नेपाल लाइफका बीमितले अधिकतम ८२ रूपैयाँ बोनसदर पाउने « Eglish Khabarhub

नेपाल लाइफका बीमितले अधिकतम ८२ रूपैयाँ बोनसदर पाउने



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले बीमितलाई दिने नयाँ बोनसदर सार्वजनिक गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को आर्थिक लेखाजोखा र दायित्वको मूल्याङ्कनसम्बन्धी बीमाङ्कीय प्रतिवेदन भदौ १५ गते बीमा समितिबाट पारित भएसँगै नयाँ बोनसदर सार्वजनिक गरेको हो ।

कम्पनीले २०७८ असार मसान्तसम्ममा जारी भएका नाफामा सरिक हुने बीमालेखहरूमा कायम हुने गरी बोनसदर निर्धारण गरेको हो ।

कम्पनीकाअनुसार बीमितले बीमा योजना र बीमा अवधिअनुसार प्रतिहजार न्यूनतम ५६ रूपैयाँ र अधिकतम ८२ रूपैयाँसम्म बोनसदर पाउनेछन् ।

इन्स्योरेन्सले सावधिक जीवन बीमालेख (सुरक्षित जीवन, जीवन ज्योति, ग्रामिण सावधिक, सावधिक लघु, केटाकेटी, बाल शिक्षा योजना, जीवन लक्ष्मी) बीमा योजनाअन्तर्गत बीमा अवधिअनुसार बीमितले प्रतिहजार न्यूनतम ६० रूपैयाँ र अधिकतम ८० रूपैयाँ बोनसदर पाउने भएका छन् ।

यस बीमा योजना खरिद गरेका २ हजार ७५३ जना बीमितले अधिकतम बोनसदरको लाभ लिने छन् ।

सावधिक जीवन बीमालेख (नौलो सुरक्षित जीवन बीमा) अन्तर्गत कम्पनीले ० देखि १० वर्ष, ११ देखि १५ वर्ष र १६ देखि २० वर्षे बीमा अवधिका लागि प्रतिहजार ६५ रूपैयाँ बोनसदर कायम गरेको छ । यस्तै, २६ देखि २५ वर्ष र ३० वा सो भन्दा माथिका लागि कम्पनीले प्रतिहजार ८२ रूपैयाँ बोनसदर कायम गरेको छ ।

सावधिक तथा आजीवन (जीवन सहारा) बीमालेखअन्तर्गत कम्पनीले ० देखि १० वर्षे, ११ देखि १५ वर्षे र १६ देखि २० वर्षे बीमा अवधिका लागि ६० रूपैयाँ बोनसदर निर्धारण गरेको छ । यसै बीमा योजनामा कम्पनीले २६ देखि ३० वर्ष र ३० वा सो भन्दा माथिका लागि प्रतिहजार ८२ रूपैयाँ बोनसदर कायम गरेको छ ।

कम्पनीको अग्रिम भुक्तानी सावधिक बीमालेख (जीवन सम्बृद्धि) बीमालेख अन्तर्गत बीमितले १५ वर्षे अवधिका लागि प्रतिहजार ५६ रूपैयाँ बोनसदर पाउने भएका छन् । र, २० वर्षे बीमा अवधिमा बीमितले प्रतिहजार ५८ रूपैयाँ बोनसदर पाउने भएका छन्।

कम्पनीले अग्रिम भुक्तानी सावधिक बीमालेख (धन वर्षा १५ वर्ष, धन वर्षा २०, नौलो जीवन सम्बृद्धि, नौलो धन वर्षा, जीवन उन्नती, जीवन शान्ति, छोराछोरी र सदाबहार वीवन) बीमालेख अन्तर्गत सबै बीमा अवधिका लागि प्रति हजार ६० रूपैयाँ बोनसदर कायम गरेको छ ।

यस्तै, जीवन सारथी बीमालेखमा कम्पनीले ० देपख १० वर्षे, ११ देखि १५ वर्षे, १६ देखि २० वर्षे र २१ देखि २५ वर्षे बीमा अवधिका लागि प्रतिहजार ६० रूपैयाँ बोनसदर कायग गरेको छ । यसै यहि बीमा योजनामा कम्पनीले २६ देखि ३० वर्षे अवधि र ३० वा सो भन्दा माथिका बीमा अवधिका लागि प्रतिहजार ८२ रूपैयाँ बोनसदर निर्धारण गरेको छ ।

आगामी बीमाङ्कीय मूल्याङ्कन नभएसम्मका लागि यहि बोनसदर कायम हुने कम्पनीले जनाएको छ ।

Publish on: