योजना अलपत्र पार्ने प्रचण्डका घरबेटीको कम्पनीलाई ३ अर्बभन्दा धेरैको ठेक्का « Eglish Khabarhub

योजना अलपत्र पार्ने प्रचण्डका घरबेटीको कम्पनीलाई ३ अर्बभन्दा धेरैको ठेक्का


२० भाद्र २०७९, सोमबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । सडक विभागअन्तर्गत मुड्खु–तीनपिप्ले सडक खण्ड निर्माणको जिम्मा पाएको शैलुङ कन्स्ट्रक्सनबाट गत साउन ३१ मा उक्त ठेक्का रद्द गरियो । आर्थिक वर्ष २०७१/०७२ मा निर्माणको ठेक्का पाएको उक्त कम्पनीले तोकिएको मिति दुई वर्षको अवधिमा काम पूरा गर्न नसक्दा पटक पटक म्याद थपिएको थियो ।

८ वर्षको अवधिमा ७ पटकसम्म म्याद थप्दा पनि निर्माण कार्य सम्पन्न नभएपछि सडक विभागले उक्त कम्पनीसँग ठेक्का रद्द गरेको थियो । तर, निर्माण कम्पनीले भने जिल्ला अदालत ललितपुरमार्फत स्टे अर्डर लिनका लागि मुद्दा दायर गरेको थियो ।

तर, साउन ३१ मा जिल्ला अदालत ललितपुरका न्यायाधीश सीता शर्माको एकल इजालसले सडक विभागकै निर्णयलाई सदर गर्दै शैलुङ कन्स्ट्रक्सनसँगको ठेक्का रद्द गर्ने आदेश जारी गरेको थियो ।

८ वर्षको अवधिमा सात पटकसम्म म्याद थप्दा पनि निर्माण सम्पन्न गर्न नसकेको उक्त कम्पनीलाई हाल सरकारले कालो सूचीमा राखेको छ । भदौ ८ मा सरकारले शैलुङ कन्स्ट्रक्सनसहित अन्य दश कम्पनीलाई कालोसूचीमा राखेको थियो । जसमा शैलुङ कन्स्ट्रक्सनलाई आगामी तीन वर्षका लागि कालोसूचीमा राख्ने निर्णय गरिएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का घरबेटी शारदाप्रसाद अधिकारीको संलग्नता रहेको शैलुङ कन्स्ट्रक्सनले निर्माणको ठेक्का लिएर पूरा नगरेको काम यो मात्रै होइन । देशैभर दर्जनभन्दा धेरै निर्माणको ठेक्का लिएर उक्त कम्पनीले अलपत्र पारेको छ ।

पटकपटक म्याद थप हुँदा पनि सडक निर्माणको कार्य सम्पन्न नगर्ने शैलुङ कन्स्ट्रक्सनको स्वामित्वमा भने अहिले पनि सडक विभागमार्फत देशभरका ३ अर्बभन्दा धेरै लागतमा ठेक्काहरु रहेका छन् ।

सडक विभागकाअनुसार हाल सडक विभागमार्फत् सञ्चालनमा रहेका देशभरका विभिन्न १४ वटा सडक विस्तार तथा निर्माणका आयोजनाहरु शैलुङ कन्स्ट्रक्सनको जिम्मामा रहेको छ । यी आयोजनाहरुको कुल लागत ३ अर्ब ५३ करोड ८० लाख ६९ हजार ३४.८६ रुपैयाँ रहेको विभागले जनाएको छ ।

सडक विभागको मताहतमा रहेका १४ मध्ये ४ योजनाहरुमा आर्थिक प्रगति शून्य प्रतिशतमात्रै छ भने अन्य आयोजनाहरुमा पनि निर्माण सम्पन्न भएको अवस्था छैन । निर्माण सम्पन्न हुनुपर्ने म्याद सकिँदा पनि यी आयोजनाहरु थप अघिबढ्न सकेका छैनन्, न कम्पनीसँग भएको ठेक्का रद्द गरेरै अन्य कम्पनीमार्फत काम अघि बढाइएको छ ।

८ वर्षदेखि अलपत्र सडकको ठेक्का

सडक विभागको मताहतबाट देशभर १४ वटा सडक तथा पुल मर्मत सम्भार, निर्माण तथा विस्तारको कामको ठेक्का पाएको शैलुङ कन्स्ट्रक्सनले काठमाडौं उपत्यका भित्रै ८ वर्षदेखि तीन आयोजना अलपत्र पारेको छ ।

बालाजु-त्रिशुली-छहरे-विदुर सडक योजनाअन्तर्गतबाट बालाजु–रानीपौवा–त्रिशुली सडक खण्डको स्तरोन्नतीका लागि शैलुङसँग आजभन्दा ८ वर्षअघि सम्झौता भएको थियो । दुई वर्षका लागि ३१ करोड ४ लाख ६४ हजार ९१०.६१ रुपैयाँमा ठेक्का सम्झौता भएको उक्त आयोजनाको काम हालसम्म पनि सम्पन्न भएको छैन । २०७१ असार ४ मा सम्झौता भएको उक्त निर्माण कार्यको काम दुई वर्षभित्र अर्थात २०७३ साउन सम्पन्न गर्नुपर्ने थियो । तर, समयमा काम नसकिँदा उक्त आयोजना पनि अलपत्र परेको छ ।

उक्त आयोजनाका पूर्वआयोजना प्रमुख निरज शर्मा हालसम्म पनि बालाजु–विदुर सडकखण्डको अवस्था उस्तै भएको बताउँछन् । उनी भन्छन्, ‘तीन चार वर्षअघि जस्तो अवस्था थियो । अहिल पनि उस्तै अवस्था छ । थप केही काम नै भएको छैन ।’

त्यस्तै, उपत्यकाभित्रैको ढोलाहिटी-सुनाकोठी-चापागाउँ क्षेत्रको सडकको ठेक्का पनि सम्झौताभएको दुई वर्षभित्रमा सक्नु पर्ने थियो । कुल २३ करोड लागतमा शुरु भएको उक्त सम्झौता २०७३ मा भएको थियो । तर, हालसम्म पनि सो सडकखण्डको काम सकिएको छैन भने ठेक्का सम्झौता हुँदाको लागतलाई बढाएर ३७ करोड बनाइएको छ ।

त्यस्तै, कलमबिनायक–नगरकोट सडक खण्ड पनि ७ पटकसम्म म्याद थप्दासमेत सम्पन्न भएको छैन । ३१ करोडको लागनमा २०७१ मा सम्झौता भएको उक्त सडकको कामको लागत हाल बढाएर ३६ करोड बनाइएको छ । तर, उक्त आयोजनामा पनि हालसम्म ८९ प्रतिशत मात्रै काम भएको सडक विभागको तथ्यांकमा देखिन्छ ।

यीसँगै काठमाडौं उपत्यका सडक विस्तार आयोजनाअन्तर्गत दुई वर्षभित्रमा सम्पन्न हुनेगरि सम्झौता भएका तीन आयोजनाहरु पनि हालसम्म अलपत्र छन् । शैलुङले ठेक्का पाएको कलंकी नागढुंगा सडकखण्डको विभिन्न तीन भागको विस्तारको ठेक्का सम्झौता ७ वर्षअघि नै भएको थियो ।

पटक पटकको म्याद थप गर्दा पनि उक्त आयोजना सम्पन्न भएको छैन । २०७२ मा दुई वर्षका लागि ठेक्का उपत्यका सडक विस्तार आयोजनासँग ठेक्का सम्झौतामार्फत् काम शुरु भएको उक्त आयोजनाको हालसम्मको कुल लागत १ अर्ब १३ करोड ८४ लाख ३२ हजार ७३० रुपैयाँ छ । विभागकाअनुसार ठेक्का सम्झौतामा भएको यो रकममध्ये ८५ प्रतिशतभन्दा धेरै रकम भुक्तानी भइसकेको छ ।

काठमाडौं उपत्यका सडक विस्तार योजनाका इन्जिनियर बसन्तकुमार गाईकाअनुसार हाल निर्माण कम्पनीसँग वर्षेनी नवीकरण हुने किसिमले ठेक्का सम्झौता अघि बढाइएको छ । उनी भन्छन्, ‘विस्तार तथा मर्मतको काम भइरहेको छ । तर, वर्षातलगायतका अन्य कारणले वर्षेनी खाल्डा खुल्डी हुने भएकाले यसलाई नियमित मर्म गरिरहँदा काम नभएको जस्तो देखिएको हो । तर, काम भइरहेको छ ।’

एक वर्षमा बन्नुपर्ने सडक ६ वर्षसम्म उस्तै

सडक डिभिजन कार्यालय काठमाडौंमार्फत् शैलुङ कन्स्ट्रक्सनले पाएको कपनको साततले-भण्डारी गारमेन्ट-आकाशेधारा-बालुवाखानी सडकको विस्तार तथा सम्भारको आयोजनामा सुरु भएको ६ वर्ष बितिसक्दा पनि हालसम्म काम सकिएको छैन ।

विभागकाअनुसार २०७३ जेठ ७ गते कम्पनी र सडक डिभिजन कार्यालय काठमाडौंबीच यो सडक खण्डको विस्तार तथा सम्भारका लागि सम्झौता भएको थियो । एक वर्षको अवधीमा काम सक्नेगरि २० करोड ३ ५ लाख १८ हजार ३०१.९६ रुपैयाँमा ठेक्का लिएको काम पटक पटक म्याद थप हुँदा समेत सकिएको छैन ।

सडक डिभिजन कार्यालय काठमाडौंका सूचना अधिकारी सुनित केसीकाअनुसार हालसम्म चार पटकसम्म निर्माण सम्पन्न गर्नका लागि म्याद थपिएको छ । तर, यो अवधीमा ८० प्रतिशत भौतिक प्रगति भएतापनि निर्माण भने सम्पन्न हुन सकेको छैन ।

त्यस्तै, कपन क्षेत्रकै आकाशेधारा-राममन्दिर सडक खण्डको सडक विस्तार तथा मर्मत सम्भारको काम पनि २०७३ साउनमा शैलुङले नै पाएको थियो । ६५ करोड ६१ लाख ९ हजार ५७.०६ रुपैयाँमा ठेक्का सम्झौता भएको उक्त काम पनि हालसम्म सकिएको छैन । चार पटकसम्म म्याद थप भएको उक्त निर्माण कार्य अहिलेसम्म ८५ प्रतिशतमात्रै सकिएको सुचना अधिकारी केसी बताउँछन् ।

सडक विभागको तथ्यांककाअनुसार यी दुवै सडकखण्डको निर्माण कार्यमा हालसम्म आर्थिक प्रगति भने शून्य छ । एक वर्षको अन्तरालमा सक्नु पर्ने काम चार पटकसम्म म्याद थप गरेर ६ वर्षको अवधीसम्म लम्बाइँदा पनि काम सम्पन्न भएको छैन । सडक डिभिजन कार्यालय काठमाडौंका सुचना अधिकारी केसीकाअनुसार ठेक्का पाएको कम्पनी र डिभिजन कार्यालयबीचको ‘मिस कम्युनिकेसन’का कारण हाल काम पनि अघि बढेको छैन ।

‘बीचमा अलिकति कार्यालय र निर्माण कम्पनीबीच मिस कम्युनिकेसन भएको थियो । उनीहरुले डिभिजन कार्यालयले असहयोग गरेको गुनासो गरेका छन्,’ उनी भन्छन्, ‘तर, हामीले क्वालिटी र क्वान्टिटी दुवै हेरेर काम हुनुपर्छ भनेका छौं ।’

डिभिजन कार्यालयले लामो समयसम्म पनि काम नसकिएका कारण केही समयअघि ठेक्का रद्द गर्नका लागि सुचना समेत निकालेको केसी बताउँछन् । तर, सार्वजनिक खरिद ऐनमा भएको संशोधनका कारणमा पुनः म्याद थप भएकाले हाललाई निर्माणको ठेक्का रद्द हुन नपाएको उनले बताए ।

उनी भन्छन्, ‘सार्वजनिक खरिद ऐनमा बाह्रौ संशोधन आयो । त्यो अनुसार म्याद थप गर्ने भन्ने निवेदन आएपछि हामी म्याद थप गर्न बाध्य भयौं । अब पनि राज्यले कुनै नियम परिवर्तन गर्यो भने मात्रै हो, नभएमा समयमा नै काम सम्पन्न हुन्छ । उनीहरुले पनि समयमा नै काम गर्ने भनेका छन् । समयमा काम नभएमा ठेक्का रद्द गर्नेतर्फ हामी लाग्छौं ।’

उपत्यकाबाहिर पनि अलपत्र आयोजना

शैलुङ कन्स्ट्रक्सनले उपत्यकाभित्र मात्रै नभएर उपत्यका बाहिर पनि विभिन्न आयोजनाहरुलाई अलपत्र पारेको छ । रोल्पा, दाङ, सुनसरी, चौरजहारीलगायतका क्षेत्रमा कम्पनीले पाएको ठेक्का समयमा पुरा नहुँदा अलपत्र अवस्थामा छन् ।

दाङको गहते खोलामा पुल बनाउनका लागि शैलुङ कन्स्ट्रक्सनले २०७४ जेठ १२ गते ठेक्का पाएको थियो । २०७६ साउन ३१ सम्ममा निर्माण सम्पन्न हुने गरि शैलुङलाई ३९ करोड ३५ लाख ७ हजार ९९४.९२ रुपैयाँमा ठेक्का दिइएको थियो । उक्त पुल निर्माणको काममा हालसम्म ९९.९४ प्रतिशत आर्थिक प्रगति भएको सडक विभागले जनाएको छ । साधारण रुपमा निर्माण कार्य सम्पन्न भएकातापनि पूर्णरुपमा काम सम्पन्न भने हालसम्म पनि नभएको विभागको तथ्यांकमा देखिन्छ ।

उपत्यका बाहिर रोल्पामा पनि शैलुङ कन्स्ट्रक्सनले तीन वटा पुलको निर्माण कार्यको ठेक्का पाएको थियो । यीमध्ये थवाङ खोला र माङ्ग्रा खोलाको पुलनको निर्माण साधारण रुपमा सम्पन्न भएको छ । शहिद मार्ग सडक योजनाका प्रमुख चुडाराज ढकालकाअनुसार गत अआर्थिक वर्षमा थवाङ खोलाको १६९ मिटर तथा चार स्थापनको पुलको निर्माण सम्पन्न भएको हो।

तर, रोल्पाकै छवाङ खोलाको पुलको निर्माण कार्य भने तोकिएको मितिमा सम्पन्न भएको थिएन् । २०७३ भदौ २६ मै छवाङ खोलाको निर्माणको सम्झौता भएको थियो । एक वर्षको निर्माण अवधी राखिएको उक्त ठेक्का समयमा सम्पन्न नहुँदा पुनः म्याद थपेर काम भइरहेको विभागले उपलब्ध गराएको जानकारीमा उल्लेख छ ।

त्यस्तै, सडक डिभिजन कार्यालय चौरजहारीसँगको सम्झौतामा ८ वर्षअघि शुरु भएको रुकुमपश्चिमको चौरजहारी क्षेत्रको पुल पनि अलपत्र छ । आठ वर्षअघि १४ करोडको लागतमा बन्ने गरि ठेक्का सम्झौता भएर दुई वर्षभित्रमा निर्माण सम्पन्न हुनुपर्ने उक्त पुलको काम आठ वर्ष भइसक्दा पनि पुरा नभएको विभागको तथ्यांका देखिन्छ ।

उपत्यकाबाहिर शैलुङ कन्स्ट्रक्सनले रानी भन्सार हुँदै विराटनगर-इटहरी-धरानसम्मको व्यापारिक मार्ग विस्तार आयोजनाको पनि ठेक्का पाँच वर्षअघि नै पाएको हो । तर, उक्त आयोजना पनि तोकिएको समयमा पुरा भएको छैन ।

पछिल्लो पटक पाँच महिनाअघि म्याद सकिएको उक्त आयोजनालाई हाल म्याद थप गरेर शैलुङले नै निर्माण गरिरहेको अवस्था छ । आयोजनाका प्रमुख दानकुमार शाक्यकाअनुसार करिब ९० किलोमिटरको आयोजनामा हालसम्म ३२ किलोमिटर सडक भने बनेको अवस्था छ ।

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार ००:००  १ : ५० बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping