
काठमाडौं । कोरियाली कम्पनी मोट्रेक्सले नेपालमा विद्युतीय कार एसेम्बल गर्ने भएको छ ।
कोरियाली कम्पनी मोट्रेक्ससँग नेपालमै विद्यतीय कार बनाउने विषयमा आयोजना कार्यान्वयन सम्झौता हुन लागेको लगानी बोर्ड नेपालका उपसचिव रमेश अधिकारीले जानकारी दिए ।
‘मोट्रेक्सले लगानी बोर्ड नेपालको सहजीकरण अन्य देशको भन्दा उत्कृष्ट भएको भन्दै हामीलाई प्रशंसा पत्र समेत दिएको छ,’ अधिकारीले भने, ‘नेपालमा विद्युतीय कारको एसेम्बल प्लान्ट लगाउने विषयमा विभिन्न चरणमा छलफल भइसकेको छ । हामीलाई आशा छ, आगामी केही सातामा उनिहरुसँग अन्तिम सम्झौता हुन्छ ।’
मोट्रेक्सले २०७५ फागुनमा नेपालमा विद्युतिय कार बनाउने प्रस्ताव गरेको थियो । त्यसपछि २०७५ चैत २ गते बसेको लगानी बोर्डको बैठकले दक्षिण कोरियाको मोट्रेक्स कम्पनी लिमिटेडले पेश गरेको सवारी साधन उत्पादनसम्बन्धी ‘भेइकल म्यानीफयाक्चरीङ एण्ड एसेम्बली प्लाण्ट’ परियोजनाका लागि १० अर्ब ५४ करोडको विदेशी लगानी स्वीकृत गर्ने निर्णय गरेको थियो ।
तत्कालिन प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बोर्डको ३५औं बैठकले उक्त निर्णय गरेको थियो ।
त्यसपछि मोट्रेक्सले परियोजना अगाडी बढाउने विषयमा खासै चासो राखेको थिएन ।
तर, पछिल्लो समय लगानी बोर्ड नेपालको सक्रियतामा पुनः सम्पर्कमा आएको मोट्रोक्सले विद्युतीय सवारी निर्माण सम्बन्धी सम्झौता हुन लागेको हो ।
SHARE YOUR THOUGHTS