काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेले गरेको गठबन्धन अपवित्र भएको टिप्पणी गरेका छन् ।
गणतन्त्र र संविधान जोगाउने काम गरेकाले सत्तारुढ गठबन्धन भने पवित्र भएको उनको भनाइ थियो ।
सत्तारुढ गठबन्धनले मंगलबार ललितपुरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा अध्यक्ष नेपालले एमाले नेतृत्वको गठबन्धन अप्राकृतिक र अपवित्र भएको जिकिर गरे ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कुल्चिने र लोकतन्त्र मास्ने कामलाई रोक्नका लागि गठन भएकाले सत्तारुढ गठबन्धन प्राकृतिक र पवित्र रहेको अध्यक्ष नेपालको तर्क थियो ।
राणा शासनको अन्त्य, पञ्चायती निरंकुशता अन्त्य गर्न सफल कांग्रेस र कम्युनिष्टहरुबीचको गठबन्धन अब पनि सफलताको बिन्दूमा पुग्ने उनको दाबी थियो ।
‘यो प्राकृतिक, अप्राकृतिक मात्र होइन । यो नेचुरल पनि हो र पवित्र पनि हो । अर्को हाम्रो जुन विपक्षको गठबन्धन छ । त्यो अननेचुरल पनि हो । र, अपवित्र पनि हो ।हाम्रो गठबन्धन गणतन्त्र र संविधान जोगाउनका लागि भएको हो’ उनले भने ।
अध्यक्ष नेपालले सत्तारुढ गठबन्धनलाई विजयी गराउनका लागि एकतावद्ध भएर अगाडि बढ्न आवश्यक भएको बताए ।
गठबन्धनको तर्फबाट आगामी निर्वाचनका लागि साझा प्रतिवद्धता पत्र कात्तिक २ गते (भोलि) सार्वजनिक हुने भन्दै उनले जनताको घरदैलोमा पुगेर त्यसको प्रचार अभियानलाई तीव्रता दिनुपर्ने बताए ।
SHARE YOUR THOUGHTS