औद्योगिक विकास नभई समृद्धीको लक्ष्य पूरा हुँदैन: उद्योग मन्त्री भण्डारी « Eglish Khabarhub

औद्योगिक विकास नभई समृद्धीको लक्ष्य पूरा हुँदैन: उद्योग मन्त्री भण्डारी



काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले औद्योगिक विकास नभइ समृद्धिको लक्ष्य पूरा नहुने बताएका छन् ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पदभार ग्रहणपछि कर्मचारीसँगको परिचयात्मक कार्यक्रममा मन्त्री भण्डारीले उद्योगहरु धरासायी हुनु गम्भीर समस्या भएको भन्दै औद्योगिक उत्पादन बढाउन सबै पक्ष लाग्नु पर्ने बताए ।

‘खानीजन्य उद्योगमा अपार सम्भावना छ । उत्पादन नबढाइ व्यापार घाटा कम गर्न सकिँदैन,’ भण्डारीले भने,‘हाम्रा उत्पादनले किन अन्तर्राष्ट्रिय बजार पाउन सकेका छैनन् ? नीतिगत समस्या कहाँ छन् ? यसको पहिचान गर्दै समाधान गर्न सबै लाग्नु पर्नेछ ।’

सरोकारवाला पक्षसँग सहकार्य गर्दै जनताले देख्ने र महसुस गर्ने गरी काम गर्न उत्साहित भएको भण्डारीले बताए ।

‘एक व्यक्तिको पहलले केही हुँदैन । तपाईंहरु सबैको सहयोगले मात्रै परिणाम दिने गरी काम हुन सक्छ,’ भण्डारीले भने,‘अहिलेको अवस्था चनौतिपूर्ण छ । हाल देखिएका समस्या समाधान गर्ने गरी अगाडि बढ्न तपाईंहरुलाई मेरो आग्रह छ ।’

भण्डारीले खाद्यान्नको आपूर्तिमा कुनै समस्या नआउने गरी काम गर्न कर्मचारीहरुलाई निर्देशन दिए । ‘कर्णाली प्रदेश लगायतका बिकट स्थानमा खाद्यान्य आपूर्तिमा समस्या हुनु हुँदैन,’भण्डारीले भने,‘पेट्रोलियम पदार्थको आपूर्ति पनि सहज हुने गरी काम गर्नु पर्नेछ ।’

परिचयात्मक कार्यक्रममा करिब १० मिनेट मन्तव्य दिएका मन्त्री भण्डारीले पटक पटक उत्पादन बढाउनु पर्ने र उत्पादन बढाउने गरी नीतिगत सुधार गर्न आफू प्रतिबद्ध भएको बताएका थिए ।

पदभार ग्रहणपछि मन्त्रालयले तयार गरेको वाणिज्य नीतिको ड्राफ्टमा प्रदेशको राय लिन सहमति दिने निर्णयमा भण्डारीले हस्ताक्षर गरेका छन् ।

Publish on: