![](https://internal.appharu.com/wp-content/uploads/2017/06/Wheat_Gahun_Bhaktapur_BKT-1024x683.jpg)
काठमाडौं । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले २० फर्मलाई भारतबाट करिब १० हजार मेट्रिक टन गहुँ आयात गर्न सिफारिस दिएको छ । मन्त्रालयमा निवेदन दिएका सबै व्यवसायीलाई गहुँ आयातको सिफारिस दिइएको एक अधिकारीले जानकारी दिए ।
गहुँ उत्पादनमा कमी आएको भन्दै भारत सरकारले गत जेठमा गहुँ निर्यातमा प्रतिबन्ध लगाएको थियो । भारतबाट गहुँ आयात नहुँदा नेपालका मैदा र आटा उद्योग बन्द हुने र खाद्यसंकट आउन सक्ने भन्दै तत्कालीन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र बडूले गहुँ निर्यातमा प्रतिबन्ध नलगाउन भारतसँग आग्रह गरेका थिए । त्यसपछि भारत सरकारले नेपालमा ५० हजार मेट्रिक टन गहुँ निर्यात गर्न दिने प्रतिबद्धता जनाएको थियो ।
भारतको बाणिज्य मन्त्रालयले नेपाल सरकारको सिफारिसका आधारमा विभिन्न उद्योग/व्यवसायीलाई ५० हजार मेट्रिक टन गहुँ आयात गर्न दिने निर्णय गरेको थियो ।
त्यसपछि मन्त्रालयले गत साउन १९ गते नेपाली गहुँ आयातकर्तालाई भारतको कुन व्यवसायीसँग गहुँ खरिद गर्ने हो, कुन प्रयोजनका लागि गहुँ आयात हुने हो, कति परिमाणमा आयात गर्नु पर्ने हो, गत आर्थिक वर्षमा गहुँको खपत कति भएको थियो लगायतका विषय स्पष्ट पार्दै प्रस्ताव पेस गर्न आह्वान गरेको थियो ।
मन्त्रालयले प्रस्ताव मागेपछि २६ उद्योगी र २० व्यवसायीले गहुँ आयातका लागि सिफारिस गरिदिन आग्रह गर्दै मन्त्रालयमा निवेदन दिएका थिए ।
मन्त्रालयले गत पुसमा २६ उद्योगलाई गहुँ आयातको सिफारिस दिएको थियो ।
उद्योगले गत आर्थिक वर्षमा गरेको कुल उत्पादनको ७ प्रतिशत बराबर हुन आउने परिणाममा गहुँ आयात गर्न सिफारिस दिइएको थियो ।
उद्योग मन्त्रालयले गुहँ आयातको सिफारिस पत्र नेपालस्थित भारतीय राजदूतावास पठाउने र दूतावासले पठाएको पत्रका आधारमा भारतको बाणिज्य मन्त्रालयले गहुँ आयातमा सहजीकरण गर्ने दुई देशबीच सहमति छ ।
भारतले नेपाललाई दिने भनेको ५० हजार मेट्रिक टनमध्ये ३१ हजार ६२९ मेट्रिक टन गहुँ मैदा उत्पादन गर्ने उद्योगलाई आयात गर्न सिफारिस गरेको मन्त्रालयले बाँकी गहुँ २० व्यवसायीक संस्था, सरकारी स्वामित्वमको खाद्य संस्थान र साल्ट ट्रेडिङ लिमिटेडलाई दिएको हो ।
व्यवसायीले माग गरेको परिणामको २५ प्रतिशत बराबरको परिणामा गहुँ आयात गर्न मन्त्रालयले सिफारिस दिएको छ ।
‘व्यवसायीले पेस गरेको वार्षिक मागलाई हामीले मासिक बनायौं । आगामी मार्चसम्ममा गहुँ आयात गरिसक्नु पर्ने भएकाले हामीले उक्त मासिक मागलाई दुई महिना गर्दै त्यसको २५ प्रतिशतले हुने परिणाम आयात गर्न सबै व्यवसायीलाई सिफारिस गरिएको हो,’ मन्त्रालयका ति अधिकारीले भने,‘देशमा खाद्य सुरक्षाको विषयसमेत हुने भएकाले करिब ८ हजार मेट्रिक टन गहुँ आयातको सिफारिस खाद्य संस्थान र साल्ट ट्रेडिङलाई दिइएको हो ।’
खाद्य संस्थानलाई करिब ४ हजार र साल्ट टेड्रिङलाई पनि करिब ४ हजार मेट्रिक टन नै आयात गर्न सिफारिस दिइएको मन्त्रालयले जनाएको छ ।
साल्ट टेड्रिङ गहुँ आयातको सिफारिस माग गर्दै पत्र लेखे पनि खाद्य संस्थानले भने गहुँ आयात गर्न कुनै चासो देखाएको छैन ।
मन्त्रालयका ति अधिकारी बजारमा गहुँ आवश्यक भए खाद्य संस्थानले गहुँ आयात गर्ने बताउँछन् ।
हाल गहुँ आयातको प्रक्रिया शुरु गरेका उद्योगी व्यवसायी सबैले आगामी मार्च अन्तिम (चैत १७ गते)सम्ममा तोकिएको परिणाममा गहुँ आयात गरिसक्नु पर्नेछ ।
‘चैत महिनासम्म नेपालको आन्तरिक उत्पादन पनि बजारमा आउँछ । त्यसपछि कति गहुँ आयात गर्नु पर्छ भन्ने विषयमा हामी अध्ययन गर्छौं,’ मन्त्रालयका ति अधिकारीले भने, ‘गत वर्ष नेपालमा ३ लाख मेट्रिक टन गहुँ आयात भएकोमा व्यवसायीले हँचुवाका भरमा ९ लाख मेट्रिक टन गहुँ आवश्यक पर्ने विवरण दिएका थिए । यदी नेपालको आन्तरिक उत्पादन प्रयाप्त भएन भने भारत सरकारसँग छलफल गर्दै थप गहुँ आयात गर्ने व्यवस्था मिलाइने छ ।’
SHARE YOUR THOUGHTS