न्यून गुणस्तरको वस्तु बजारमा पठाउने ६ उद्योगविरुद्ध मुद्दा « Eglish Khabarhub

न्यून गुणस्तरको वस्तु बजारमा पठाउने ६ उद्योगविरुद्ध मुद्दा



विराटनगर । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले ६ वटा उद्योगविरुद्ध मुद्दा दायर गरेको छ । न्यून गुणस्तरको वस्तु उत्पादन गरेर बिक्रीका लागि बजार पठाएका ती ६ वटा उद्योगविरुद्ध सो कार्यालयले मुद्दा दायर गरेको हो ।

मोरङका ती उद्योगविरुद्ध अदालतमा मुद्दा दायर गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख राजकुमार रिजालले बताए । उनका अनुसार विराटनगरस्थित कार्यालयको प्रयोगशालामा उद्योगहरूबाट उत्पादित खाद्य वस्तुको नमूना संकलन र परीक्षण गरिएको थियो । ल्याव परीक्षण गर्दा न्यून गुणस्तरको पुष्टि भएपछि ती उद्योगविरुद्ध मुद्दा दायर गरिएको थियो।

खाद्यले विराटनगर १९ स्थित शिखर अर्गनाइजेशन लिमिटेडबाट उत्पादन हुने मकै न्यून गुणस्तरको पुष्टि भएपछि ५० हजार रुपैयाँ जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजायको माग दाबी गर्दै मोरङ जिल्ला अदालातमा मुद्दा दायर गरेको छ ।

त्यस्तै चौपायको आहार उत्पादन गर्ने मोरङ बूढीगंगा गाउँपालिका २ टंकिसिनुवारीस्थित नेपाल बलहोप एग्री टेक प्रालिले दूषित दाना पदार्थ उत्पादन गरी बिक्री गरेको पाइएको थियो । त्यस प्रालिलाई ५० हजार रुपैयाँसम्म जरिवाना वा १ महिनादेपखि १ वर्षसम्मको कैद सजायको माग दाबीसहित जिल्ला प्रशासन कार्यालय मोरङमा मुद्दा दायर गरेको हो ।

त्यसैगरी प्रषोधित पिउने पानीमा लेबल नभएको फेला परेका कारण विराटनगर १३ स्थित रुपसान प्रशोधित खानेपानी उद्योगविरुद्ध ५० हजार रुपैयाँ जरिवाना वा पाँच वर्षसम्म वा दुवै सजायको माग दाबी राखेर मोरङ अदालातमा मुद्दा दायर गरिएको छ ।

यस्तै टोमेटो केचप उत्पादन गर्ने बूढीगंगाको दुगड स्पाइसेस एण्ड फुड प्रोडक्स प्रालिले न्यून गुणस्तरको खाद्य बस्तु उत्पादन गरी बजारमा बिक्रीको लागि पठाउने गरेको अध्ययन अनुगमनबाट पत्ता लागेको थियो । सो प्रालिलाई ५० हजार रुपैयाँसम्म जरिवना वा पाँच वर्षसम्मको कैद सजायको माग दाबी गर्दै मोरङ अदालातमा मुद्दा दायर गरिएको खाद्य कार्यालयले जनाएको छ । ती सबै मुद्दा अदालतमै विचाराधीन अवस्थामा छन् ।

चालू आर्थिक वर्षमा एक दर्जन उद्योगले उत्पादन गरेको खाद्यबस्तु कम गुणस्तरको भेटिएपछि अनुसन्धान सुरु गरिएको कार्यालय प्रमुख रिजालले बताए । यसै क्रममा कार्यालयले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक प्रगति विवरण पनि सार्वजनिक गरेको छ ।

सो विवरण अनुसार १४७ वटा उद्योगहरुमा अनुगमन गरिएको छ । खाद्य, दाना, उद्योगको अनुज्ञापत्र जारी, नवीकरण र उद्योग सिफारिस गरी यस अवधिमा कूल ४ सय ६ वटा संख्यामा काम गरिएको छ ।

Publish on: