
काठमाडौं । बागमती प्रदेशमा सवारी चालक अनुमति पत्र (लाइसेन्स)का लागि ७० अंक आए पास हुने व्यवस्था लागू गरेको छ ।
बागमती प्रदेश सरकार श्रम, रोजगार तथा यातायात मन्त्रालयले बुधबार बागमति प्रदेशका सम्पूर्ण यातायात व्यवस्था कार्यालयहरुलाई परिपत्र जारी गर्दै नयाँ व्यवस्था लागू गरेको हो ।
सरकारले यसअघि नै लाइसेन्स परीक्षालाई वस्तुपरक, पूर्वानुनयोग्य र व्यवस्थित बनाउन यातायात व्यवस्था विभागबाट २०७७ चैत १९ गते जारी भएको लाइसेन्स परीक्षा सञ्चालन कार्यविधि निर्देशिका जारी गरी ७० अंक ल्याए पास हुने व्यवस्था गरिसकेको छ । त्यस्तै, बागमती प्रदेशको यातायात मन्त्रालयले पनि सोहीअनुसार व्यवस्था लागू गर्न निर्देशन दिएको छ ।
हाल लाइसेन्सका लागि हुने ट्रायलमा १०० मा १०० अंक ल्याउनुपर्ने व्यवस्था छ । जसमा परीक्षार्थी सामान्य गल्तीले पनि फेल हुने गरेका थिए । अबदेखि ७० अंक ल्याएमा पास हुने व्यवस्था लागू भएसँगै लाइसेन्सका लागि सहज हुने भएको छ ।
परिपत्रअनुसार आवेदन दिएका योग्यता निर्धारण सम्बन्धमा प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७५ (प्रथम संशोधन) को दफा ५१ बमोजिम योग्य भएको व्यक्तिलाई मात्र परीक्षाको प्रवेशपत्र जारी गर्ने जनाइएको छ ।
त्यसैगरी, प्रयोगात्मक परीक्षा सञ्चालनको सन्दर्भमा उल्लेखित कार्यविधि/निर्देशिकाको अनुसूची १ देखि ४ मा परीक्षा सञ्चालन स्थलको बारेमा अनुसूची ५ र ६ मा प्रयोगात्मक परीक्षाको अंक विभाजन हुनुपर्नेछ ।
त्यस्तै, मूल्याङ्कन आधारहरु अनुसूची ७ र ८ मा प्रयोगात्मक परीक्षाको मूल्याङ्कन उपर र अनुसूची ९ र १० मा परीक्षा स्थलको बनोट तथा ले–आउटको स्पष्ट व्यवस्था भएकोमा हाल सञ्चालन रहेको परीक्षा स्थल सो बमोजिम भए/नभएको एकिन गरी निर्देशिकाअनुसार हुने गरी व्यवस्था गर्न निर्देशन दिएको छ ।
प्रयोगात्मक परीक्षामा उत्तीर्ण भएका विद्यार्थीको सूची प्रकाशन गर्नुपर्ने कार्यविधि/निर्देशिकाको बुँदा ११ मा व्यवस्था भएकोमा कतिपय कतिपय कार्यालयहरुले सो बमोजिम तोकिएको अवधिभित्र सूची एवं नतिजा प्रकाशन गर्ने गरेको नपाइएको गुनासो रहेको हुँदा उक्त व्यवस्थाको अनिवार्य पालना गर्न पत्रमा भनिएको छ ।
यस्तो छ नयाँ व्यवस्था
निर्देशिका अनुसार विगतको जस्तै दुई चरणमा परीक्षा हुनेछ । जसमा लिखित र प्रयोगात्मक परीक्षा हुनेछ । लिखित परीक्षामा उत्तीर्ण परीक्षार्थी मात्र प्रयोगात्मक परीक्षामा सहभागी हुन पाउनेछन् ।
मन्त्रालयले सहमति दिएको कार्यविधिमा कार्यान्वयन मिति तोकेसँगै अब प्रयोगात्मक परीक्षा (ट्रायल)मा कम्तीमा ७० अंक ल्याए पास हुने भएको हो ।
त्यसैगरी, १० वर्ग ‘क’ मोटरसाइकल/स्कुटर/मोपेड वा वर्ग ‘ट’ स्कुटर/मोपेडको अनुमतिपत्रको लागि हुने प्रयोगात्मक परीक्षामा अनुसूची १ अनुसारका चरणमा हुनेछन् । प्रयोगात्मक परीक्षाका लागि अनुसूची २ अनुसारको प्रयोगात्मक परीक्षा सञ्चालन स्थल हुनेछ ।
यस्तै वर्ग ‘ख’ कार/जिप/डेलिभरी भ्यानको चालक अनुमति पत्रको लागि हुने प्रयोगात्मक परीक्षामा अनुसुची ३ अनुसारका चरणमा हुनेछ ।
निर्देशिका अनुसार निर्देशिका लागू भएको ६ महिनाभित्र सम्बन्धित कार्यालयले प्रयोगात्मक परीक्षा स्थलमा परीक्षाका सबै चरण तथा गतिविधिको भिडियो खिची ३० परीक्षा दिनको भिडियोको विद्युत्तीय अभिलेख रहने गरी सिसिटिभि क्यामेरा तथा आवश्यक हार्डवेयर तथा सफ्टवेयर प्रणाली जडान गर्नुपर्नेछ ।
साथै, उक्त निर्देशिकामा भएका प्रावधानमा आधारित रही परीक्षार्थीका गतिविधिहरूलाई भिडियो तथा इमेज प्रोसेसिङको आधारमा विश्लेषण गरी वा कृत्रिम बुद्धिमत्ता वा अन्य उपयुक्त कम्प्युटर प्रणालीबाट परीक्षार्थीको मूल्याङ्कन हुने गरी स्वचालित सवारी चालक परीक्षण स्थलको सञ्चालन गर्न सकिनेछ ।
निर्देशिकामा वर्ग ‘क’ वा वर्ग ‘ट’ को लागि लिइने प्रयोगात्मक परीक्षाका पहिलो चरणमा घुमाउरो आठ परीक्षण हुनेछ ।
त्यसैगरी क्रमशः साँघुरो फलेक, घुम्ती परीक्षण, ट्राफिकसंकेत परीक्षण, उबड खाबड परीक्षण, उकालो परीक्षण र व्यवहारगत पक्षको समग्र परीक्षण रहेको छ ।
परीक्षर्थीको लागि विभिन्न चरणको छुट्टाछुट्टै अंकभार निर्धारण गरिएको छ । विभागले घुमाउरो आठको अंकभार २० राखेको छ । जसमा घुमाउरो आठको एक पटकसम्म रेखा छोएमा ५ र एक पटकसम्म खुट्टाले भुइँमा टेकेमा ५ गरी १० अंक घट्नेछ ।
घुमाउरो आठमा एक पटकभन्दा बढी अंकित रेखा छोएमा, सवारीको टायर अंकित रेखाभन्दा बाहिर गएमा, एक पटकभन्दा बढी खुट्टाले भुइँ टेकेमा, ठीक दिशाबाट वा ठीक तरिकाबाट आठ आकार नबनाएमा, सवारीको स्टार्ट बन्द भएमा फेल भएको अनुत्तीर्ण घोषणा गरिनेछ ।
त्यस्तै, साँघुरो फलेकको अंकभार १० रहेको छ । यसमा खुट्टाले भुइँमा टेकेमा, फलेकको लम्बाइ पार गर्नु अगावै सवारी फलेकबाट बाहिर निस्केमा फेल हुनेछ ।
यु–टर्नको अंकभार १० रहेको तोकेको छ । जसमा टर्निङमा इन्डिकेटर लाइट नबालेमा १० अंक नै घट्नेछ भने यु–टर्नमा अंकित रेखा छोएमा पनि फेल हुने उल्लेख छ ।
त्यसैगरी ट्राफिक संकेतको अंकभार १५ रहेकोमा ट्राफिक संकेतको पालना नगरे १५ नम्बर नै काटिनेछ ।
बम्प्सको अंकभार १५ रहेकोमा एक पटकसम्म खुट्टाले भुइँमा टेकेमा ५ र एक पटकसम्म सवारी स्टार्ट बन्द भएमा ५ नम्बर घट्नेछ । बम्प्समा एक पटकभन्दा बढी भुइँमा टेकेमा वा एक पटकभन्दा बढी सवारी स्टार्ट बन्द भएमा फेल हुनेछ ।
साथै, र्याम्प अर्थात् उकालोको अंकभार २० रहेको छ । त्यसमा कुनै गल्ती भएमा फेल हुनेछ । उकालोमा तोकिएको रेखा नाघी सवारी रोकेमा वा सवारी नरोकी अगाडि बढेमा फेल हुनेछ ।
रोकिएको अवस्थाबाट सवारी अगाडि बढाउँदा सवारीको पछाडिको टायर ६ इन्चभन्दा बढी पछि सरेमा, उकालो पार गरी ओरालोबाट झर्ने क्रममा तोकिएको रेखा नाघी सवारी रोकेमा वा सवारी नरोकी अगाडि बढेमा र सवारीको स्टार्ट बन्द भएमा फेल हुनेछ ।
परीक्षार्थीको व्यवहारगत पक्षको समग्र मूल्यांकनमा सवारी चलाउनुपूर्व सवारीको ब्रेक, टायर र ऐनाहरुको सामान्य निरीक्षण नगरेमा ३ अंक घट्नेछ ।
हेलमेट लक नलगाई सवारी चलाएमा ४ अंक र अस्वाभाविक गतिमा वा असंयमितरुपमा सवारी चलाएमा ३ अंक घट्नेछ विभागको निर्देशिकामा उल्लेख छ ।


SHARE YOUR THOUGHTS