![](https://internal.appharu.com/wp-content/uploads/2022/08/Maruti-Cement-768x450.jpg)
काठमाडौं । मारुती सिमेन्ट लिमिटेडले सन् २०२१ मा पौने ७ अर्बको व्यापार गरेको छ । कम्पनीले सन् २०२१ मा ६ अर्ब ८६ करोड ४० लाख रुपैयाँको व्यापार गरेको हो ।
कम्पनीले सन् २०२० मा ५ अर्ब ६३ करोड १० लाख रुपैयाँ र सन् २०१९ मा ७ अर्ब ५० करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो ।
राठी ग्रुप र गोयल ग्रुपको स्वामित्व रहेको कम्पनीले दैनिक १५ सय मेट्रिक टन क्लिङ्कर र २ हजार मेट्रिक टन ग्रान्डिङ सिमेन्ट उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ ।
नन्द किशोर राठी अध्यक्ष र सुनिल खेम्का प्रबन्ध निर्देशक रहेको कम्पनीले जान्की खोला (कटारी) को चुनढुङ्गा उत्खनन् गर्दै आएको छ । सो क्षेत्रबाट १४ लाख मेट्रिकटन चुनढुङ्गा उत्खनन् हुने अनुमान गरेको छ । उक्त उत्खनन् भएको चुनढुङ्गाबाट ३ दशकसम्मका लागि क्लिङ्कर उत्पादन गर्न पुग्ने कम्पनीको भनाइ छ ।
कम्पनीले क्लिङ्करसँगै ग्रान्डिङ सिमेन्ट उत्पादन गर्दै आएको छ । कम्पनीको देशभर नारायणघाटदेखि काँकडभिट्टासम्म २ सय डिलर छ । कम्पनीले ‘मारुती’ ब्रान्डमा देशभर सिमेन्ट बिक्री वितरण गर्दै आएको छ ।
सन् २०२१ मा २१.९० प्रतिशतले व्यापार बढेकाले व्यापारमा रिबाउन्ड हुँदै गएको कम्पनीको भनाइ छ । साथै, कम्पनीको व्यापार बढ्दा नाफामा पनि सुधार आएको छ । कम्पनीले सन् २०२१ मा ३६.३४ प्रतिशतले नाफा कमाएको छ ।
त्यस्तै, कम्पनीले सन् २०२२ को ९ महिनाको अवधिमा २ अर्ब २६ करोड ५० लाख रुपैयाँ (अपरिष्कृत) को व्यापार गरिसकेको छ । कम्पनीले १५ सय मेट्रिकटन क्लिङ्कर उत्पादन क्षमता बढाएर ३३ सय मेट्रिक टन उत्पादन गर्ने र २ हजार मेट्रिक टन ग्रान्डिङ सिमेन्ट उत्पादन क्षमतालाई बढाएर ४ हजार मेट्रिक टनमा विस्तार गर्दैछ ।
उक्त उद्योग विस्तारका लागि ५ अर्ब ६२ करोड २० लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ । त्यसमा ३ अर्ब ९३ करोड ५० लाख रुपैयाँ कर्जाबाट र बाँकी भने आन्तरिकबाट लगानी जुटाइरहेको कम्पनीले जनाएको छ ।
कम्पनीले सिमेन्ट उत्पादनका लागि आवश्यक कच्चा पदार्थ आयात गर्दै आएको छ । त्यस्तै, केयर रेटिङ नेपालले कम्पनीलाई दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ५ अर्ब ५५ करोड ६५ लाख रुपैयाँको रेटिङ गरेको छ ।
जसमा कम्पनीलाई दीर्घकालीन कर्जाका लागि ४ अर्ब ४८ करोड ६० लाख रुपैयाँ अर्थात् ए माइनस र अल्पकालीन कर्जाका लागि १ अर्ब ७ करोड रुपैयाँ अर्थात् एटु प्लसको रेटिङ दिएको छ ।
SHARE YOUR THOUGHTS