काठमाडौं । शाही युवा शक्ति नेपालले राजाको गद्दी आरोहणको माग गर्दै नारायणहिटी परिक्रममा गरी धर्ना दिने भएको छ ।
बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर उक्त शक्तिले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तेस्रोपटक राजा बनाउनका लागि आगामी कार्तिक १९ गते दिउँसो १२ बजे धर्ना कार्यक्रम राखिएको जानकारी दिइएको हो ।
पत्रकार सम्मेलनमा शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्काले २०७२ सालमा जारी गरिएको संविधानलाई चोरबाटोबाट ल्याइएको बताउँदै देशमा राज संस्थाको विकाल्प नभएको बताएका हुन् ।
नेपालको भूराजनीतिलाई हेर्दा राजासहितको प्रजातन्त्र नै उत्तम र उपयुक्त विकल्प महसुस गरिएको उनको भनाइ थियो । उनले भने,‘राजसंस्था देशकै सम्पत्ति हो । अधिकांश जनताले राजालाई गद्दीमा ल्याएर बसाउन चाहेका छन् ।’
अहिले गणतन्त्रको नाममा नेताहरु तानाशाही भएको उनले टिप्पणी गरे । उनले शाही शक्ति नेपालले व्यक्तिगत नभई देशको हितको लागि राजा ल्याउन खोजेको स्पष्ट पारे ।
अहिलेका नेताहरुको विरुद्ध जनता सडकमा नआएसम्म उनीहरुले देशलाई लुटिरहने भन्दै उनले अब जनता भ्रष्टाचारी नेताहरुको काम टुलुटुलु हेरेर बस्न नहुने तर्क गरे । नेताहरुले भ्रष्टाचार गरेको सामाजिक सञ्जालमा आउदाँपनि सबै जनता टुलुटुलु हेरेरमात्रै बसिरेको उनको आरोप थियो ।
आगामी निर्वाचनमा नेपाली जनताले भोट नहालेर राजा चाहियो भनी लेखेर दिएमा गणतन्त्रको अन्त्य हुन सक्ने तर्क गर्दै उनले भने,‘जनताले त्यसो गरेर वहिस्कार गरेमा चुनाव असफल हुन्छ र गणतन्त्रवादी राक्षसको अमृत यही सकिन्छ ।’
राजाबिना नेपाली र देशको अस्तित्व नहुने भन्दै उनले राजा नहुँदा विदेशीले नेपालमा नांगो हस्तक्षेप गरेको दाबी गरे । देशका सबै समस्याको समाधान राजालाई तेस्रोपटक गद्दी आरोहण गराएपछि अन्त्य हुने उनको दाबी थियो ।
उनले भने,‘नेपाली जनताले तेस्रोपटक श्री ५ ज्ञानेन्द्रलाई राजा बनाउन डराउन हुन्न, हिच्कीचाउनु हुन्न, राजा फर्काउनुपर्छ, नेपाल बचाउनुपर्छ ।’
SHARE YOUR THOUGHTS