२३ वर्षमा ३३ हवाई दुर्घटना: किन हुन्छ नेपालमा यति धेरै विमान दुर्घटना ? « Eglish Khabarhub

२३ वर्षमा ३३ हवाई दुर्घटना: किन हुन्छ नेपालमा यति धेरै विमान दुर्घटना ?



काठमाडौं । गत जेठ १५ मा तारा एयरको पोखराबाट जोमसोमतर्फ गइरहेको विमान दुर्घटना भयो । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ट्विन अट्टर विमान दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको थियो ।

उक्त विमान दुर्घटना भएको ८ महिनापछि पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना भयो । आइतबार यति एयरको ९ एन–एएनसी जहाज पोखराको सेती खोंचमा दुर्घटना भएको छ ।

दुर्घटनामा ६४ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ४ वटा शव खोचमा देखिए पनि निकाल्न नसकिएको प्रहरीले जनाएको छ । ४ जना भने वेपत्ता छन् । नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानमा ४ जना चालक दलका सदस्यहरुसहित ६८ जना यात्रु गरि कुल ७२ जना सवार थिए ।

नेपाल वायुसेवा निगमले सार्वजनिक गरेको ‘उड्डयन सुरक्षा प्रतिवेदन (एभिएसन सेफ्टी रिपोर्ट)– २०२२’ का अनुसार सन् २००० देखि २०२२ को मे महिनासम्म‍ नेपालमा ३२ वटा विमान दुर्घटना भएका छन् ।

पोखरामा आइतबार भएको दुर्घटना नेपालमा पछिल्लो २३ वर्षमा भएको ३३ औं दुर्घटना हो ।

यति एयरलाइन्सको विमान दुर्घटना इतिहास हेर्ने हो भने पछिल्लो पटक यति एयरलाइन्सअन्तर्गतको तारा एयरको विमान गत जेठमा दुर्घटनामा परेको थियो ।

गत जेठ १५ मा पोखराबाट जोमसोमतर्फ गएको विमान मुस्ताङको घासा क्षेत्रको टिटी भन्ने ठाउँमा दुर्घटनाग्रस्त भएको थियो । त्यसबाहेक सन् २०१७ मा सिमकोटमा, सन् २०१६ मा म्याग्दी, सन् २०१२ मा डोल्पा, सन् २०१० मा ओखलढुंगा, सन् २००८ मा लुक्ला, सन् २००६ मा बाजुरा, सन् २००६ मा जुम्ला, सन् २००४ मा सोलुखुम्बु र सन् २००१ मा तुम्लिङटारमा यति एयरलाइन्स र यसअन्तर्गत रहेको तारा एयरको विमान दुर्घटनामा परेका थिए ।

पछिल्ला १० वर्षमा मात्रै नेपालमा विभिन्न वायुसेवा कम्पनीका १२ वटा विमान दुर्घटना भइसकेका छन् ।

२२ वर्षमा ३२ दुर्घटना, २४० जनाले गुमाए ज्यान

पछिल्लो २२ वर्षमा नेपालमा ३२ वटा(पोखरामा आइतबार भएको दुर्घटना बाहेक) हवाई दुर्घटना भएका छन् । सन् २००० यता सन् २०२२ सम्म देशमा भएका विमान दुर्घटनामा ज्यान गुमाउनेहरुको संख्या २४० जना पुगेको छ । यो संख्या गत जेठ १५ मा तारा एयरको विमान दुर्घटना हुँदासम्मको हो ।

पोखरामा आइतबार भएको विमान दुर्घटनामा ज्यान गुमाउनेको संख्याको पूर्ण विवरण उपलब्ध नभएका कारण यो संख्यामा सो दुर्घटना समेटिएको छैन । बाँकी रहेका ३२ विमान दुर्घटनामा २४० जनाले ज्यान गुमाएका छन् ।

नेपालमा दुर्घटना भएका २८ वटा मल्टी इन्जिन विमान छन् भने ४ वटा सिंगल इन्जिन विमान रहेका छन् । सन् २००० फ्रेबुअरी २६ मा बझाङमा नेपाल एयरलाइन्सको विमान दुर्घटनामा एक जनाको ज्यान गएको थियो । सोही वर्ष जुन २७ मा डडेल्धुरामा नेपाल एयरलाइन्सकै विमान दुर्घटनामा २५ जनाको ज्यान गएको थियो ।

त्यस्तै, २००२ जुलाई १७ मा सुर्खेतको जद्गडे डाँडामा भएको स्काईलाइन एयरलाइसको विमान दुर्घटनामा ४ जनाको ज्यान गएको थियो । त्यस्तै, सोही वर्ष अगष्ट २२ मा पोखरामा भएको सांग्रिला एयरको विमान दुर्घटनामा १८ जनाको ज्यान गएको थियो।

त्यस्तै, २१ अपिल २००४ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुध्द एयरको विमान दुर्घटनामा एक जना, २५ मे २००४ मा सोलुखुम्बुमा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा ३ जना, १२ जुन २००६ मा जुम्लामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा ९ जना, ८ अक्टोबर २००८ मा लुक्ला विमानस्थलमा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा १८ जना, २४ अगष्ट २०१० मा मकवानपुरमा भएको अग्नि एयरको विमान दुर्घटनामा १४ जनाले ज्यान गुमाएका थिए ।

१५ डिसेम्बर २०१० मा ओखलढुंगामा भएको तारा एयरको विमान दुर्घटनामा २२ जना, २५ सेप्टेम्बर २०११ मा ललितपुरमा भएको बुध्द एयरको विमान दुर्घटनामा १९ जना, १४ मे २०१२ मा भएको जोमासोम एयरपोर्टमा भएको अग्नि एयरको विमान दुर्घटनामा १५ जनाको ज्यान गएको थियो । त्यस्तै, २०१२ कै सेप्टेम्बर २८ मा भक्तपुर मनोहरामा भएको सिता एयरको विमान दुर्घटनामा १९ जनाको ज्यान गयो ।

२०१४ फेब्रुअरी १६ मा अर्घखाँचीमा भएको नेपाल एयरलाइन्सको विमान दुर्घटनामा १८ जना, २४ फेब्रुअरी २०१६ मा म्याग्दीमा भएको तारा एयरको विमान दुर्घटनामा २३ जना, २७ मे २०१७ मा लुक्ला एयरपोर्टमा भएको समिट एयरको विमान दुर्घटनामा २ जना, १४ अप्रिल २०१९ मा लुक्ला एयरपोर्टमा भएको समिट एयरको विमान दुर्घटनामा ३ जना र २९ मे २०२२ मा मुस्ताङमा भएको तारा एयरको विमान दुर्घटनामा २२ जनाले ज्यान गुमाएका थिए ।

त्यस्तै, चारवटा सिंगल इन्जिन विमानहरुमध्ये दुई विमान दुर्घटनामा कसैको पनि ज्यान गुमेको थिए भने दुई विमानमा चार जनाले ज्यान गुमाएका थिए ।

जसमा कालीकोटमा सन् २०१६ फेब्रुअरी २६ मा भएको एयर काष्ठमण्डपको विमान दुर्घटनामा २ जनाको ज्यान गएको थियो भने सिमकोट पासमा सन् २०१८ मे १६ मा भएको मकालु एयरको विमान दुर्घटनामा २ जनाको ज्यान गुमेको थियो ।

किन हुन्छ नेपालमा यति धेरै विमान दुर्घटना ?

नेपाल नागरिक उड्डयन प्राधिकरणको सन् २०१८ देखि २०२२ सम्मको ‘नेपाल उड्डयन सुरक्षा योजना’ मा नेपालमा हवाई उडानमा सुरक्षाको जोखिम विभिन्न ६ कारणले हुने उल्लेख गरिएको छ ।

विश्वव्यापी उड्डयन सुरक्षा योजना (जीएएसपी) र क्षेत्रीय उड्डयन सुरक्षा योजना (आरएएसपी)को अनुरुप विकास गरिएको यो योजनामा नेपालमा हवाई दुर्घटना हुने प्रमुख कारणहरु भौगोलिक अवस्था, उडानका क्रममा जहाज अनियन्त्रित हुनु, मिड एयर कोलिजन, मानवीय त्रुटीलगायतका कारणहरु औल्याइएका छन् ।

प्राधिकारणको २०२२ को सुरक्षा प्रतिवेदनअनुसार सन् २०२१ मा नेपालको हवाई क्षेत्रमा देखिएका ९८६ जोखिमहरुमध्ये ४३ प्रतिशत संगठनको कारण भएको उल्लेख गरिएको थियो । त्यस्तै, २० प्रतिशत जोखिम प्राविधिक, १८ प्रतिशत वातावरणीय कारण, ८ प्रतिशत मानवीय कारण र ११ प्रतिशत अन्य कारणले गर्दा जोखिम देखिएको प्रतिवेदनमा उल्लेख छ ।

यीमध्ये ७ प्रतिशत जोखिमहरु उच्च किसिमका रहेका छन् भने ६४ प्रतिशत न्यून किसिमका र २९ प्रतिशत मध्यम किसिमको रहेको प्रतिवेदनमा उल्लेख छ ।

Publish on: