विदेशी मुद्राको सञ्चिति १० अर्ब ३० करोड डलर, शोधानान्तर स्थिति २३ महिना यताकै बलियो « Eglish Khabarhub

विदेशी मुद्राको सञ्चिति १० अर्ब ३० करोड डलर, शोधानान्तर स्थिति २३ महिना यताकै बलियो



काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको पुस मसान्तको तथ्यांक अनुसार विदेशी मुद्राको सञ्चितिमा सुधार देखिएको छ ।

गतवर्ष पुस मसान्तमा ९ अर्ब ८९ करोड अमेरिकी डलर रहेको विदेशी मुद्राको सञ्चिति बढेर १० अर्ब ३० करोड डलर पुगेको छ।
गत वर्ष विदेशी मुद्राको सञ्चिति घट्दै गएको भन्दै नेपाल राष्ट्र बैंकले आयात गर्दा नगद मार्जिन लगाउने र व्याजदर बढाउने गरि नीति लिएको थियो ।

राष्ट्र बैंकको उक्त नीतिपछि पनि विदेशी मुद्राको सञ्चिति घट्ने क्रम रोकिएको थिएन । गत असार मसान्तमा ९ अर्ब ५४ करोड डलर रहेको विदेशी मुद्राको सञ्चिति ६ महिनामा ७६ करोड डलरले बढेको हो ।

यसअघि २०७८ कात्तिक मसान्तमा विदेशी मुद्राको सञ्चिति १० अर्ब ४७ करोड डलर रहेको थियो । पुस मसान्तमा १४ महिना यताकै धेरै विदेशी मुद्राको सञ्चिति कायम भएको छ ।

चालु आर्थिक वर्षको ६ महिनामा आयाता २० प्रतिशतले घट्नुका साथै रेमिट्यान्स आप्रवाह १३.९ प्रतिशतले बढेपछि विदेशी मुद्राको सञ्चितिमा सुधार देखिएको हो ।

विदेशी मुद्राको सञ्चितिमा सुधार देखिएसँगै शोधानान्तर(देशमा भित्रिने र बाहिरिने विदेशी मुद्राको अन्तर) स्थिति पनि सकारात्मक बन्दै गएको छ ।

पुस मसान्तमा शोधानान्तरस्थिति ९७ अर्ब १० करोड रुपैयाँले बचतमा पुगेको छ । यसअघि २०७७ फागुनमा शोधानान्तर स्थिति ९७ अर्ब ३६ करोड रुपैयाँले बचतमा थियो ।

आयातमा भएको गिरावटले विदेशी मुद्रा बाहिरिने क्रम रोकिँदा शोधानान्तरस्थिति २३ महिना यताकै राम्रो अवस्थामा पुगेको हो ।

चालू आर्थिक वर्षको साउनमा शोधानान्तर स्थिति २२ अर्ब ६२ करोड रुपैयाँले घाटामा थियो । भदौमा पनि शोधानान्तर स्थिति थप १ अर्ब ४ करोड रुपैयाँले घाटामा भएपछि समग्र शोधानान्तर स्थिति २३ अर्ब ६७ करोडले घाटामा थियो ।

असोज यता भने शोधानान्तर स्थिति निरन्तर बचतमा छ । असोजमा शोधानान्तर स्थिति १२ अर्ब ४२ करोड रुपैयाँले बचतमा हुँदा कातिकमा बचत बढेर २० अर्ब ३ करोड पुगेको थियो ।

रेमिट्यान्स बढ्ने र आयात घट्ने क्रम निरन्तर बढ्दै गएपछि मंसिरमा शोधानान्तर स्थिति ४५ अर्ब रुपैयाँले बचतमा पुगेको थियो।

पुसमा अहिलेसम्मकै धेरै १ खर्ब ४ अर्ब रुपैयाँ रेमिट्यान्स आउनुको साथैं आयात २० प्रतिशतले घटेपछि शोधानान्तर स्थिति ९७ अर्ब ९ करोड रुपैयाँले बचतमा पुगेको हो ।

Publish on: