
काठमाडौं । सोमबार बजारमा देखिएको हरियाली मंगलबार भने टिक्न सकेन । मंगलबार बजार मापन गर्ने सूचक २४.८३ अंकले घटेर परिसूचक २०४१.०६ बिन्दुमा रोकिएको छ ।
बजारमा गिरावट आउनुका साथै कारोबार रकमले पनि धेरै साथ दिन सकेको छैन । यो दिन २२१ कम्पनीको ६४ लाख ६ हजार ७३८ कित्ता सेयर २ अर्ब ७३ करोड ४८ लाख ५३ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।
यो दिनको कारोबारमा अधिकांश समूहको उपसूचकमा गिरावट देखिएको छ । बैंकिङ समूहको उपसूचक ३.४२, विकास बैंक १०१.०४, वित्त ४७.८६, जलविद्युत ७९.२०, जीवन बीमा ८६.५९, उत्पादन तथा प्रशोधन ९८.११, माइक्रोफाइनान्स ५९.७१, निर्जीबन बीमा समूहको उपसूचक १४२.०१ अंकले घटेको छ ।
बजारमा दोहोरो अंकको गिरावट आउँदा अप्पर हेवाखोला हाईड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै स्वाभिमान लघुवित्त वित्तीय संस्था, कुमारी इक्विटी फण्ड, सिद्धार्थ इक्विटी फण्ड, एनआईबीएल प्रगति फण्डको लगानीकर्ताले कमाएका छन् भने युनिलिभर, दोर्दी खोला जलविद्युत कम्पनी, पन्चकन्या माई हाईड्रोपावर, जोशी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी, हिमालयन उर्जा विकास कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
कारोबार रकमको आधारमा रिडी पावर कम्पनी अगाडि रहेको छ । कम्पनीको ४० करोड ८२ लाख ४७ हजार रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै दोस्रो र तेस्रोमा शिवम् सिमेन्ट र हिमालयन डिस्ट्रिलरी कम्पनी रहेको छ ।

SHARE YOUR THOUGHTS