![](https://internal.appharu.com/wp-content/uploads/2023/03/chandra-dhakal-4-768x402.jpg)
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले वर्षौं पुरानो कालोबजारी ऐनलाई परिवर्तन गरी उपभोक्ता संरक्षण ऐनसँगै मिलाएर लैजानुपर्ने बताएका छन् ।
विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार उपभोक्ताको संरक्षण गरिएको भए पनि यसले उत्पादन र वितरणलाई निरुत्साहित गरेको बताए ।
संविधानले पनि उपभोक्ता अधिकारलाई सुनिश्चित गरेकाले उपभोक्ताको हितलाई ध्यानमा राखेर वस्तु र सेवा उपलब्ध गराउनु उत्पादक कम्पनी तथा आपूर्तिकर्ताको जिम्मेवारी भएको उनको भनाइ छ ।
निजी क्षेत्रको उत्पादन र वितरणबाट सरकारलाई राजस्व प्राप्त हुने भन्दै उनले गत वर्षको राजस्व र अहिलेको राजस्वको लक्ष्यलाई हेर्दा असुली धेरै नै कम भएको बताए । वस्तु र सेवाको सिन्डिकेट हटाउन र गुणस्तर वृद्धि गर्न कालोबजारी ऐन र उपभोक्ता संरक्षण ऐनलाई समायोजन गरेर लैजान उनले सुझाव दिए ।
वरिष्ठ उपाध्यक्ष ढकालले महासंघले आचारसंहितालाई पहिलो प्राथमिकता दिएर काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।
प्रतिक्रिया