काठमाडौं । दुर्गम गाउँबाट बिरामी उपचारका लागि देशको राजधानी ल्याइन्छ र निको पारेर फर्काइन्छ । त्यही राजधानीमा सामान्य रुघाखोकी लागेकी मेरी साढे दुई वर्षकी छोरी प्रशंसा गौतमले ४ दिनदेखि लगातार डाक्टरको सम्पर्क र निगरानीमा हुँदाहुँदै पनि उचित उपचार नपाएर मृत्युवरण गर्नुपर्यो, किन ?
हाम्रो स्वास्थ्य प्रणालीमा वा उपचार पद्धतिमा कहीँकतै कमजोरी छ कि किन यस्तो हुन्छ ? कि नेपालमा बेचिने औषधीमा खराबी छ ? कि डाक्टरको योग्यतामा कमजोरी छ ? बिरामीको उपचार गर्दा अवस्था अध्ययन गर्ने, जाँच गर्ने अनिवार्यता हुन्छ कि हुँदैन ?
छोरी प्रशंसालाई सामान्य रुघाखोकी थियो । नक्सालको एक क्लिनिकमा देखाएर औषधी लगेर खुवाइयो । दुई–तीन दिनसम्म बेला-बेला कम हुँदै फेरि ज्वरो फर्किने हुन थालेपछि २३ गते नक्साल, कमलपोखरीकै हिमाल हस्पिटलमा लगेर त्यहाँ उपलब्ध बच्चाका चिकित्सक डा. जयदेव यादव (एनएमसी नं. १०८४५) लाई देखायौँ । अगाडि खुवाइरहेको औषधि र अवस्था सबै देखाएपछि डाक्टरले उपचार थाले । ज्वरो नाप्ने मुखभित्र हेर्ने, छातीको आवाज सुन्ने आदि ।
‘भाइरल ज्वरो हो, म दबाइ लेखिदिन्छु, खुवाएर हेर्नुस् अनि ४ दिनपछि मलाई आएर भेट्नुस्’ भनेर शुक्रबारलाई फलोअपको लागि बोलाउँदै हामीलाई पठाए । छोरीलाई उनले दिएअनुसार दबाई र खाना खुवाउँदै भोलि पल्टसम्म हेर्यौं तर सुधार देखिएन ।
अलिअलि गर्दै छोरीको खाना कम हुँदै गयो । उनी कमजोर देखिन थालिन् । फेरि भोलिपल्टै लिएर गयौं र उनै डाक्टरलाई देखायौं, ‘औषधीले काम गर्न थालेको हो, डराउनु पर्दैन झोलिलो कुरा प्रशस्त खुवाउनुस्’ भने । मलाई डर लागेर ‘कि केही अरु जाँचहरु गराएर हेर्नुपर्छ कि ?’ भनेर सोध्दा डाक्टरले ‘केही पर्दैन, बरु यही ल्याएर बिहान बेलुका ३ दिन बाफ लगाउनु, म लेखिदिन्छु’ भने । हामीले पनि त्यसै गर्यौं ।
त्यो सबै गर्दैगर्दा पनि नानीलाई सञ्चो भएन । घ्यारघ्यार बढ्न थाल्यो । दिउँसो छोरी सुतेका बेला अलि ज्यादै ‘घ्यारघ्यार’ भएको सुनेर मोबाइलमा छोरीको भिडियोसमेत खिचेर लगेर डाक्टरलाई देखायौँ । डाक्टरले भने ‘त्यो हेर्नै पर्दैन, बिरामीलाई यही देख्खिरहेको छ ।’ हाम्रो कुरालाई उनले खासै महत्व दिएनन् ।
बिहान-बेलुका दुईपटक हस्पिटल जाँदै बाफ लगाउँदै साँझ फेरि डाक्टरलाई देखाउँदै गर्यौँ । बुधबार डाक्टरलाई भेट्दा छोरीको अनुहार हल्का सुन्निएको र पेट अलिकति फुलेको पनि देखाएँ र ‘कि एक्स-रे गरेर हेरौँ’ भनेर सोधेँ ।
डाक्टरले ‘यो सामान्य हो, खाना नखाएर ग्याँसले होला’ भने । बिहीबार पनि बिहान बाफ लगाउन लैजाँदा इमर्जेन्सीका नर्सहरुले ‘नानी शिथिल छिन् त’ भन्दै थिए । तर डाक्टरलाई रिपोर्ट गरेनन् होला ।
सोही दिन बेलुका ५:३० मा फेरि छोरीलाई लिएर गयौँ । बाफ लगायौँ र डा. यादवको क्याबिनमा लिएर गयौँ । छोरी कुर्सीमा बस्न सकिनन् । बेडमा सुतायौँ । सबै अवस्था बेलिबिस्तार लगाएर ‘अब बरु भर्ना गरेरै उपचार गरौँ, घरमा राख्दा गाह्रो होला’ भनेर डाक्टरलाई भन्यौँ । तर, डाक्टरले फेरि पनि ‘आत्तिनुपर्ने कुरा छैन तर त्यसो भन्नुहुन्छ भने एउटा एक्स–रे हेरौँ अनि रगतको जाँच पनि गरौँला’ भनेर लेखिदिए ।
हामी एक्स-रे गराउन गयौँ र लिएर आयौं । जब रिपोर्टमा फोक्सोमा दुबैतिर निक्कै पानी फैलिएको देखियो तब मात्र बिरामीको स्याचुरेसन (अक्सिजन) जाँचियो र भर्ना प्रक्रिया सुरु गरियो ।
अक्सिजन लेवल धेरै घट्न थालेपछि ‘यहाँ भर्ना नगरौँ, अर्कै अस्पताललाई रेफर गरिदिन्छौँ, पीआईसीयू भएको ह्याम्स अस्पतालमा पठाइदिन्छौँ’ भने । त्यो पनि मान्न हामी तयार भयौँ । तर फोनमा डाक्टरले बिरामीको कन्डिसन बताएपछि ह्याम्सको डाक्टरले नपठाउनु भने ।
त्यसपछि डा. जयदेव यादवले अर्को नाटक रचे र भने, ‘कान्ति बाल अस्पताललाई मैले कुरा गरेँ, बेड खाली छ, लेटर लेखिदिन्छु, सिधै इमर्जेन्सीमा लैजानु र मेरो नाम लिनु ।’ हामी अताल्लिएका बाबुआमा त्यो पनि मन्जुर गरेर एम्बुलेन्स खोज्न थाल्यौँ ।
जब बिरामी छोरीलाई गाडीमा सार्न लाग्यौं, डा. जयदेव यादवले एउटा पत्र लिएर आए र हातमा दिँदै ‘यो मात्र लिएर जानुस्, अरु कागजात केही लानु पर्दैन भन्दै छोरीको मेडिकल रेकर्ड कार्ड (प्रेसक्रिप्सन) नर्सलाई लुकाउन लगाए । त्यतिबेला भने मेरो मनमा चिसो पस्यो र डाक्टरको आँखा छलेर गएर काउन्टरमा नर्सको हातबाट कागज खोसेर बोकेर हिडेँ ।
त्यसपछि अक्सिजन जोडी-जोडी नै नानीलाई कान्ति बाल अस्पताल पुर्यायौँ । त्यहाँ अस्पतालले बेड खाली नभएको भनेर लिनै मानेनन् । त्यहाँ ‘कुनै डाक्टर वा हिमाल हस्पिटलले केही खबर गरेको या कसैसँग कुरा गरेको’ रहनेछ ।
त्यहाँबाट नानीको अवस्था नाजुक भइसकेको भन्दै तुरुन्तै पीआईसीयू भएको अर्को अस्पताल लैजान सुझाव दिए । हामीले खोजी गर्ने क्रममा मेट्रो हस्पिटलमा बेड खाली भएको बुझेर फेरि एम्बुलेन्स बोलाएर त्यहाँ पुर्यायौँ ।
मेट्रो हस्पिटल पुग्दासम्म छोरीले बोलाउँदा रेस्पोन्स गरिरहेकी थिइन् । तर, त्यसबेलासम्ममा छोरीको स्याचुरेसन ५० को हाराहारीमा झरिसकेकाले सिधै सघन उपचार कक्षमा हालियो । उता, छोरीको उपचार सुरु भयो, यता हामी अन्य कागजी प्रक्रिया मिलाउन थाल्यौँ ।
लगभग एक घण्टापछि भित्रबाट मलाई बोलाइयो । म भित्र गएँ । छोरी हेर्न सकिने अवस्थामै थिइनन् । हाम्रो काख र अँगालो रित्तिइसकेको थियो । बाँकी कुरा हजुरहरुलाई अवगत भइसक्यो ।
हामीलाई यी प्रश्नको उत्तर कसले दिन्छ ?
१. चार-पाँच दिनदेखि ज्वरो तथा खोकी लागेको बच्चालाई किन कुनै परीक्षण गरिएन र उपचार थालियो ?
२. लगातार ३ दिनसम्म बाफ लगाउन लगाएर पनि किन एक्स–रे, रगत जाँच तथा पिसाप जाँच जस्ता अति आवश्यक जाँच गरिएन ?
३. पेट फुल्ने, अनुहार सुन्निने घ्यारघ्यार हुने, लामो समय पिसाप नहुने जस्ता लक्षण थपिँदै जाँदा अभिभावकको कुरामा किन ध्यान दिइएन र किन मानिएन ?
४. अस्पतालले पीआईसीयू आवश्यक छ भनी त्यहाँबाट अर्को अस्पताल पठाउनुअघि ‘कान्ति अस्पतालमा पीआईसीयू खाली छ, सम्बन्धित डाक्टरसँग कुरा भयो, छिटो लैजानोस्’ भनेर त्यहाँ कसैसँग कुरा नगरी पीआईसीयू खाली नभएको ठाउँमा पठाएर त्यस्तो संवेदनशील अवस्थामा किन खेलबाड गरियो ?
५. रेफर लेटरमा डाक्टरको हस्ताक्षर नगरी र अस्पतालको छापसमेत नहानी किन पठाइयो ?
६. बिरामीको पुरानो चार दिनदेखिको हिमाल हस्पिटलको मेडिकल रेकर्ड र औषधी किन लुकाउने कोसिस गरियो ?
– अब म के गरौं ! कोसँग लडौँ ?
– मसँग को उभिन्छ ? देश कि नागरिक ?
– यति संवेदनशील सेवामा किन लापरवाही गरियो ?
– यो विषयमा विज्ञ म हो कि डाक्टर ? उसको कुरा मानेर मैले कहाँ गल्ती गरेँ ?
– मैले व्यहोरेको क्षति यो राज्यको क्षति हो कि होइन ?
– सम्बन्धित डाक्टरको योग्यता छानबिन हुनुपर्छ कि पर्दैन ?
– न्याय माग्न पाउने अधिकार त छ तर न्याय पाउने भरोसा कसले दिन्छ ?
उजुरी गर्नुपर्ने निकायहरुमा उजुरी गरिसकेको छु । अब सबैले सबैलाई भनिदिनुस्, बोलिदिनुस्, सँगै उभिइदिनुस्
हामीले भोगेको क्षति अरुले भोग्नु नपरोस् भन्ने चाहन्छु । त्यसैले न्यायको आशा गर्दछु ।
– प्रशंसा गौतमको बाबा
गंगा गौतम
SHARE YOUR THOUGHTS