
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारले अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेकाले समय र परिस्थिति अनुसार मौद्रिक नीति आउने बताएका छन् ।
नेपाल उद्योग बाणिज्य महासंघले अगामी आर्थिक वर्ष मौद्रिक नीतिका विषयमा सुझाव दिन आयोजना गरेको कार्यक्रममा बाह्य क्षेत्रका कारण नेपालको अर्थतन्त्र समस्यामा परेकाले आगामी वर्ष कस्तो नीति लिने भन्ने विषयमा राष्ट्र बैंकको टिमले सुक्ष्म रुपमा तथ्यांक विश्लेषण गरिरहेको बताए ।
‘महाप्रसाद अधिकारीको दिमागमा के छ भनेर मौद्रिक नीति आउँदैन, तपाईंहरूले दिएको सुझाव अनुसार पनि आउँदैन’ उनले भने ‘आज हामीले अर्थतन्त्रलाई स्थिर बनाउनु पर्नेछ । अर्थतन्त्र अस्थिर भयो भने हामी सबैलाई समस्या हुन्छ । त्यसैले अर्थतन्त्रलाई सुधार गर्ने गरि मौद्रिक नीति आउँछ ।’
अधिकारीले निजी क्षेत्रले व्यवसाय सहज हुने गरि नीति आओस भन्ने अपेक्षा गर्नु स्वभाविक भएको बताए ।
‘तर हामी अर्थतन्त्रलाई स्थिर बनाउने गरि नीति बनाउनु पर्ने अवस्थामा छौं’ अधिकारीले भने ‘अर्थतन्त्र सहज हुँदा सबैलाई लाभ हुन्छ । त्यसैले हाम्रो प्रमुख उद्देश्य अर्थतन्त्रलाई ठिक ठाँउमा पुर्याउनु हो ।’
अर्थतन्त्र सुधार गर्दा सरकारको लक्ष्य अनुसार राजस्व संकलन नहुने, व्यवसायीहरू मार्कामा पर्ने हुने हुन सक्नेर्फ संकेत गरे ।
‘यदि आज केही पीडा भएर भोलि सुधार हुन्छ भने हामीले केही नीतिगत सुधार गर्नै पर्छ’ उनले भने ।
अधिकारीले कोरोना महामारीका क्रममा अर्थतन्त्रलाई चलायमान बनाउन सुविधा दिएर पनि आवश्यकता अनुसार त्यसलाई संशोधन गरिएको बताए । अधिकारीले महासंघले दिएका सुझावलाई मौद्रिक नीतिमा समेट्ने बताए ।


प्रतिक्रिया