महानगरको ताकेतापछि ५ संस्थाले तिरे कर, कसले कति ? « Eglish Khabarhub

महानगरको ताकेतापछि ५ संस्थाले तिरे कर, कसले कति ?



काठमाडौं– काठमाडौं महानगरपालिकाकाले कर नतिरेका विभिन्न संस्थालाई पत्रचार गरेसँगै पाँच संस्थाले तिरेका छन् ।

काठमाडौं फनपार्क, डेल्टिन क्यासिनो होटल (म्यारियट), बेलिज क्यासिनो (मल्ल होटल), माजोङ्ग इन्टरटेनमेन्ट (होटल सोल्टी) र सिविक हस्पिटल प्रालिले महानगरलाई कर तिरेका हुन् । पाँच संस्थाले कुल ७१ लाख २५ हजार ३८८ रुपैयाँ कर तिरेका हुन् ।

पछिल्लो समय काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले लामो समयदेखि विभिन्न संस्थाले तिर्न बाँकी रहेको कर उठाउने अभियान नै चालेका थिए । जसअन्तर्गत काठमाडौं महानगरपालिकाले भदौ १५ देखि भदौ २३ सम्म विभिन्न संस्थालाई कर तिर्न भन्दै पत्राचार गरेको थियो ।

भदौ १५ गते प्रदर्शनीमार्गस्थित फनपार्कलाई महानगरले २४ घण्टाभित्रमा मनोरञ्जन कर तिर्न अल्टिमेटम दिएको थियो । २४ घण्टाभित्रमा कर नबुझाएमा फनपार्क सिल गर्ने र आवश्यक कारबाही गर्ने भन्दै महानगरले पत्रचार गरेको थियो । उक्त संस्थाले भोलिपल्टै भदौ १६ गते १७ लाख ३६ हजार ११ रुपैयाँ मनोरञ्जन कर तिरेको छ ।

त्यस्तै, महानगरले भदौ १९ गते काठमाडौंका विभिन्न क्षेत्रमा रहेका होटलका क्यासिनो तथा मनोरञ्जनात्मक क्षेत्रहरुलाई पनि मनोरञ्जन कर तिर्न पत्रचार गरेको थियो ।

सात दिनभित्रमा कर तिर्न भन्दै म्यारियट होटलस्थित डेल्टिन क्यासिनो, अन्नपूर्ण होटलस्थित क्यासिनो प्यालेस, र्‍याडिसन होटलस्थित क्यासिनो र्‍याट, हायात होटलस्थित प्राइड इन्टरटेनमेन्ट एण्ड रिक्रीएसन, सोल्टी होटलस्थित बाल्को क्यासिनो र मल्ल होटलस्थित बेली क्यासिनोलाई सात दिनभित्रमा कर तिर्न पत्रचार गरेको थियो ।

यी सबै क्यासिनो तथा मनोरञ्जामत्मक क्षेत्रहरुलाई दिएको समयसीमा भदौ २५ मा सकिएको छ । तर, यीमध्ये डेल्टिन क्यासिनो होटल (म्यारियट), बेलिज क्यासिनो (मल्ल होटल) र मोजोङ्ग इन्टरटेनमेन्ट (होटल सोल्टी)ले मात्रै कर तिरेका छन् । यी मध्ये डेल्टिनले भदौ २३ मा २१ लाख ४२ हजार ३४ रुपैयाँ कर तिरेको हो । त्यस्तै, बेलिज क्यासिनोले पनि २३ गते १३ लाख ८८ हजार ३६३ मनोरञ्जन कर तिरेको छ । म्याजोङ्गले पनि २३ गते नै महानगरलाई ९ लाख ९३ हजार ६ सय कर तिरेको छ ।

१९ गते पत्रचार गरिएका सातमध्ये कर बुझाउन बाँकी क्यासिनो तथा मनोञ्नात्मक क्षेत्रहरुले केही दिनपछि पत्र बुझेका कारण उनीहरुको साता पूरा नभएका महानगरका राजस्व तथा कर विभागका प्रमुख डा. शिवराज अधिकारीले बताए । ‘केही क्यासिनो बन्द छन् । केहीले पत्रचार गरेको दुई चार दिनपछि पत्र बुझेका छन् । पत्र बुझेको ७ दिनभित्र कर तिर्न भनेको हो ’ उनले भने ।

त्यस्तै, काठमाडौं महानगरपालिकालको २१ गते पनि १० दिनभित्रमा कर तिर्न भन्दै विभिन्न संस्थाहरुलाई पत्रचार गरेको थियो । जसमध्येको सिविक हस्पिटलले पनि २३ गते कर तिरेको छ । उक्त हस्पिटलले ८ लाख ६५ हजार ३८० रुपैयाँ कर तिरेको हो ।

महानगरले पत्रचार गरेकामध्ये चार क्यासिनोसहित खाद्य संस्थान, ह्वाइट फिल स्कुल, रञ्जना ट्रेड सेन्टर, साझा भण्डार, राष्ट्रिय नाँचघर, चेम्बर अफ कमर्स, कर्मचारी सञ्चय कोष, नेपाल विद्युत प्राधिकरण, नेशनल ट्रेडिङ लिमिटेड, नेपाली जामे मस्जिद, कृषि सामग्री संस्थान, मनमोहन मेमोरियल कलेज एण्ड शिक्षक अस्पताल, आर. वि कम्प्लेक्स, काठमाडौं प्लाजा, नेपाल सेयर मार्केट, डेन्टल कलेजलगायतका संस्थाहरुलाई कर तिर्न भनेको छ ।

सँगै भदौ २३ मा महानगरले १० दिनको समयसीमा तोक्दै शंकरदेव क्याम्पस, आरआर क्याम्पस, नेपाल ल क्याम्पस, वीर अस्पताल, दशरथ रंगशाला, सरस्वती बहुमुखी क्याम्पस, नेपाल कमर्श क्याम्पसलाई पनि बहालमा लगाएका संरचनाबाट आम्दानी भएवातको बहाल कर तिर्न पत्रचार गरेको थियो । त्यस्तै नेपाल आर्मी केन्द्रीय कार्यालय, समाज कल्याण परिषद् लैनचौर र नेपाल प्रहरीको नक्साल कार्यालयलाई पनि बहाल कर बुझाउन महानगरले १० दिनको समयसिमासहित पत्राचार गरेको छ ।

Publish on: