एमालेले प्रस्ताव गरेको राष्ट्रपतिको उम्मेदवारलाई हराउँछौं: गगन थापा « Eglish Khabarhub

एमालेले प्रस्ताव गरेको राष्ट्रपतिको उम्मेदवारलाई हराउँछौं: गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा (एमाले)ले प्रस्ताव गरेको राष्ट्रपतिको उम्मेदवारलाई आफ्नो पार्टीले हराएरै छाड्ने दाबी गरेका छन् ।

महामन्त्री थापाले एमालेको राष्ट्रपतिको उम्मेदवारलाई हराउनका लागि आफूहरुले सक्दो प्रयास गर्ने कुरा स्वभाविकै भएको बताए ।

बुधबार काठमाडौंमा आयोजित ‘अवको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’ विषयक विचार गोष्ठीमा थापाले राष्ट्रपतिप्रति आँखा नलगाउन एमाले अध्यक्ष केपी ओलीले आग्रह गरेको उल्लेख गर्दै आफूहरु आँखा लगाएरै अघि बढने बताए ।

‘आँखा लाउलास भन्नु हुन्छ । आँखै लाउँछौं । भोटै माग्छौं । फकाउँछौं । मिलाउने कोसिस गर्छौ । त्यसलाई मत लिने कोशिस गछौं । र, हामीलेको भनेको राष्ट्रपतिको उम्मेदवारलाई जिताउने कोशिस गर्छौं,’उनले भने, ‘ किनभने राष्ट्रपति को हुने भन्दा पनि संविधानलाई दूर्घटनामा लिएर जाने वा नजाने भन्ने हाम्रो मनमा डर पसेको छ । डर हिजोको राष्ट्रपतिहरुको भूमिकाको कारणले पसेको छ । त्यसैले हामी त्यो डरबाट मुक्त हुन चाहन्छौं ।’

महामन्त्री थापाले राष्ट्रपति एमालेको भए मुलुकमा संवैधानिक दुर्घटनामा पर्ने डर कांग्रेसलाई भएकाले आफूहरु त्यो डरबाट मुक्त हुन पनि राष्ट्रपति आफूहरु पक्षको बनाउन सबै प्रयास गर्ने बताए ।

‘अहिले नेकपा एमालेको नेतृत्वले राष्ट्रपति नेकपा एमालेले बनायो भने त्यो राष्ट्रपति कस्तो हुन्छ ? त्यो राष्ट्रपतिलाई सम्माननीय कठपुतली राष्ट्रपति भनि दिए हुन्छ । त्यसले के गर्छ ? यो सरकारको कुरा होइन है । त्यसले विस्तारै समानान्तर शक्तिको अभ्यास गर्छ । संविधानले दिँदै नदिएको शक्तिको अभ्यास गर्छ । त्यसले विस्तार दुई शक्ति केन्द्र हुन्छ । एउटा बालुवाटार, अर्को शीतल निवास हुन्छ । अनि बालुवाटारबाट कार्यअधिकार प्रयोग गर्ने ठाउँबाट शीतल निवासले पनि कार्यकारी अधिकार प्रयोग गर्छ । र, एक ठाउँमा गएर ठोक्किन्छ । र, त्यसले संविधानलाई दुर्घटनामा लिएर जान्छ । त्यो संविधानलाई दुर्घटनामा लिएर जाने डरले गर्दा नेपाली कांग्रेसले हामीले लुकाउने कुरा छ र ? हामी नेकपा एमालेले प्रस्ताव गरेको राष्ट्रपतिको उम्मेदवारलाई हराउँछौं । र, हराएरै छाडछौं । कोसिस गर्छौं । लाग्छौं लाग्छौं । यो स्वभाविक हो नि’ उनले भने ।

Publish on: