लिलामीमा राखिएको फूलबारी रिसोर्ट बिक्री भएन, साँवाभन्दा कमको प्रस्ताव बैंकले स्वीकारेन « Eglish Khabarhub

लिलामीमा राखिएको फूलबारी रिसोर्ट बिक्री भएन, साँवाभन्दा कमको प्रस्ताव बैंकले स्वीकारेन


२५ श्रावण २०७९, बुधबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । लिलामीमा राखिएको फूलबारी रिसोर्ट बिक्री हुन सकेन । रिसोर्टको दायित्वमा रहेको साढे ३ अर्ब रुपैयाँभन्दा बढी ऋण असुल्न नेपाल बैंकले लिलामीमा राखेको बोलकबोलमा कम्पनीले साँवाभन्दा निकै कमको प्रस्ताव गरेपछि बिक्री हुन नसकेको हो ।

नेपाल बैंकले गत असार ३ गते ३५ दिने सूचना प्रकाशित गर्दै रिसोर्ट र त्यसले ओगटेको १३८ रोपनी क्षेत्रफल भएको जग्गा लिलामीमा राखेको थियो । लामो समयदेखि बन्द भएको पोखरास्थित रिसोर्टको बोलकबोलमा निर्धारित समयभित्र एलिमेच इन्टरनेशनल कम्पनीले मात्रै बोलकबोलमा भाग लिएको छ ।

नेपाल बैंक स्रोतका अनुसार उक्त कम्पनीले २ अर्ब ७५ करोड रुपैयाँमा रिसोर्ट र जग्गा खरिदका लागि बोलकबोल गरेको छ । साँवा रकमभन्दा कममा बोलकबोल भएकाले उक्त बोलकबोललाई अस्वीकार गरिएको बैंक स्रोतको भनाइ छ ।

उक्त रिसोर्टले २०५२ सालमा नेपाल बैंकको कन्सोर्टियममा लिडमा १ अर्ब ३१ करोड रुपैयाँ ऋण लिएको थियो । जसमा नेपाल बैंकले ६५ करोड रुपैयाँ, तत्कालीन औद्योगिक विकास निगम अहिले वाणिज्य बैंकमा गाभिएको संस्थाले ३५ करोड र बाँकी कर्मचारी सञ्चय कोषले कर्जा दिएका थिए ।

नेपाल बैंकले उक्त ऋणलाई २०७६ सालमा पुनसंरचना गरी साँवा १ अर्ब ३१ करोड र साधारण ब्याज मात्रै २ अर्ब ३६ करोड रुपैयाँ गरी कुल ३ अर्ब ४७ करोड रुपैयाँ निकालेको थियो । अहिले ३ अर्ब ४७ करोडलाई साँवा मानेर बैंकले लिलामीको सूचना प्रकाशित गरेको थियो ।

नेपाल बैंकले लिलामीको सूचना प्रकाशित गरेपछि त्यसविरुद्ध सञ्चालक पियुषबहादुर अमात्यले उच्च अदालत पाटनमा मुद्दा दायर गरेका थिए । उक्त मुद्दामा सुनुवाई गर्दै न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासले गत साउन १५ गतेसम्मका लागि लिलामी प्रक्रिया रोक्न अन्तरिम आदेश दिएका थिए ।

साथै, अदालतले अन्तरिम आदेश निरन्तर हुने वा नहुने निर्णय गर्न दुबै पक्षलाई छलफलका लागि समेत बोलाएको थियो । दुबै पक्षसँगको छलफलपछि अदालतले अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि बैंकले लिलामी प्रक्रिया अघि बढाएको थियो ।

लिलामी प्रक्रियामा भाग लिनका लागि ठूला व्यापारिक घरानाहरुले चासो देखाएको भनिए पनि बोलकबोल प्रक्रियामा उनीहरुको सहभागिता देखिएन । एलिमेच इन्टरनेशनलका निर्देशक जीवन चन्दले मात्रै उक्त प्रक्रियामा भाग लिएका छन् ।

‘साँवाभन्दा करिब ७५ करोड रुपैयाँमा बोलकबोल परेपछि हामीले त्यसलाई अस्वीकार गरेका छौं,’ नेपाल बैंक स्रोतले भन्यो, ‘फेरि अब लिलामीको नयाँ सूचना प्रकाशित हुन्छ ।’

हाल रिसोर्ट सञ्चालनका लागि लिएको कर्जामा साँवाभन्दा ब्याज दोब्बरभन्दा बढी भइसकेको छ ।

लामो समयसम्म ऋण नतिरेका अमात्यले बैंकसँग भने विगतमा पटक-पटक ऋण सल्ट्याउने आश्वासन दिएका थिए । यसका लागि उनले विभिन्न योजना समेत पेश गरेका थिए । तर उनले भने अनुसार कुनै पनि प्रक्रिया अघि नबढाएपछि नेपाल बैंकले लिलामीको प्रक्रिया शुरु गरेको थियो ।

रिसोर्ट सञ्चालनमा आएसँगै शुरु भएको माओवादीको सशस्त्र द्वन्द्व र २०५८ सालमा राजदरबार हत्याकाण्डको असर रिसोर्ट बन्द हुने कारक बनेको जानकारहरु बताउँछन् । रिसोर्ट सञ्चालन हुँदा तत्कालीन समयमा यसलाई दक्षिण एशियाकै शानदार रिसोर्टका रुपमा ब्याख्या गरिएको थियो । रिसोर्ट अवस्थित भौगोलिक अवस्था र सेवा सुविधाले यसलाई तत्कालीन समयको निकै लक्जरियस रिसोर्ट बनाइएको थियो ।

तर माओवादीको आतंकका कारण पर्यटक आगमनमा कमी आयो । सन् १९९४ सालमा ३ लाख २६ हजार विदेशी पर्यटक आएकोमा त्यसपछि उल्लेख्यरुपमा संख्या वृद्धि हुन सकेन् । १९९७ मा विदेशी पर्यटकको संख्याले ४ लाखको आँकडा पार गरे पनि ५ लाखको आँकडा पार गर्न सन् २००७ सम्म पर्खनु पर्यो । यसले रिसोर्ट सञ्चालन अपेक्षाकृतरुपमा हुन सकेन ।

रिसोर्ट बन्द हुनुको अर्को कारण राजदरबार हत्याकाण्ड घटना बन्यो । अमात्य परिवार लामो समयदेखि धनीमानी परिवारमा गनिन्थे । यतिसम्म कि उनीहरुको हैसियत राज्यलाई आवश्यक परेको समयमा ऋण दिने र राजपरिवारका सदस्यहरुलाई विदेश भ्रमणको सम्पूर्ण खर्च बेहोर्थे ।

तर २०५८ सालमा राजपरिवारमा राजा बीरेन्द्र र उनको सम्पूर्ण परिवारको हत्या भएपछि अमात्यलाई व्यवसायिकरुपमा पनि धक्का लाग्यो । बीरेन्द्रसँग उनको सम्बन्ध निकै सुमधुर थियो ।

त्यसपछि २०६२/६३ को परिवर्तनपछि मजदुर आन्दोलनको कारण सेवा स्थगित गरेको रिसोर्ट आजसम्म पनि सञ्चालन हुन सकेको छैन ।

रिसोर्ट बन्द भयो अमात्यले बैंकको ऋण तिर्न सकेनन् । फलस्वरुप बैंकले कालोसूचीमा राख्यो । तर २०६५ साल वैशाख महिनामा अमात्यले जसरी पनि रिसोर्ट सञ्चालन गर्ने आश्वासन दिएका कारण नेपाल बैंकले कालोसूचीबाट हटाउँदै सोही वर्षको जेठ महिनामा ऋण असुली न्यायाधिकरणबाट समेत मुद्दा फिर्ता लियो ।

फेरि पनि रिसोर्ट सञ्चालन हुन सकेन । अमात्यले ऋण सल्टाउन गरेको प्रयासले पनि काम गरेन ।

त्यसको ६ वर्षपछि नेपाल बैंकले १५ दिने सूचना र २०७२ सालमा ३५ दिने सूचना प्रकाशित गर्यो । तर, अमात्यले ऋण तिर्न कुनै चासो देखाएनन् ।

उसो त अमात्यले २०७३ साल पनि साँवा मात्रै बुझाउने प्रस्ताव पेश गरेका थिए । उनले रिसोर्टलाई रुग्ण उद्योगका मान्यता दिन र साँवा वापतको १ अर्ब ३१ करोड रुपैयाँ बुझाउने प्रस्ताव बैंक समक्ष पेश गरेका थिए । उक्त प्रस्ताव बैंकले स्वीकार गरेन ।

त्यसपछि अमात्यले रिसोर्ट सञ्चालन गर्ने तर यसका लागि थप २५ करोड रुपैयाँ थप ऋण माग गर्दै अन्तर्राष्ट्रिय चेन होटल मेरियट भित्र्याउने काउन्टर प्रस्ताव बैंकसमक्ष गरे ।

बैंकहरुलाई पनि लामो समयपछि समस्या समाधान हुन्छ र रिसोर्ट सञ्चालन हुन्छ भने किन नगर्ने भन्ने लाग्यो र थप केही समय दिने निर्णय गर्यो ।

अमात्यको उक्त प्रस्ताव अनुसार २०७७ वैशाखबाट मेरियटले रिसोर्ट सञ्चालन हुनुपर्ने थियो । तर, त्यसमा पनि काम भएन ।

लामो समयसम्म पनि रिसोर्ट सञ्चालनमा नआएपछि अमात्य र बैंकबीच पटक-पटक कैयन छलफल भयो । तर कुनै निष्कर्ष निस्किएन ।

पछिल्लो पटक २०७७ फागुन र २०७८ चैतमा समेत अमात्य र बैंकबीच छलफल भएको थियो । लिलामीमा राखिएको फूलबारी रिसोर्टले चर्चेको जग्गाको क्षेत्रफल १३८ रोपनी छ ।

यसअघि रिसोर्टका नाममा १६९ रोपनी जग्गा भए पनि सडक निर्माण र सशस्त्र प्रहरीले बाँकी जग्गा ओगटेपछि रिसोर्ट रहेको १३८ रोपनी जग्गा लिलामीमा राखिएको बैंकको भनाइ छ ।

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार ००:००  २ : ५० बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping