उड्डयनसम्बन्धी नियम उल्लंघन भएको विषयमा पर्यटन मन्त्रालयको चासो « Eglish Khabarhub

उड्डयनसम्बन्धी नियम उल्लंघन भएको विषयमा पर्यटन मन्त्रालयको चासो



काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनका दिन उड्डयन सुरक्षासम्बन्धी नियम उल्लंघन भएको विषयमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चासो देखाएको छ ।

क्लिकमान्डुमा बुधबार ‘पोखरा विमानस्थल उद्घाटनका दिन उड्डयन सुरक्षाको गम्भीर उल्लंघन, नियमविपरीत ५ उडान’ शीर्षकमा समाचार प्रकाशित भएपछि मन्त्रालयका उच्च अधिकारीले चासो देखाएका हुन् ।

मन्त्रालयको नागरिक उड्डयन महाशाखाका अधिकारीसँग सचिव सुरेश अधिकारीले पोखरामा लास्ट ल्यान्डिङ भीएफआर (एलएलभी) समय उल्लंघन गर्दै उडान भएको विषयमा चासो राखेको महाशाखाका एक अधिकारीले जानकारी दिए ।

‘हामीले एलएलभीसम्बन्धी नियम उल्लंघन गरेर उडान गर्नु निकै गम्भीर विषय भएको जानकारी सचिवज्यूलाई गराएका छौं,’ ती अधिकारीले भने, ‘पोखरा विमानस्थलबाट एलएलभीसम्बन्धी नियम उल्लंघन गर्दै उडान भए-नभएको विषयमा अध्ययन गर्न समिति गठन हुनसक्छ ।’

पुस १७ गते  पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गरेकै दिन एलएलभीसम्बन्धी नियम उल्लंघन गरेर विमानस्थलबाट ५ विमानले उडान भरेका थिए ।

स्रोतले क्लिकमान्डुलाई उपलब्ध गराएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको लगबुकअनुसार कलसाइन ६६० को श्री एयरलाइन्सको विमानका साथै कलसाइन ६१६, ६०८, ६२० र ६५४ नम्बरका बुध्द र यतिका एटीआर विमानले एलएलभीसम्बन्धी नियम उल्लंघन गरी उडान भरेका हुन् ।

आँखाले हेरेर गर्ने उडान सूर्योदयअघि र सूर्यास्तपछि गर्न नमिल्ने गरी प्राधिकरणले असार १७ गते भीएफआर उडानसम्बन्धी नियम संशोधन गरेको थियो ।

नियममा सबै विमानस्थल सूर्यास्तपछि अर्थात् लास्ट ल्यान्डिङ भीएफआर कटेपछि बन्द हुने र उडान-अवतरण गर्न नमिल्ने व्यवस्था छ ।

तर, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको दबाबमा पोखरा विमानस्थलबाट उड्डयन सुरक्षासम्बन्धी नियम उल्लंघन गर्दै विमान उडेका थिए ।

मन्त्रालयका एक अधिकारी पोखरामा प्राधिकरणका उच्च अधिकारीको आँखाअगाडि नै उड्डयन सुरक्षासम्बन्धी नियम उल्लंघन गर्दै विमान उड्दा आफू पनि पोखरामै भएको बताउँछन् ।

‘यो धेरै अनुसन्धान गर्नुपर्ने विषय नै होइन, प्राधिकरणमा उच्च अधिकारीको आँखाअगाडि एलएलभी समय कटेपछि उडान भएको मैले पनि देखेको थिएँ,’ ती अधिकारीले भने, ‘मन्त्रीज्यू र सचिवज्यूले उड्डयन सुरक्षा उल्लंघन गरिएको विषय अनुसन्धानको दायरामा ल्याउनुभयो भने नियम उल्लंघन गर्नेमाथि कारबाही हुन्छ ।’

मन्त्रालयका एक अर्का अधिकारी अन्य देशमा एलएलभी समय कटेपछि उडान गरेको विषय सार्वजनिक भएको भए सरकारले तत्काल सरोकारवालालाई निलम्बन गरेर कारबाही अगाडि बढाउने बताउँछन् ।

‘हवाई सुरुक्षामा १ प्रतिशत पनि जोखिम लिन मिल्दैन,’ ती अधिकारीले भने, ‘आँखा हेरेर गरिने भीएफआर उडानमा एलएलभीसम्बन्धी नियम उल्लंघन गर्दा दुर्घटना हुने जोखिम हुन्छ ।’

पर्यटनमन्त्री भएलगत्तै खादा नल्याउन उर्दी जारी गर्नुको साथै आवश्यकबाहेकका कार्यक्रममा हेलिकप्टर नचढ्ने प्रतिबद्धता जनाएका सुदन किराँतीले उड्डयन सुरक्षासम्बन्धी नियम उल्लंघनलाई कसरी हेर्छन् केही दिनमा थाहा हुनेछ ।

Publish on: