
काठमाडौं । पछिल्लो समय सेयर धितामा जाने कर्जा धमाधम घटिरहेको छ । मंसिरमा सेयर धितोमा जाने कर्जा ६.७ प्रतिशतले घटेको थियो । यता पुस महिना अन्तिमसम्म सेयर धितोमा जाने कर्जा ७ प्रतिशतले घटेको छ ।
असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले सेयर धितोमा ८० अर्ब ५० करोड ७८ लाख रुपैयाँ कर्जा दिएका थिए । ६ महिनामा ७ प्रतिशते घटेर ७४ अर्ब ८७ करोड २५ लाखमा सीमित भएको छ । सेयर धितोमा कर्जा दिने ४ वटा तह सबै घटेको छ ।
पुस मसान्तसम्म १ करोडभन्दा बढी कर्जा ७.९ प्रतिशते घटेको छ । असार मसान्तमा ४६ अर्ब ५७ करोड ५४ लाख रुपैयाँ कर्जा प्रवाह भएकामा पुस मसान्तसम्म ४२ अर्ब ९१ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह भएको छ ।
राष्ट्र बैंककाअनुसार ५० लाखदेखि १ करोड रुपैयाँसम्म जाने कर्जा ०.७ प्रतिशतले घटेर १० अर्ब ४८ करोड ४७ लाख रुपैयाँ पुगेको छ । जुन असार मसान्तमा १० अर्ब ५६ करोड ३ लाख रुपैयाँ रहेको थियो ।
यस्तै २५ देखि ५० लाख रुपैयाँसम्मको कर्जा ११ प्रतिशतले घटेको छ । राष्ट्र बैंकका अनुसार पुस मसान्तसम्म २५ देखि ५० लाख रुपैयाँसम्म जाने कर्जा ११ प्रतिशतले घटेर १३ अर्ब ५३ करोड ४४ लाख रुपैयाँ रहेको छ । असार मसान्तमा यस्तो कर्जाको सिमा १५ अर्ब २० करोड ८ लाख रुपैयाँ रहेको थियो ।
पुस मसान्तसम्म २५ लाखसम्म जाने कर्जा २.९ प्रतिशतले घटेको छ । असार मसान्तमा ८ अर्ब १७ करोड १४ लाख रुपैयाँ कर्जा प्रवाह भएकामा पुस मसान्तसम्ममा २.९ प्रतिशतले घटेर ७ अर्ब ९३ करोड ८८ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ ।