
काठमाडौं । बूढानीलकण्ठमा एक अर्ब बढी लगानीमा २८ वटा कोलोनी बन्ने भएको छ । सीडी इन्नोभेटिभ डिजाइन कन्स्ट्रक्सन प्रालिले बूढानीलकण्ठ नगरपालिकाको वडा नम्बर ७ मा आकृति कोलोनी (हेपाली हाइट प्रोजेक्ट) निर्माण गर्ने भएको छ ।
कम्पनीले ७ हजार ५२५ स्क्वायरमिटर क्षेत्रफल (१८ रोपनी १२ आना) २८ वटा घर निर्माण गर्ने भएको हो ।
कम्पनीले २८ वटा युनिटको घर निर्माणका लागि १ अर्ब ६ करोड ८ लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ । खर्च अनुमान गरेकोमा कम्पनीले दीर्घकालीन कर्जाका लागि ६५ करोड ४७ लाख रुपैयाँको रेटिङ गराएको छ ।
उक्त रकम कम्पनीले ऋण लिई सञ्चालन गर्ने भएको छ भने बाँकी ४१ करोड ३१ लाख रुपैयाँ इक्विटीबाट खर्च गर्ने जनाएको छ । जसमा कम्पनीले ऋण र इक्विटीको अनुपात ६१:३९ राखेको छ ।

कम्पनीको सन् २०२२ सम्ममा ७० प्रतिशत आर्थिक प्रगति भएको जनाइएको छ ।
सरकारले चालु आर्थिक विधेयकमार्फत् पूँजीगत लाभकर बढाएको छ । जसमा सरकारले घरजग्गाको स्वामित्व पाँच वर्ष वा ५ वर्षभन्दा बढी भएको छ भने ५ प्रतिशतका दरले कर लाग्ने व्यवस्था गरेको छ । साथै, गैरव्यावसायिक करयोग्य सम्पत्ति घरजग्गाको स्वामित्व ५ वर्षभन्दा कम रहेको छ भने ७.५ प्रतिशतको दरले कर लाग्नेछ ।
अब, ५ वर्षभन्दा कम अवधि स्वामित्व भएको घर जग्गा बिक्री गर्दा ७ प्रतिशत पूँजीगत लाभ कर तिर्नु पर्नेछ । विगतमा ५ वर्षभन्दा कम स्वामित्व भएको सम्पत्ती बिक्री गर्दा ५ प्रतिशत पूँजीगत लाभकर लाग्ने गरेको थियो ।
आर्थिक विधेयकमार्फत् आयकर ऐनको दफा ९५ क संशोधन गर्दै घरजग्गाको नाफामा पूँजीगत लाभ कर बढाइएको हो । चालु आर्थिक वर्षको विधेयकमार्फत लाभकर पूँजी बढाएकाले पनि रियल स्टेट क्षेत्रको कारोबार घटेको कम्पनीको भनाइ छ ।

त्यसैगरी, नेपाल राष्ट्र बैंकले घरजग्गा कर्जाको अनुपात घटाएको छ । राष्ट्र बैंकले घरजग्गा खरिद कर्जामा उपत्यकाभित्र ३० प्रतिशत र उपत्यका बाहिर ४० प्रतिशतको अनुपातमा ऋण दिने व्यवस्था गरेको छ । यसअघि राष्ट्र बैंकले उपत्यकाबाहिर ५० प्रतिशत र उपत्यकाभित्र ४० प्रतिशतको अनुपातमा कर्जा प्रवाह गर्दै आएको थियो ।
तर, राष्ट्रले यो वर्षको मौद्रिक नीतिमा कर्जाको अनुपात घटाएकाले पनि निकै प्रभाव परेको कम्पनीले उल्लेख गरेको छ ।
कम्पनीको अध्यक्ष दिपक कुँवर हुन् । कम्पनीकाअनुसार निर्माण हुन लागेको कोलोनी हाइवेको १.५ किलोमिटर भित्र रहेको छ । कोलोनीमा कलेज, स्कुल, हस्पिटल, एटिएक, शपिङ मल, खुद्रा पसल, बैंक तथा रोजगारीको क्षेत्रमा सहज हुने कम्पनीको भनाइ छ ।
कम्पनीले प्रतिघर ६ आनादेखि १२ आनासम्ममा निर्माण गर्ने भएको छ । जसमा ५० प्रतिशत पार्किङ र बगैंचाको व्यवस्था हुनेछ।
SHARE YOUR THOUGHTS