
काठमाडौं । नेपाल राष्ट्र बैंकले मुद्रास्फीति (महंगी) अपेक्षा सर्वेक्षण सार्वजनिक गरेको छ ।
केन्द्रीय बैंकले आर्थिक वर्ष २०७९/८० को प्रथम त्रैमासिकको अपेक्षित मुद्रास्फीति सर्वेक्षणको नतिजा सार्वजनिक गरेको हो । सर्वेक्षणमा सहभागी हुनेहरुले अबको तीन महिनामा महंगी १० र एक वर्षपछि १२ प्रतिशत पुग्ने जनाएका छन् ।
केन्द्रीय बैंकका अनुसार तीन महिनापछिको मध्य र एक वर्ष पछिको मध्य अपेक्षित मुद्रास्फीति प्रक्षेपण २०७९ असारको तुलनामा घटेको छ । तीन महिना र एक वर्ष पछिको मध्य अपेक्षित मुद्रास्फीति क्रमशः १० प्रतिशत र १२ प्रतिशत रहेको छ ।
राष्ट्र बैंकले गरेको सर्वेक्षणमा ८६.६ प्रतिशत उत्तरदाताले आगामी तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गरेका छन् । त्यसैगरी, ९५.७ प्रतिशत उत्तरदाताले आगामी एक वर्षमा मूल्यवृद्धि हुने अपेक्षा गरेका छन् ।
आगामी तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको अंश असार, २०७९ को तुलनामा घटेको छ र अर्को एक वर्षमा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको अंश थोरै बढेको छ ।
खाद्य र खाद्य वस्तुको सबै उपसमूह; गैर–खाद्य वस्तु तथा सेवा र सबै उपसमूह; तथा घरजग्गा (आवास) समूहमा आगामी तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको अंश असार, २०७९ को तुलनामा घटेको छ ।
खाद्य र खाद्य समूह अन्तरगतका गेडागुडी, दाल, चिनी तथा मसाला र गैर–खाद्य र सेवा समूह बाहेकका अन्य समुह तथा उपसमूहमा एक वर्ष अगाडि मूल्य बढ्ने अपेक्षा गर्ने उत्तरदाताहरूको अंश असार, २०७९ को तुलनामा केही घटेको छ ।
सर्वेक्षणमा सहभागीहरुले निकट अवधिमा मुद्रास्फीति घट्ने र मध्यम अवधिमा थोरै बढ्ने अपेक्षा गरेका छन् । नेपाल राष्ट्र बैंकले कसिलो नीति अवलम्बन गरे पश्चात अपेक्षित मूद्रास्फीतिमा कमी आउन थालेको दाबी गरेको छ ।

SHARE YOUR THOUGHTS