामा नै लगिरहेको उनको दाबी छ । ‘मलाई विश्वास छ, सेयर बजारले गति लिन्छ’ उनले भने, ‘लिनु नै पर्छ ।’
मन्त्री शर्माले राष्ट्रिय समाचार समितिलाई दिएको अन्तवार्तामा सेयर बजारलाई कसरी राम्रो गर्ने भनेर के छन् त्यहाँभित्रका समस्याहरू पत्ता लगाउ र समाधान गर्न भनेर नयाँ व्यक्तिहरू नियुक्ति गरेर उनीहरुलाई स्पष्ट निर्देशन दिएको बताए ।

‘नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत र नेपाल धितोपत्र बोर्डको अध्यक्षलाई निर्देशन दिएको छु’ उनले भने ‘बुक बिल्डिङको काम कसरी गर्ने, अरु काम कसरी गर्ने, कोषहरू कसरी बनाउने, अरु संरचनाको विकास कसरी गर्ने, आइटी क्षेत्रलाई कसरी सहज बनाउने भनेर स्पष्ट निर्देशन दिएको छु । उहाँहरू काममा हुनुहुन्छ । त्यो कामले गति लिँदैछ ।’

मन्त्री शर्माले सेयर बजार व्यवस्थित ढङ्गले चल्ने वातावरण बनिरहेको पनि जानकारी गराए । ‘सामान्यरूपमा कसैले यताउति गर्दा पनि तलमाथि नहुने गरी काम भइरहेको छ । अब काम उहाँहरुको जिम्मामा छ’ उनले भने, ‘अर्थमन्त्रीले सेयर बजार घटाउने बढाउने गर्न सक्दैन । त्यो गर्दा पनि गर्दैन । म लगानीकर्तालाई विश्वास दिलाउन चाहन्छु कि राम्रो काम हुँदैछ, तपाईँहरू नआत्तिनुस् ।’ सेयर बजारमा समस्या देखिनुका पछाडि बैंकिङ तरलताले पनि सघाएको उनको बुझाइ छ ।

Publish on: