![](https://internal.appharu.com/wp-content/uploads/2023/01/Capture-9-768x508.jpg)
काठमाडौं । प्रभु ग्रुपद्वारा सञ्चालित नेपाल सिपिङ एण्ड मल्टी मोडल ट्रान्सपोर्ट (एनएसएमएम) प्रालिले एकै वर्ष आधा अर्बको कारोबार गरेको छ । कम्पनीले सन् २०२२ मा ४९ करोड ६० लाख रुपैयाँ (अपरिष्कृत) को कारोबार गरेको हो ।
कम्पनीले सन् २०२१ मा ३७ करोड ४० लाखरुपैयाँ र सन् २०२० मा १० करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०१८ देखि इन्टरनेशनल सिपिङ एण्ड मल्टीमोडल ट्रान्सपोर्ट उद्योगसँग सहकार्य गरी नेपालमा कन्टनर लाइनर र बुल्क ब्रेकबुुल्क सेग्मेन्टमा ढुवानी सहजीकरणमा काम गर्दै आएको छ ।
कम्पनीमा देवीप्रकाश भट्टचनको ५५ प्रतिशत हिस्सा रहेको छ भने एम/एस सिम्पल होल्डिङ प्रालिको ३४ प्रतिशत हिस्सा रहेको छ । कम्पनीले अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि ६५ करोड रुपैयाँको रेटिङ गराएको छ । जसमा कम्पनीले दीर्घकालीन कर्जाका लागि ४५ करोड ८९ लाख रुपैयाँ अर्थात् बी प्लस र अल्पकालीन कर्जाका लागि १९ करोड १० लाख रुपैयाँ एफोर रेटिङ पाएको छ ।
कम्पनको व्यापार सहज बनाउनका लागि ९४३ वटा कन्टेनर छन् । त्यसमध्ये ५९० वटा कन्टेनर कम्पनी आफैको र बाँकी ३५३ वटा भाडामा लिई सञ्चालन गरिरहेका छन् । उक्त कन्टेनर २० फुट इक्यूभ्यालेन्ट र ४० फिट इक्यूध्यालेन्ट क्षमताको रहेको कम्पनीको भनाइ छ ।
कम्पनीले आन्तरिक एजेन्टसहित अन्य विभिन्न ३७ वटा एजेन्टहरुमार्फत् व्यापार गर्दै आएको छ । कम्पनीको विभिन्न ४२ वटा देशहरुमा ४३ वटा पोर्ट/हबहरु सञ्चालित छन् ।
पछिल्लो दुई वर्षमा कम्पनीले विभिन्न २२ वटा देशबाट ४ हजार बढी कन्टेनरबाट वैदेशिक व्यापार गरेको जनाएको छ । जसमा मलेसियाले सबैभन्दा बढी ढुवानी गरेको रिपोर्ट निकालेको कम्पनीको भनाइ छ ।
त्यसैगरी, कम्पनीले आगामी दिनमा फुल कन्टेनर लोड सिपमेन्ट, लेस देन कन्टेनर लोड सिपमेन्ट, कस्टम क्लियरेन्स, कार्गो ट्र्याक एण्ड ट्रेस र इनल्यान र एयरवेज सेवा पनि विस्तार गर्ने जनाएको छ ।
एनएसएमएम एनभिओसीसीको सहायक कम्पनीको हो । एनभिओसीसी कम्पनी प्रत्यक्षरुपमा अन्तर्राष्ट्रिय एक्जिम ट्रेडसँग सम्बन्धित कम्पनी हो । कम्पनीले कार्गो ढुवानीसम्बन्धी काम गर्दै आएको छ । कम्पनीले कन्टेनर खरिद र भाडामा लिइ लोडिङ गर्दै आएको छ । सञ्चालनमा आएको चार वर्षको अवधिमा कम्पनीले एजेन्टमार्फत् पाएको कमिसनको आधारमा आम्दानी गर्दै आएको छ ।
कम्पनीको सन् २०२२ मा पछिल्लो ४ वर्षमा ११० प्रतिशतले आम्दानी बढेको उल्लेख छ । तर, आम्दानी बढेपनि नाफा भने घटेको कम्पनीको भनाइ छ । कम्पनीले सन् २०२१ मा १५.६७ प्रतिशत नाफा कमाएकोमा सन् २०२२ मा १३.६५ प्रतिशतले नाफा कमाएको छ । सन् २०२२ मा विश्वव्यापीरुपमा आयात तथा निर्यात निकै प्रभावित हुँदा आम्दानीमा असर पुगेको जनाएको छ ।
नेपालमा कार्गोमार्फत् वैदेशिक व्यापार गर्न निकै चुनौती छ । सरकारी नीति नियमहरुको अभाव हुँदा व्यवसायीहरुले धेरै समस्या र चुनौतीहरुको सामना गर्दै आएका छन् । सरकारले कार्गो क्षेत्र अर्थात् ढुवानी क्षेत्रलाई व्यवस्थित, पारदर्शी र लगात प्रभावकारी बनाउने घोषणा गरे पनि यी उद्योगलाई व्यवस्थितरूपमा व्यवस्थित गर्न सकेको छैन ।
साथै, नेपालमा कार्गो सम्बन्धी उद्योगको नियम, नियमन र दर्ताको अभाव छ । जसले गर्दा ढुवानी कम्पनीहरूले आफ्नै ढुवानी फ्लीटको कारण र सञ्चालनतर्फ आफ्नो पहुँच विस्तार गर्न सकेको छैन । तर, पनि एनएसएमएम कम्पनीले अन्तर्राष्ट्रिय ढुवानीमा आवश्यकता महशुस गरेर व्यापारमा सहजीकरण काम गर्दै आएको छ ।
SHARE YOUR THOUGHTS