![](https://internal.appharu.com/wp-content/uploads/2022/08/c-768x295.jpg)
काठमाडौं । चचन ग्रुपद्वारा सञ्चालित नारायणी मोडर्न पल्सेस उद्योगको व्यापार रिबाउन्ड हुँदै गएको जनाएको छ । कोरोना महामारीका कारण घटेको व्यापारमा कोरोनापछि रिबाउन्ड हुँदै गएको हो ।
कम्पनीले कोरोनाअघि अर्थात् सन् २०१९ मा २ अर्ब ६८ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो । तर, सन् २०२० मा कोरोना महामारीका कारण २ अर्ब २३ करोड ८० लाख रुपैयाँको मात्रै व्यापार गरेको थियो ।
त्यस्तै, सन् २०२१ मा कोरोना महामारीको संक्रमण कम भएसँगै १३.९६ प्रतिशतले आम्दानी वृद्धि गरी २ अर्ब ५५ करोड २० करोडको व्यापारसहित रिबाउन्ड हुँदै गएको कम्पनीको भनाइ छ ।
त्यसैगरी, कम्पनीले सन् २०२२ को ६ महिनाको अवधिमा १ अर्ब २१ करोड ५० लाख रुपैयाँको व्यापार गरिसकेको छ ।
मोहनलाल अग्रवाल र श्रवणकुमार चचनको स्वामित्व रहेको कम्पनीको व्यापारमा रिबाउन्ड हुँदै गएपनि नाफा भने घटेको छ । कम्पनीले सन् १ करोड ६६ लाख रुपैयाँ नाफा कमाएकोमा सन् २०२१ मा भने १ करोड ५२ लाख रुपैयाँ नाफा कमाएको छ ।
कम्पनीअनुसार सन् २०२० मा ७.४१ प्रतिशतले नाफा कमाएकोमा सन् २०२१ मा ५.९६ प्रतिशत मात्रै नाफा कमाएको छ ।
कम्पनीले विभिन्न देशबाट मसुर दाल, हरियो र पहेंलो केराउ आयात गर्दै प्रशोधन गरी बजारमा बिक्री वितरण गर्दै आएको छ । साथै, कम्पनीले निर्यातसमेत गर्ने गरेको छ ।
५० हजार मेट्रिक टन क्षमताको खाद्यान्न उत्पादनसहित साना तथा घरेलु उद्योगमा दर्ता भएको कम्पनीको काठमाडौं, पोखरा, इटहरी, भैरहवा, नेपालगञ्ज र जनकपुरमा डिपो छ ।
केयर रेटिङ नेपालमार्फत् कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ८३ करोड ७५ लाख रुपैयाँको रेटिङ गराएको छ । जसमा केयर रेटिङले कम्पनीलाई दीर्घकालीन कर्जाका लागि २० करोड ४० लाख रुपैयाँ अर्थात् डबर बी र अल्पकालीन कर्जाका लागि १ अर्ब ६३ करोड ३५ लाख रुपैयाँको अर्थात् एफोर रेटिङ दिएको छ ।
SHARE YOUR THOUGHTS