२९ मंसिर २०८२, आइतबार

गठबन्धनको छुट्टाछुट्टै घोषणा पत्रः कुन पार्टीको प्राथमिकतामा के ?


काठमाडौं । मंसिर ४ मा हुने निर्वाचनमा गठबन्धन गरेका तीन दलहरु छुट्टा छुट्टै घोषणा पत्र सार्वजनिक गरेका छन् । सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले फरक फरक घोषणा पत्र सार्वजनिक गरेका हुन् ।

सोमबार घोषणा पत्र सार्वजनिक गर्ने क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले गठबन्धनमा भएका दलहरुले पार्टी एकता नगरेकाले फरक फरक घोषणा पत्र सार्वजनिक गरिएको तर्क अघिसारेका थिए ।

उनले भने, ‘गठबन्धनका दलहरुले पार्टी एकता गरेका होइनन्, घोषणापत्र कार्यान्वयन गर्ने ठाउँमा हुन्छौं ।’

गठबन्धनभित्रका तीन दलहरुले सार्वजनिक गरेका तीन फरक फरक घोषणा पत्रमा विकास निर्माण, आर्थिक एजेण्डा, पूर्वाधार, सामाजिक विकासजस्ता फरक फरक क्षेत्रहरुमा फरक फरक घोषणाहरु भएका छन् ।

नेपाली कांग्रेसको आफ्नो घोषणा पत्रमा आगामी पाँच वर्षका लागि विभिन्न लक्ष्यहरु तह गर्दै प्रतिबद्धताहरु लिएको छ । कांग्रेसको घोषणा पत्रमा विभिन्न क्षेत्रअनुसार आगामी पाँच वर्षमा पुरा गर्ने लक्ष्यहरु समेटिएका छन् ।

नेकपा माओवादी केन्द्रले ‘एक्काइसौं शताब्दीको समाजवादी नेपाल’ प्रमुख सोचसहित घोषणा पत्र सार्वजनिक गरेको छ । अर्थतन्त्रमा सुधार तथा रोजगारीमा बृद्धि, लोकतन्त्र र संवीधानको रक्षा, गरिबी निवारण, कृषि क्षेत्रको रुपान्तरणजस्ता विषयहरु समेट्दै नेकपा माओवादी केन्द्रले घोषणा पत्र सार्वजनिक गरेको छ ।

नेकपा एकीकृत समाजवादीले लोकतन्त्रको सुदृढिकरण र विकास, निर्वाचन प्रणालीमा सुधारजस्ता नीतिगत प्रतिबद्धतासँगै सुशासन र पारदर्शिता, आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड, आर्थिक सामाजिक रुपान्तरणलगायतका बाचाहरु समेट्दै घोषणा पत्र ल्याएको छ ।

कांग्रेसको घोषणा पत्रः कोखदेखि शोकसम्म

२०७४ को तुलनामा केही नविन प्रतिबद्धता र सोचहरु सहित आगामी पाँच वर्षको लागि लक्ष्यहरु लिँदै सार्वजनिक भएको कांग्रेसको घोषणा पत्रमा विभिन्न क्षेत्रगत प्राथमिकताहरु समेटिएका छन् । विभिन्न ९ क्षेत्रमा प्रतिबद्धताहरु पेश गर्दै कांग्रेसले आफ्नो घोषणा पत्र सार्वजनिक गरेको छ ।

कांग्रेसले प्रजनन स्वास्थ्य र अधिकार, गर्भावस्था, सुरक्षित मातृत्व, बालविकास, शिक्षा, स्वास्थ्य, रोजगारी र श्रम, वृद्धावस्था र मृत्यु संस्कारकेन्द्रित भएर आगामी पाँच वर्षमा पूरा गर्ने लक्ष्य तथा अन्य प्रतिवद्धताहरु पेश गरेको छ ।

कांग्रेसको घोषणा पत्रमा आगामी पाँच वर्षभित्र नेपालको अर्थतन्त्रको आकार ५० खर्ब पुर्याएने लक्ष्य समेटिएको छ । सँगै सोही अवधीमा प्रतिव्यक्ति आय १ लाख ५० हजार पुर्याउने कांग्रेसको घोषणा पत्रमा समेटिएको छ । आगामी १० वर्षभित्र नेपाललाई मध्यम आय भएको गतिशील राष्ट्र बनाउने प्रतिबद्धता कांग्रेसले पेश गरेको छ ।

रोजगारी क्षेत्रमा कांग्रेसले युवाहरुलाई देशमै रोजगारीको अवसर दिनेदेखि कर्जा सुविधा दिनेजस्ता विषय समेटेको छ ।

कांग्रेसको संकल्प पत्रमा भनिएको छ, ‘बाह्य मान्यता हुने गरी प्राविधिक शिक्षालयहरुको स्तरोन्नति गरी विशेषगरी सबै प्रदेशमा अन्तराष्ट्रियस्तरको तालिम केन्द्र सञ्चालन गर्दै युवाहरुलाई नेपालमै रोजगारी खोज्न प्रेरित गर्ने रणनीति अवलम्बन गर्नेछौं ।’

नेपाली कांग्रेसले स्थानीय सरकार र वित्तीय संस्थामार्फत् संघीय सरकारको संयुक्त ग्यारेन्टीमा युवाहरुलाइ स्वरोजगार हुनका लागि कर्जा सुविधा दिन पहल गर्ने संकल्प गरेको छ । सँगै आगामी पाँच वर्षमा १२ लाख ५० हजार नयाँ रोजगारी सिर्जना गर्ने प्रतिबद्धता कांग्रेसले लिएको छ । न्यूनतम वार्षिक आयमा ७ प्रतिशतको आर्थिक बृद्धि, ‘ओम्निवस’ आर्थिक सुधारको नयाँ चरण तथा अर्थतन्त्रमा स्वदेशी उत्पादनमुलक उद्योगको अंश ५.३ प्रतिशतबाट ९ प्रतिशत पुर्याउने कांग्रेसको घोषणा पत्रमा समेटिएका प्रतिबद्धताहरु हुन् ।

शिक्षा क्षेत्रअन्तर्गत कांग्रेसले आगामी पााच वर्षमा सिकाईको संकटको मापन संस्थागत गर्ने, महिला (१५-२४) साक्षरता दर ९५ प्रतिशत पुर्याउने, इन्टरनेट सेवा पुगेका शैक्षिक संस्था ८० प्रतिशत पुर्याउने, कक्षा ११ मा भर्ना हुने दर कम्तीमा ५० प्रिितशत पुर्याउने र पाठ्क्रममा प्राविधिक र व्यवसायिक सीप ४० प्रतिशत पुर्याउने प्रतिबद्धता घोषणा पत्रमा समेटेको छ ।

त्यस्तै, स्वास्थ्य अन्तर्गत कांग्रेसले ३ वर्ष मुनि र ७३ वर्ष माथिका नागरिकको निःशूल्क उपचार गर्ने, नसर्ने रोगबाट हुने मृत्युदर एक तिहाई घटाउने, औसत आयु ७३ वर्ष पुर्याएने, मातृ मृत्यु दश प्रतिएक लाख जीवित जन्ममा ८० मा सिमित गराउने तथा स्वास्थ्य बिमितको संख्या शतप्रतिशत पुर्याउने जस्ता संकल्पहरु लिएको छ ।

निर्यातमुखी डिजिटलाइजेशन लगायत सूचना संचार क्षेत्रमा २ लाख युवा संलग्न, टेलिमेडिसिन केन्द्रको स्थापना र सातै देशमा सूचना ज्ञान पार्क स्थापना, सवै स्थानीय तहलाई उच्च गतिको इन्टरनेट नेटवर्कको पहुँचजस्ता लक्ष्यहरु कांग्रेसले आगामी वर्ष वर्षमा विज्ञान, प्रविधि, सञ्चार र डिजिटलाइजेशनको क्षेत्रमा पुरा गर्ने प्रतिबद्धता घोषणा पत्रमा समेटेको छ ।

कृषि क्षेत्रअन्तर्गत खाद्यान्न उत्पादकत्वमा बृद्धि, तरकारी, फलफूल, माछा, मासु, दुध, मसला तथा औद्योगिक बालीमा आत्मनिर्भर, नगदे बाली र जडिबुटीको निर्यात दोब्बर, खाद्य असुरक्षा सुचकांकमा प्रगति, कृषि मल कारखानाको स्थापनाजस्ता विषयहरु समेटिएका छन् ।

त्यस्तै, आधा घण्टाभित्र पक्की सडक पुग्ने जनसंख्या ७५ प्रतिशत पुर्याउने, सुरक्षित घरमा बसोबास गर्ने परिवारको संख्या ५५ प्रतिशत पुर्याउने र राष्ट्रिय गौरवका सबै निर्माणाधीन आयोजनाहरु सम्पन्न गर्नेजस्ता भौतिक पूर्वाधार केन्द्रित लक्ष्यहरु पनि कांग्रेसको प्रतिबद्धतामा समेटिएका छन् ।

ऊर्जा तथा जलस्रोत क्षेत्रअन्तर्गत विद्युतीय उर्जाको उत्पादन १० हजार मेगावाट, प्रतिव्यक्ति विद्युतीय उर्जा खपत १२ सय युनिट तथा ४ सय किलोभोल्टको पूर्व पश्चिम प्रसारण लाइनको निर्माण ससम्पन्न गर्ने जस्ता प्रतिबद्धताहरु कांग्रेसले घोषणा पत्रमा प्रस्तुत गरेको छ । आगामी पाँच वर्षमा विद्युतीय सवारी साधनको प्रयोग ५० प्रतिशत पुर्याउने कांग्रेसले जनाएको छ ।

माओवादीको घोषणा पत्रः रेलमार्गदेखि जलमार्गसम्म

गठबन्धनमा रहेको अर्को दल नेकपा माओवादी केन्द्रले आफ्नो घोषणा पत्रमा पूर्वाधार क्षेत्रअन्तर्गत रेलमार्गको निर्माणदेखि १० लाख युवालाई रोजगारी दिनेजस्ता वाचाहरु गरेको छ ।

माओवादी केन्द्रले आगामी पाँच वर्षभित्रमा देशमा व्याप्त रहेको आधार गरिबी हटाउने प्रतिबद्धता घोषणा पत्रमा लिएको छ । गरिबीको रेखामुनि रहेका नागरिकलाई एक वर्षभित्रमा ‘राज्य सुरक्षा कार्ड’ वितरण गरेर उक्त कार्डमार्फत स्वास्थ्य, शिक्षा निशुल्क र अत्यावश्यक वस्तुहरु सुपथ मूल्यमा उपलब्ध गराउने माओवादी केन्द्रको बाचा छ । सँगै गरिबीको रेखामुनि रहेकाहरुलाई ५ लाखसम्मको ऋण बीना धितो २ प्रतिशत ब्याजदरमा उपलब्ध गराउने माओवादीको प्रतिबद्धता छ । सँगै भूमिहित सुकुम्बासीहरुलाई लालपूर्जा र आवासको प्रबन्ध गराउने पनि माओवादीले बाचा गरेको छ ।

कृषि क्षेत्रअन्तर्गत सामुहिकरुपमा ठूलो मात्रामा व्यावसायिक कृषि खेती गर्न प्रोत्साहन गर्ने, कृषियोग्य जमिन बाझो रहने अवस्था हटाउन स्थानीय तहसँग समन्वय गर्ने, मल समयमै आयात गरेर किसानसम्म पुर्याउने, कृषि बिमा गाउँ गाउँमा पुर्याउनेलगायतका बाचाहरु माओवादीले गरेको छ ।

त्यस्तै, प्रदेश सरकारसँगको सहकार्यमा हरेक प्रदेशमा २ वटा आधुनिक औद्योगिक केन्द्र र स्थानीय तहसँगको सहकार्यमा हरेक पालिकामा १ वटा औद्योगिक ग्राम स्थापना गर्ने प्रतिबद्धता माओवादी केन्द्रले घोषणा पत्रमा गरेको छ । प्रत्येक वडामा पनि २ वटा घरेलु साना उद्योग स्थापना गरिने माओवादीको बाचा छ । दुई सयभन्दा धेरैलाई रोजगारी दिने नयाँ उद्योगलाई करमा छुट दिने र हजारभन्दा धेरै रोजगारी दिने नयाँ उद्योगलाई कर छुटसँगै जग्गा प्राप्ती र पूर्वाधार निर्माणमा सहयोग गर्ने प्रतिबद्धता पेश गरिएको छ ।

पार्टीले आफ्नो घोषणा पत्रमा राष्ट्रिय रोजगार प्राधिकरणको समन्वयमा १० लाख युवाहरुलाई रोजगारी उपलब्ध गराउनने र आगामी पाँच वर्षभित्र २० लाख युवाहरुलाई छोटो माध्यमबाट रोजगार र स्वरोजगार बनाउन अभिमुखीकरण तालिम, पुँजी, सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने घोषणा गरेको छ । सँगै आगामी स्थानीय निर्वाचनमा विदेशमा रहेका नेपालीले आफू कार्यरत रहेकै देशबाट मतदात गर्न पाउने व्यवस्था गर्ने पनि पार्टीले प्रतिबद्धता पेश गरेको छ ।
पूर्वाधार क्षेत्रअन्तर्गत माओवादी केन्द्रले थुप्रै महत्वकांक्षी प्रतिबद्धताहरु गरेको छ । पूर्वापश्चिम तथा उत्तर दक्षिण राजमार्ग, लोकमार्ग र द्रुतमार्गको स्तरोन्नतीको काम तीव बनाइनेदेखि पूर्व पश्चिम रेल सञ्चालन गर्ने विषयसम्म यो क्षेत्रअन्तर्गत परेका छन् ।

घोषणा पत्रमा पूर्व पश्चिम रेल सञ्चालन गर्न रेलवे निर्माार्ण कार्य समयमै सक्ने, वीरगञ्ज-काठमाडौं, रसुवगढी-काठमाडौं, पोखरा-लुम्बिनीमा विद्युतीय रेलमार्गको निर्माण गर्ने कामलाई प्राथमिकता दिने जनाइएको छ । सँगै पोखरा, विराटनगर, बुटवल, जनकपुर, नेपालगञ्जजस्ता शहरमा मेट्रो र मोनोरेल, ट्रलीजस्ता यातायात सञ्चालन गर्ने, चक्रपथ वरिपरि र बुढानिलकण्ठ-सानेपा तथा थानकोटसाँगा खण्डमा मेट्रो रेल र काठमाडौ. उपत्यकाको बागमती, विष्णुमती, धोवीखोला र मनोहरा कोरिडोरमा मोनोरेल निर्माण कार्य अघि बढाइने घोषणा पत्रमा जनाइएको छ ।

रेलमार्गजस्तै माओवादीले जलमार्गमा पनि उत्तिकै प्राथमिकता दिएको छ । पार्टीले कोशी, गण्डकी, कर्णालीलगायतका प्रमुख नदीहरुमा जलमार्ग विकासका लागि आवश्यक योजना बनाएर कार्यान्वयन गर्ने जनाएको छ ।

यी बाहेक काठमाडौं उपत्यकामा ५ सय विद्युतीय बस सञ्चालन गर्ने व्यवस्था मिलाउने र देशभर प्रदेश तथा पालिकाहरुबाट प्रमुख शहरमा विद्युतीय यातायात सञ्चालनको व्यवस्था पनि गरिने घोषणा पत्रमा उल्लेख छ ।

एकीकृत समाजवादीः देशमै मल कारखाना, ठूला नदीहरुमा पानीजहाज

गठबन्धनको अर्को दल नेकपा एकीकृत समाजवादीले पनि देशमै मल कारखाना खोल्नेदेखि देशका ठूला नदीहरुमा पानीजहाज, थप चार विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउनेजस्ता घोषणाहरु आफ्नो चुनावी घोषणापत्रमा गरेको छ ।

नेकपा एसले कृषितर्फ देशमै रासायनिक र प्राङ्गारिक मल उत्पादन गर्नका लागि मल कारखाना स्थपना गर्ने घोषणा गरेको छ । सँगै ‘विदेशीएका युवालाई स्वदेश फर्काऊँ, कृषि उत्पादनमा बृद्धि गरौं’ जस्तो नारासहित पार्टीले युवा जनशक्ति र विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने महत्वकांक्षी घोषणा गरेको छ । कृषि क्षेत्रअन्तर्गत हरेक पालिकामा कोल्ड स्टोरदेखि कृषि उपज संकलन केन्द्रको स्थापना तथा व्यवस्था गर्ने प्रतिबद्धता नेकपा एसले गरेको छ ।

पार्टीले घोषणा पत्रमै चार वटा अन्तराष्ट्रिय विमानस्थल बनाउन पहल गर्ने प्रतिबद्धता दिएको छ । विराटनगर, नेपालगञ्ज, सुर्खेत र धनगढीमा रहेका विमानस्थललाई अन्तराष्ट्रिय विमानस्थल बनाउन पहल गरिने नेकपा एसले जनाएको छ ।

सँगै पार्टीले देशका ठूला नदी, नहर तथा तालहरुमा साना पानीजहाज सञ्चालन गरिने पनि प्रतिबद्धता जनाएको छ ।

सडक पूर्वाधारअन्तर्गत काठमाडौं–तराई द्रुतमार्ग तीन वर्षभित्र सक्ने, पूर्व-पश्चिम राजमार्गलाई पाँच वर्षभित्र ६ लेनको बनाउने, मध्यपहाडी पुष्पलाल लोकमार्गलाई चार लेनमा स्तरोन्नती गर्ने, मदन भण्डाारी राजमार्गलाई पाँच वर्षभित्र निर्माण सम्पन्न गर्नेजस्ता घोषणाा नेकपा एकीकृत समाजवादीले गरेको छ ।

तराई/मधेश र भित्री तराईको कृषिभूमि सिचाई गर्न तमोर-मोरङ, सुनकोसी-कमला र सुनकोसी-मरिन-बागमती, कालीगण्डकी-तिनाउ, राप्ती-सुराई,भेरी-बबई,पश्चिम सेती-कैलाली-पाण्डुन,शारदा नदीलगायतमा डाइभर्सनको योजना अघि बढाइने घोषणापत्रमै समेटिएको छ ।

सँगै ‘नेपालको पानी नेपालमै’ भन्ने अवरधारणलाई सार्थकता दिनेभन्दै नेकपा एकीकृत समाजवादीले पूर्वदेखि पश्चिमसम्मका सबै नदीलाई एकअर्कासँग जोडेर ‘पूर्व-पश्चिम मेघा शहर’ बनाउने र खानेपानी तथा जलमार्गको विकास गर्ने दीर्घकालिन सोचका साथ यो आयोजनालाई राष्ट्रिय गौरवको आयोजना बनाउने घोषणा गरेको छ ।

औद्योगिक क्षेत्रअन्तर्गत नेकपा एसले मुख्य घोषणा ‘एक पालिका, एक उद्योग ग्राम’ भन्दै लिएको छ । त्यस्तै, घोषणा पत्रबाटै पार्टीले सरकारी स्वामित्वमा रहेको र बिग्रेर थन्किएका सवारी साधन मर्मत गरेर सञ्चालन गर्ने तथा समेसम्म विद्युतीय सवारीमा परिवर्तन गर्न बजेटको व्यवस्था गरिने प्रतिबद्धता जनाएको छ ।

‘घर घरमा बिजुली-जनजनमा सेयर’ कार्यक्रममार्फत जलविद्युतमा जनताको लगानी आकर्षण गर्ने, ‘सिक्दै र कमाउँदै’ प्रणालीको विकास गर्ने, ‘एक घर, एक सिप र एक रोजगारी’ कार्यक्रममार्फत रोजगारीको अवसर सिजृना गर्ने, जस्ता अन्य कार्यक्रमहरु पनि नेकपा एसले समेटेको छ ।