कर तिर्न पनि घुस दिनु पर्ने अवस्था छ: शेखर गोल्छा « Eglish Khabarhub

कर तिर्न पनि घुस दिनु पर्ने अवस्था छ: शेखर गोल्छा



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपालमा कर तिर्नसमेत घुस दिनु पर्ने अवस्था रहेको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको साना, लघु उद्योग सम्मेलनमा गोल्छाले कर प्रशासनमा सुधार भयो भने नेपालमा अहिले संकलन भइरहेको भन्दा कयौं बढी राजस्व संकलन हुने सम्भावना रहेको बताए ।

‘संसारमा कतै पनि कर तिर्न घुस दिनु पर्ने अवस्था छैन,’गोल्छाले भने,‘हामीले अहिलेको यो अवस्था परिवर्तन गर्नै पर्छ ।’

महासंघलाई ठूलो उद्योगीको मात्रै कुरा गरेको आरोप लाग्ने गरेको भन्दै गोल्छाले साना उद्योगको विकास नहुँदासम्म नेपालको अर्थतन्त्र विकास हुन सक्दैन भन्नेमा आफू प्रष्ट भएको बताए ।

‘अहिले साना उद्योगी समस्यामा परेकाले गत वर्षभन्दा १५ प्रतिशत कम राजस्व संकलन भएको छ,’ गोल्छाले भने,‘अहिले साना र ठूलो उद्योगको क्षमता ६० प्रतिशतले घटेको छ । जसले गर्दा समग्र अर्थतन्त्र सुस्त भएको हो ।’

उद्यमीलाई परियोजनामा आधारित कर्जा उपलब्ध गराउन सके नेपालमा साना साना तथा लघु उद्योग विकास हुन सक्ने गोल्छाको भनाइ छ ।

‘साना उद्यमीले सहज कर्जा पाउन सकेका छैनन्, बजारसँगको पहुँच अर्को समस्या हो,’ गोल्छाले भने, ‘देशभित्रका साना र ठूला उद्योग जोड्न सकिएको छैन । हामीले अहिलेको यो अवस्था सुधार गर्न सक्यो भने साना र लघु उद्योगमा ठूलो सम्भावना छ ।’

Publish on: