![](https://internal.appharu.com/wp-content/uploads/2022/09/sandeep-lamichane-768x722.jpg)
काठमाडौं । काठमाडौं जिल्ला अदालतले राष्ट्रिय क्रिकेट टोलीका निलम्वित कप्तान सन्दीप लामिछानेलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको छ ।
अदालतले असोज २७ गतेदेखि लागू हुने गरी असोज ३१ गतेसम्म म्याद थप गर्नका लागि अनुमति दिएको हो । लामिछानेलाई हिरासतमा राखी अनुसन्धान अघि बढाउन यो दोस्रोपटक म्याद थप गरिएको हो । यसअघि यही असोज २० गतेदेखि आजसम्मका लागि म्याद दिइएको थियो ।
प्रहरीले लामिछानेलाई म्याद थपका लागि अदालतमा माग गरेकामा न्यायाधीश सूर्यबहादुर थापाले अभियुक्तको अनुसन्धान छिट्टै सकेर सरकारी वकिललाई प्रतिवेदन बुझाउन र मुद्दा चाँडै दायर गर्न निर्देशन दिएको अधिवक्ता सुवास पाठकले जानकारी दिए ।
यसअघि पहिलो पटक म्याद दिँदा अदालतमा लामिछानेले जाहेरवाली १९ वर्षको भएकीले नाबालिका नभएको समेत न्यायाधीशसमक्ष जिकिर गरेका छन् ।
नाबालिकामाथि जबर्जस्ती करणी गरेको अभियोगमा जाहेरी परेपछि लामिछानेलाई हिरासतमा राखिएको छ । प्रहरीले असोज २० गते उनलाई अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।
SHARE YOUR THOUGHTS