![](https://internal.appharu.com/wp-content/uploads/2022/08/new-768x448.png)
काठमाडौं । एक वर्षअघि नेपालका दुई ठूला शसक्त कम्पनीहरु नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको संयुक्त लगानीमा डिजिटल भुक्तानी सेवा प्रदायक ‘नमस्ते पे’ बजारमा आउँदा ठूलो आशा थियो ।
ठूलो सञ्जाल भएका नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकले भुक्तानी सेवा प्रदायक शुरुवात गर्दा त्यसले सहरदेखि ग्रामीण क्षेत्रसम्म प्रभाव पार्न सक्छ भन्ने अपेक्षा थियो । नमस्ते पे शुरु गर्दा नेपाल टेलिकमका ग्राहक २ करोडभन्दा धेरै थिए र राष्ट्रिय वाणिज्य बैंकका ग्राहक ३२ लाख थिए ।
यो ठूलो नेटवर्क भएपछि नमस्ते पे एकै पटक ठूलो ग्राहकसमक्ष पुग्नेछ भन्ने शुरुवाती प्रक्षेपण थियो । बजारमा हस्तक्षप गर्न सक्छ भन्ने आकलन गरिएको नेपाल डिजिटल पेमेन्ट कम्पनीबाट सञ्चालित यस नमस्ते पेले त्यो आशालाई भने वर्षदिनमै तुहाएको छ ।
गत वर्षको भदौको अन्तिममा शुरु भएको नमस्ते पे एक वर्ष नहुँदै बजारमा आफ्नो उपस्थिति जनाउन सकेको छैन । आशा गरिएअनुसार व्यवसायीकरुपमा अगाडि बढ्न नसकेपछि लगानीकर्ता दुई कम्पनी यसको सञ्चालन प्रणाली परिवर्तन गरेर अगाडि बढ्ने निर्णयमा पुगेका छन् ।
‘करोडभन्दा धेरै ग्राहक भएको टेलिकम र त्योबेला ३२ लाखभन्दा धेरै ग्राहक रहेको वाणिज्य बैंक भएपछि यसले छिट्टै प्रभाव पार्छ भन्ने हाम्रो आकलन थियो,’ राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले भने, ‘हामीले साचेअनुसार कम्पनी अगाडि बढ्न सकेन । अब हामीले सञ्चालनको मोडालिटी परिवर्तन गरेर अगाडि बढ्ने तयारीमा छौं ।’
नेपाल डिजिटल पेमेन्ट कम्पनी सञ्चालन गर्न नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकका कर्मचारी ल्याएर टिम बनाइयो । केही कर्मचारी नेपाल टेलिकमबाट आए र केही कर्मचारी राष्ट्रिय वाणिज्य बैंकबाट ल्याइयो । जसको नेतृत्व गर्दै नेपाल टेलिकमबाट आएका कृष्णप्रसाद भण्डारी प्रमुख कार्यकारी अधिकृत (सीईओ) बने ।
दुई कम्पनीका कर्मचारी ल्याएर नयाँ कम्पनी खडा गर्नु नै सबैभन्दा ठूलो गल्ति भएको अहिले महसुस गरिएको छ । यसै कारणले कम्पनी निकै सुस्त भएको उनीहरुको निक्र्यौंल छ ।
‘हामीले दुई कम्पनीका कर्मचारी पठाउँदा उहाँहरुसँग डिजिटल भुक्तानी सेवा प्रदायक सञ्चालन गर्ने अनुभव भएन,’ श्रेष्ठ भन्छन्, ‘यो समूहबाट कम्पनीले बजारमा प्रतिस्पर्धा गर्न सकेन ।’
अहिलेको जनशक्तिले नभ्याएपछि यसलाई पुरै परिवर्तन गरेर नयाँ टिम बनाउने योजनामा दुई कम्पनी लागेका छन् ।
अहिलेको टिमलाई पुरै प्रतिस्थापन गरेर नयाँ कर्मचारी भर्ना गर्ने प्रकृया अगाडि बढेको छ । ‘हामीले अब बजारबाट विज्ञ व्यक्ति र यो सेवासँग परिचित कर्मचारीहरुलाई भर्ना गर्ने प्रकृयामा थाल्दै छौं,’ श्रेष्ठले भने, ‘सीईओदेखि सबै कर्मचारी बाहिरबाट भर्ना गरिनेछ ।’
बैंक सञ्चालन वा टेलिकम सञ्जालन गर्नुभन्दा मोबाइल वालेट सञ्चालन गर्नु अझ धेरै प्रतिस्पर्धी र चुस्त हुनुपर्ने रहेछ उनीहरुको बुझाइ छ । बजारमा निजी क्षेत्रबाट सञ्चालित मोबाइल भुक्तानी सेवा प्रदायकहरु निकै अब्बल र प्रतिस्पर्धी रहेकाले त्योसँग प्रतिस्पर्धा गरेर अगाडि बढ्न सक्ने व्यक्तिहरु भर्ना गर्नु पर्न उनीहरु निर्णयमा पुगेका छन् ।
एक वर्षसम्म पनि बजारमा आउन नसकेपछि सरकारी संस्थान जस्तै हराएर जाने हो कि भन्ने आशंका पनि फैलिएको छ । यो आशंकालाई चिर्दै नयाँ रणनीतिसहित अगाडि बढ्ने उनीहरुको योजना छ ।
‘हामीले कुनै पनि हालतमा असफल हुन दिदैनौं,’ श्रेष्ठले भने, ‘अब पूर्णरुपमा रिस्टक्चर गरेर अगाडि बढ्छौं ।’
नमस्ते पेले २०७७ चैतमा राष्ट्र बैंकबाट स्वीकृति पाएपछि गत वर्ष भदौं २९ देखि औपचारिकरुपमा शुरुवात गरिएको थियो ।
चुक्तापुँजीका आधारमा स्मार्ट टेलिकम सबैभन्दा ठूलो डिजिटल भुक्तानी सेवा प्रदायक हो । ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको नेपाल डिजिटल पेमेन्ट कम्पनीमा नेपाल टेलिकमको ६२ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकको ३८ प्रतिशत शेयर छ ।
बजारमा अहिले २७ वटा मोबाइल सेवा प्रदायकहरु सञ्चालनमा छन् । बजारमा तीव्र प्रतिस्पर्धा भइरहेको अवस्थामा नमस्ते पेले भने आफ्नो उपस्थिति जनाउन सकेको थिएन ।
SHARE YOUR THOUGHTS