संघाई परिवारको त्रिवेणी व्यापार कम्पनीको आम्दानी ५०% ले बढ्यो, ४ अर्बको व्यापार « Eglish Khabarhub

संघाई परिवारको त्रिवेणी व्यापार कम्पनीको आम्दानी ५०% ले बढ्यो, ४ अर्बको व्यापार



काठमाडौं । संघाई बिजनेस फेमिलीद्वारा सञ्चालित त्रिवेणी व्यापार कम्पनीको आम्दानी ५० प्रतिशतले बढेको छ । कम्पनीको व्यापार सन् २०२१ को तुलनामा सन् २०२२ मा ४९.७९ प्रतिशतले बढेको हो ।

कम्पनीले सन् २०२१ मा २ अर्ब ६८ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०२२ मा ४ अर्ब २ करोड ३० लाख रुपैयाँको व्यापार गरेको छ । त्यस्तै, कम्पनीले सन् २०२० मा १ अर्ब ५० करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो ।

त्रिवेणी व्यापार कम्पनी सन् २००८ देखि नै ट्रेडिङ क्षेत्रमा संलग्न छ । कम्पनीले विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डका घरायसी सामग्री आयात गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीले विशेषगरी चीन, भारत, कोरियाबाट पनि विभिन्न प्रकारका घरायसी सामग्री आयात गर्दै आएको छ ।

कम्पनीले यसुदा ब्रान्डको घरायसी सामग्रीसँगै सामसुङ, पानासोनिक र सन्सुई ब्रान्डको घरायसी सामग्री पनि आयात गर्दै आएको छ । कम्पनीले ९० वटाभन्दा बढी वस्तु आयात गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आएको उल्लेख गरेको छ ।

कम्पनी सन्सुई ब्रान्डको सामग्री बिक्री गर्ने आधिकारिक विक्रेता हो भने सामसुङ र पानासोनिक ब्रान्डको दुई वटा आधिकारिक डिलरमध्ये एक हो । देशभर १६ सय १९ वटाभन्दा बढी डिलर रहेको कम्पनीमा शैलेस संघाईको पूर्ण स्वामित्व छ ।

कम्पनीले सन् २०२२ मा ४ अर्बको व्यापार गर्दा २.९५ प्रतिशत नाफा कमाएको छ । सन् २०२१ मा २.८७ प्रतिशतले नाफा कमाएको थियो । कम्पनीअनुसार सन् २०२२ मा १२ करोड ७० लाख रुपैयाँ नाफा कमाएको जनाएको छ । जबकि सन् २०२१ मा ८ करोड ५० लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो ।

त्यस्तै, कम्पनीले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा १ अर्ब ८१ करोड ८० लाख रुपैयाँको व्यापार गरिसकेको छ । गत वर्ष नेपालले ७५ अर्ब बराबरको इलेक्ट्रिक घरायसी सामग्री आयात गरेको थियो । नेपालमा पर्याप्त विजुलीको उपलब्धता र रेमिट्यान्स आप्रवाह बढ्दा घरसायी सामग्रीको उच्च माग रहेको कम्पनीको भनाइ छ । जसले गर्दा कम्पनीहरुको व्यापार उच्च भएको जनाएको छ ।

कम्पनीले अल्पकालीन कर्जाका लागि २ अर्ब २९ करोड रुपैयाँको रेटिङ गराएको छ । जसमा कम्पनीले एफोर रेटिङ पाएको छ।

Publish on: