
काठमाडौं । लगानी बोर्ड नेपालले दिगो पुर्वाधार लगानी फोरम आयोजना गर्ने भएको छ ।
दिगो विकास लक्ष्य प्राप्तिका लागि हरित, उत्पादनशील र समावेशी विकास हासिल गर्न, पुर्वाधार संरचनाहरूको निर्माण तथा लगानी प्रवर्द्धन गर्न आगामी भदौ २९ गते लगानी फोरम आयोजना गर्न लागेको हो ।
लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले गम्भीर र क्षमतावान लगानीकर्तालाई आकर्षित गर्न फोरम आयोजना गरिएको जानकारी दिए ।
‘हाल लगानी गरिएको लगानीकर्ता र बोर्डसँग सम्पर्कमा रहेका गम्भीर लगानीकर्तालाई समेत सहजीकरण गर्न यो कार्यक्रम आयोजना गरिएको हो’, भट्टले भने, ‘हामीले अध्ययन गरेका परियोजनामा लगानी गर्न सक्ने सम्भावना भएका लगानीकर्ता समेत सहभागी हुनेछन् ।’
लगानी बोर्डका प्रवक्ता अमृत लम्सालले विगतमा भएका लगानी सम्मेलनबाट सिक्दै बोर्ड यसपटक फोरममा सिरियस लगानीकर्तालाई ल्याएको बताए ।
‘बोर्डको प्रमुख काम नै ठुला लगानीकर्ता ल्याउने हो’, लम्सालले भने, ‘हामीले फोरम मार्फत नयाँ परियोजनामा समेत लगानीकर्ता ल्याउने प्रयास गर्नेछौं ।’
बोर्डले आयोजना गरेको पत्रकार सम्मेलनमा बोर्डका सह,प्रवक्ता रमेश अधिकारीले शुन्य कार्बन उत्सर्जनको लक्ष्य प्राप्तिका लागि जाहेर गरेको प्रतिबद्धताका लागि साधन श्रोतको परिचालन गर्न फोरम आयोजना गर्न लागिएको जानकारी दिए ।
कार्यक्रममा सार्वजनिक निजी साझेदारी (पीपीपी) परियोजना बैंक, परियोजना विकासका सम्बन्धमा गरिने समझदारीपत्र तथा सम्झौता, परियोजना विकासका अवधारणा, सम्भाव्यता अध्ययन भएका र लगानी सम्भाव्य परियोजनाहरूको बारेका विज्ञहरूबीच शैद्दान्तिक बहस हुनेछ। त्यसको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नेछन् ।
SHARE YOUR THOUGHTS