‘च्याटजीपीटी’लाई टक्कर दिन गुगलको ‘बार्ड’, च्याटबटले कसरी गर्छ काम ? « Eglish Khabarhub

‘च्याटजीपीटी’लाई टक्कर दिन गुगलको ‘बार्ड’, च्याटबटले कसरी गर्छ काम ?



एजेन्सी । प्रविधिमा रुचि राख्ने धेरैले पछिल्लो समयमा सुनिरहेको एउटा नाम हो, ‘च्याटजीपीटी’ । पछिल्लो समयमा निकै चर्चामा आएको च्याटजीपीटीलाई भविष्यमा गुगलजस्तै सर्च इञ्जिन हुने भनिएको छ ।

कृतिम बुद्धिमत्ता (आर्टिफिसिल इन्टिलिजेन्स)को प्रविधि प्रयोग गरेर तयार गरिएको यो चयाटबोटले प्रयोगकर्ताले सोधेको जुनसुकै प्रश्नको पनि सहजै जवाफ दिन्छ । र त्यो जवाफ कुनै रोबट वा मानिसले दिनेजस्तो नभएर मानिसले एकअर्कासँग कुराकानी गरेकै जस्तो संवादकै शैलीमा दिनेगर्छ ।

‘जिमेल’ अर्थात गुगलको इमेल सुविधाका संस्थापक पाल बुशीटसम्मले पनि अहिले च्याटजीपीटीका कारण गुगलकै अस्तित्वमा माथी सबैभन्दा ठूलो खतरा उत्पन्न भएको बताएका छन् । पलले आर्टिफिसिल इन्टिलिजेन्सकले गुगलजस्ता सर्च इन्जिनमा देखिने ‘रिजल्ट पेज’लाई अन्त्य गर्ने जोखिम रहेको बताएका छन् । उनले भनेका छन्, ‘गुगलको अस्तित्वमाथि खतरा छ । अबको एक वा दुई वर्षमा नै यसको अन्त्य हुन्छ ।’

फरक फरक व्यक्तिहरुले अहिले गुगलमाथि नै च्याटजीपीटीले खतरा ल्याएको बोलिरहँदा गुगल भने आफ्नै एआई बोट बनाएर प्रतिस्पर्धामा भाग लिने जमर्कोमा छ ।

गुगलले सार्वजनिक रुपमै घोषणा गरेर आफ्नै एआई च्याटबोट ल्याउन लागेको जानकारी दिएको छ । र यो च्याटबोटको नाम हो– बार्ड ।

यो च्याटबोट सबैका लागि सार्वजनिक गर्नुअघि गुगलले प्रशिक्षणका लागि निश्चित समूहमा मात्रै यसलाई ल्याउने तयारी गरेको छ । यसबारे जानकारी दिँदै गुगलका सीईओ सुन्दर पिचाईले लेखेका छन्, ‘आजभोलि गुगलमा जुन जुन नयाँ प्रविधिमा काम भइरहेको छ, यसमध्ये आर्टिफिसियल इन्टिलिजेन्समाथि सबैभन्दा गम्भीर रुपमा काम गर्दैछौं । चिकित्सकलाई बिरामीबारे थाहा पाउनदेखि मानिसहरुलाई आफ्नो भाषामा जानकारी उपलब्ध गराउन सम्मका लागि यसलाई तयार गरिँदै छ ।’

उनले बताएअनुसार गुगलले पछिल्ला दुई वर्षमा ‘ल्यांग्वेज मोडल फर डायलक एप्लिकेसन’ नामको संवादको शैलीमार्फत एआई प्रविधिमाथि काम गरिरहेको छ ।

‘हामीले यो एआईलाई ‘बार्ड’ नाम दिएका छौं,’ उनी भन्छन्, ‘आज हामीले यसका लागि अर्को कदम चालेका छौं । यसलाई सार्वजनिक गर्नुअघि हामी प्रशिक्षणकर्ताहरुमाझमा यसको प्रयोग गर्नेछौं । आगामी दिनमा यसको उपलब्धता सबैका लागि हुनेछ।’

गुगलले अहिले जुन एआई प्रविधिबाट चुनौती सामना गर्नु परेको बताइएको छ, त्यो प्रविधि अर्थात च्याटजीपीटी वास्तवमा एउटा च्याटबट हो । च्याटबटको रुपमा यसले यस्तो किसिमले प्रश्नहरुको जवाफ वा प्रयोगकर्तालाई आवश्यक जानकारी उपलब्ध गराउन सक्छ, जसको प्रतिउत्तर सटीक र मानिसले नै लेखेको जस्तो हुन्छ ।

पछिल्ला दिनहरुमा प्रविधीको दुनियाँमा भइरहेको यसको चर्चा र आम मानिसले यसप्रति देखाइरहेको चासोका कारण यसले गुगललाई नै खतरा सिर्जना गरेको कुरा सतहमा आएको छ । जीमेलका संस्थापक पलले केही समयअघि अबको एक वा दुई वर्षमा नै गुगल बर्बाद हुन सक्ने बताएका थिए ।

इन्टरनेटमा च्याटजीपीटीको प्रयोग गरेर यसको समीक्षा गर्नेहरुले यसबारे पटक पटक ‘जोखिमयुक्त’ भएको तर्कअघि सारिरहेका छन् । केही मानिसहरुले त यसलाई मानिसको दिमागलाई नै तीव्र गतिमा नक्कल गर्न सक्ने किसिमले विकास गरिएको पनि तर्क अघि सारेका छन् ।

अब भने एआईको प्रयोग गर्ने अर्को च्याटबट पनि बजारमा आउन लागेको छ र यसको पछाडि संस्थापकको रुपमा इन्टरनेटकै दुनियाँको सबैभन्दा ठूलो कम्पनी गुगल रहेको छ ।

गुगलको च्याटबर्ट बार्डबारे एक इन्जिनियरले बताएअनुसार यो मानव मस्तिष्कजस्तै प्रश्नहरुको संवेदनशीलतालाई मापन गरेर जवाफ दिन सक्ने किसिमले विकास भइरहेको छ । गुगलले अहिले आफ्नो यथावत रहेको सर्च इञ्जिनमा पनि कैयौं किसिमका नयाँ एआई प्रविधीहरुलाई सामेल गराइरहेको छ ।

च्याटजीपीटी होस वा गुगलको बार्ड नै होस्, यी दुवैमा बुझ्नु पर्ने कुरा च्याटबटले कसरी कम गर्छ भन्ने हो । च्याटबटले इन्टरनेटमा उपलब्ध रहेका डेटावेसबाट नै जानकारीहरु लिन्छ । प्रयोगकर्ताले कुनै पनि प्रश्न गर्दा यी च्याटबटहरुले इन्टरनेटमै रहेका जानकारी र तथ्यांकका आधारमा जवाफ सिर्जना गरेर प्रयोगकर्ताको सामुन्ने प्रस्तुत गरिदिन्छन् ।

तर, यसमाथि पनि प्रश्न भने उठिरहेको छ । च्याटबटले कहिलेकाही आपत्तिजनक वा गलत जानकारी प्रयोगकर्ताको सामुन्ने राखिदिने गरेको कुरा पनि चर्चामा छ ।

गुगलका सीईओ पिचाईले बताएअनुसार गुगलको एआई बार्ड गुगलकै भाषा शैलीको आधारमा संसारभर रहेका जानकारीहरुको भण्डारणबाट सिर्जनशिलताका साथ प्रयोगकर्ताहरुको जवाफ दिन सक्षत हुनेछ । गुगलले बार्डलाई जिम्मेवार सेवाको रुपमा विकसित गर्न खोजिरहेको बताएको छ । तर, यसबाट उपलब्ध हुन सक्ने वा प्रयोगकर्ताले प्राप्त गर्न सक्ने आपत्तिजनक सामग्री वा हानिकारक जानकारीहरुलाई रोक्नका लागि कस्तो किसिमको सतर्कता लिइएको छ भन्ने बारेमा भने गुगलले कुनै पनि किसिमको जानकारी दिएको छैन् ।

गुगलले आफ्नो एआई च्याटबटको घोषणा गरिरहँदा अर्को प्रविधी कम्पनी माइक्रोसफ्टले पनि आफ्नो च्याटबट ल्याउने घोषणा गरेको थियो । माइक्रोसफ्टले आफ्नो सर्च इन्जिन बिंगसँगै काम गर्ने गरि एआई च्याटबटको विकास गरिरहेको जानकारी दिएको छ ।

जुन सुकै कम्पनीका च्याटबट भएतापनि यीनिहरुले प्रयोगकर्ताले सोधेको प्रश्नमा जवाफ उपलब्ध गराउनेछन् । अहिले सार्वजनिक रुपमा प्रयोग गर्न मिल्ने च्याटजीपीटीलाई प्रयोगकर्ताले प्रश्न सोध्ने हो भने त्यसको जवाफ सहजै दिन्छ । सँगै यसले प्रयोगकर्ताको आवश्यकताअनुसार भाषण, कविता, बजारिकरणका लागि उपाय, समाचार, निबन्ध, लेख वा अरु कुनै पनि किसिमको सेवा उपलब्ध गराउँछ ।

निशुल्क रुपमा अहिले प्रयोगकर्ताका लागि उपलब्ध गराइएको च्याटजीपीटीलाई केही समयपछि भने सशुल्क बनाइने पनि यसको मुल कम्पनी ओपनएआईले जनाएको छ ।

एआई च्याटबटले बदल्नेछ इन्टरनेट सर्चको अवस्था

च्याटबटलाई लिएर विभिन्न टिका टिप्पणी भइरहँदा एउटा कुरा भने निश्चित छ । त्यो हो, इन्टरनेटमा हाल भइरहेको सर्च इञ्जिनको अवस्था र यसको शैलीमा आउने बदलाव ।

च्याटबटको अन्तिम लक्ष्य पनि यहि नै हो । च्याटबटहरुले अहिले भएजस्तै इन्टरनेटमा आफूलाई आवश्यक कुरा खोजेर, विभिन्न वेबसाइटमार्फत जानकारी लिनुपर्ने प्रक्रियालाई अन्त्य गर्ने सम्भावना प्रचुर रहेको छ ।

अहिले इन्टरनेटमा कुनै पनि कुरा खोज्ने हो भने लाखौं वा करोडौं जवाफहरु उपलब्ध हुन्छन्, जुन विभिन्न वेबसाइटसँग सम्बन्ध्ति भएर आउँछन् ।

तर, च्याटबटले पनि प्रयोगकर्ताले कुनै पनि प्रश्नको जवाफ माग्दा उसको सामुन्ने विभिन्न वेबसाइट नभएर स्पष्ट जवाफ नै उपलब्ध गराउँछ । प्रयोगकर्ताको सामुन्ने आफूले जान्न मन लागेको विषयमा सटिक जवाफ उपलब्ध भएपछि हजारौं वेबसाइटका लाखौं पानाहरु खोल्दै जानकारी संलकन गर्नुपर्ने झन्झट हट्छ ।

र यो नै अहिले तीव्र गतिमा विकास भइरहेका च्याटबट र वर्तमान अवस्थामा सञ्चालनमा रहेका सर्च इन्जिनहरुबीचको प्रमुख फरक हो ।

Publish on: