काठमाडौं । राष्ट्रपतिको आर्थिक सल्लाहकारमा डा. चिरञ्जीवी नेपाल नियुक्त भएका छन् । राष्ट्र बैंकका पूर्वगभर्नर डा. नेपाललाई राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक सल्लाहकार नियुक्त गरेका हुन् ।
राष्ट्रपतिको सचिवालयका एक सदस्यका अनुसार नेपालले बुधबार नै नियुक्ति पत्र बुझिसकेका छन् । श्रम अर्थशास्त्री डा. नेपालले सोह्रौं गभर्नरका रुपमा २०७१ चैत ८ देखि २०७६ चैत ५ सम्म राष्ट्र बैंकको नेतृत्व गरेका थिए ।
राष्ट्र बैंकको गभर्नर भएपछि उनले लिएको पुँजी वृद्धि र बैंक मर्जर नीतिलाई नेपालको बैंकिङ इतिहासमा ‘बिग डिसिजन’को रुपमा लिइन्छ । यही नीतिका कारण एक तिहाइ बैंक तथा वित्तीय संस्थाको अस्तित्व समाप्त भइसकेको छ । मर्जरको लहर अझै रोकिएको छैन ।
त्यसैगरी समस्याग्रस्त संस्थाहरुको व्यवस्थापन र वित्तीय पहुँच अभिवृद्धिमा पनि उनको ठूलो योगदान छ । रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली पनि उनैले स्थापना गरेका हुन् ।
डा. नेपाल त्यसअघि २०६४ भदौ ११ देखि २०६५ मंसिर ११ सम्म नेपाल धितोपत्र बोर्डको कार्यकारी अध्यक्ष भएका थिए । उनले सन् १९९४ मा बनारस हिन्दु विश्वविद्यालयबाट श्रम अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् ।
काठमाडौँ विश्वविद्यालयका भिजिटिङ प्रोफेसर भएर उनले ६ वर्ष काम गरेका छन् । डा. नेपालसँग २२ वर्ष त्रिभुवन विश्वविद्यालयमा अध्यापन गराएको अनुभव छ । उनी तत्कालीन प्रधानमन्त्री शुशील कोइरालाका आर्थिक सल्लाहकार पनि बनेका थिए ।
पारिवारिक पृष्ठभूमिका कारण सानैदेखि कांग्रेससँग आबद्ध नेपाल पाल्पा नेविसंघको संस्थापक अध्यक्ष (२०३६ साल) हुन् । नेपालले बीपी विचार र अर्थतन्त्रसम्बन्धी पुस्तक पनि लेखेका छन् ।
कांग्रेससँगको सामीप्यकै कारण डा. नेपाललाई तत्काली प्रधानमन्त्री कोइरालाले आर्थिक सल्लाहकार र गभर्नर बनाएका थिए । तत्कालीन अर्थमन्त्री डा. रामशरण महतले नेपालमा भित्र्याएको खुला बजार अर्थतन्त्रको नेपाल कट्टर पक्षपाती हुन् ।
डा. नेपालले निजी क्षेत्रका तीनवटै छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघमा सल्लाहकार एवं परामर्शदाताका रुपमा पनि काम गरिसकेका छन् ।
यस्तै राष्ट्रपति पौडेलले कानुनी सल्लाहकारमा पूर्वमहान्यायाधिवक्ता एवं गण्डकीका पूर्वप्रदेश प्रमुख बाबुराम कुँवरलाई नियुक्त गरेका छन् ।
SHARE YOUR THOUGHTS