अल्फाबिटाका अध्यक्षसँग बालेनको चर्काचर्की, आक्रोशित हुँदै भने- तपाईंको घरको नक्सा मसँग हुन्छ ? « Eglish Khabarhub

अल्फाबिटाका अध्यक्षसँग बालेनको चर्काचर्की, आक्रोशित हुँदै भने- तपाईंको घरको नक्सा मसँग हुन्छ ?



काठमाडौं । अवैध संरचना भत्काउनका लागि सक्रिय काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन) बानेश्वरस्थित बुद्धनगर पुगेका छन् । बिहीबार बिहान बुद्धनगर पुगेका बालेनसँग व्यवसायीको वादविवाद भएको छ।

अल्फाबिटाले बेसमेन्टमा व्यवसाय सञ्चालन गरेर पार्किङ बाहिर गरेको भन्दै मेयर शाहले त्यसलाई तत्काल हटाउन भनेका थिए ।

तर, अल्फाबिटा ग्रुप अफ कम्पनीका अध्यक्ष व्यवसायी द्वीराज शर्माले आफूहरुले बेसमेन्ट कायम राखेको र बाहिर पार्किङको व्यवस्था गरेको बताएका थिए । तर, मेयर शाहले व्यवसायीक भवनमा बेसमेन्टमा नै पार्किङको व्यवस्था गर्नुपर्ने बताए ।

शर्माले आफूहरुले सूचना नपाएको र पत्रिकामा प्रकाशन भएको बारे केही जानकारी नभएको बताएका थिए । त्यसपछि बालेन र शर्माबीच विवाद भएको थियो ।

जरिवाना तिरेर आफूले व्यवसाय सञ्चालनका लागि अनुमति लिएको शर्माको दाबी थियो । त्यसको कागजपत्र शाहले माग गरे ।तर, शर्माले भवनको नक्सा महानगरसँग हुनुपर्ने बताएपछि मेयर शाह आक्रोशित बनेका थिए ।

‘तपाईंको घरको नक्सा मसँग हुनुपर्छ?’बानेले आक्रोशित हुँदै प्रश्न गरेपछि शर्माले भने, ‘अनि नगरपालिकामा के हुन्छ त?’

पत्रिकामा प्रकाशन भएको सूचना हात लिएर हिँडेका बालेनले त्यलाई ठटाएर आक्रोशित हुँदै भने, ‘यत्रो नोटिस दिएको छ अनि के हो यो ? ३५ दिनभित्र खाली गर् भनेर नोटिस दिएको छैन ?’

शाहले फेरि रिसाउँदै प्रश्न गरे, ‘तपाईंको घरको नक्सा मसँग हुन्छ ?’ जवाफमा शर्माले भने, ‘अनि मैले कसरी खाली गर्ने त?’

त्यसपछि भीडमा रहेका एक व्यक्तिले भने, ‘मेयर सा’प तपाईं हाम्रो प्रतिनिधि होइन?’

त्यसमा बालेको जवाफ थियो, ‘तपाईंहरुकै प्रतिनिधि हो ।’

त्यसपछि भीडबाट राम्रोसँग भन्न सकिँदैन भन्ने जवाफ आउँछ । वादविवाद जारी रहँदा बालेनले शर्मालाई अहिले सटर लगाउन भने ।

शर्माले भने आफूलाई मेयर शाहले थर्काउन खोजेको भन्दै असन्तुष्टि व्यक्त गरे ।

त्यसपछि शर्माले आफूलाई बेसमेन्ट खाली गर्न पत्र दिन मेयर शाहसँग आग्रह गरे ।

काठमाडौंमा साढे २ लाख घरमा पत्र पठाउन नसकिने भन्दै शाहले त्यही भएर एक महिनाको समय दिएर सार्वजनिक सूचना प्रकाशन गरिएको बताए ।

Publish on: