
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई आफ्नो पद गुम्छ कि भन्ने डर रहेको टिप्पणी गरेका छन् ।
मान्छेलाई बढी पाउने इच्छा हुने भन्दै उनले प्रधानमन्त्री दाहालमा पनि पद गुम्ला कि भन्ने डर रहेको बताए । शुक्रबार साई शिक्षा निकेतन माध्यामिक विद्यालयले काठमाडौंमा आयोजित कार्यक्रममा महामन्त्री थापाले पूर्वप्रधानमन्त्रीहरुलाई फेरी प्रधानमन्त्री हुन पाइँदैन कि भन्ने चिन्ता उत्तिकै रहेको दाबी गरे ।
‘अहिले म यसो नेताहरु हेर्छु, पटकपटक प्रधानमन्त्री भइसकेका नेतालाई अर्को पटक प्रधानमन्त्री होला कि नहोला भन्ने डर छ । पटकपटक चुनाव जितेकोलाई अर्को पटक चुनाव नजित्ला कि भन्ने डर छ । अहिले भइरहेका प्रधानमन्त्रीलाई भोलि बिहान अर्को मिलेर हटाइ देलान् कि भन्ने डर छ’ थापाले भने, ‘जुनसुकै क्षेत्रमा तपाई जानु भयो भने, जुनसुकै ठाउँमा पुगेको भए पनि मान्छेलाई जति छ, त्यो भन्दा बढी पाउने इच्छा भइरहन्छ ।’
उनले बालबालिकाहरुलाई भने डर दिनेगरी शैक्षिक वातावरण बनाउन नहुने बताए । बालबालिकाहरुलाई अभिभावक र शिक्षक मिलेर मेहनत गर्न सिकाउनुपर्ने तर एक पटक असफल हुँदैमा खत्तम भयो भन्ने गरी परीक्षाको नाममा डर बोकाउने काम गर्न नहुने थापाले बताए ।
प्रतिक्रिया दिनुहोस्