काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले अर्थ मन्त्रालयमा सल्लाहाकार नियुक्त गरेका छन् ।
मन्त्री महतले बजेट निर्माणमा सहयोग लिन राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा नेपाली कांग्रेसका नेता विश्वनाथ पौडेल, योजना आयोगका पूर्व सदस्य तथा साउथ एसिया वाच अन ट्रेड, इकोनमिक्स एन्ड इन्भायरोमेन्ट (सावती)का कार्यकारी अध्यक्ष डा. पोषराज पाण्डे र राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभाग प्रमुख डा. गुणाकर भट्टलाई आर्थिक सल्लाहाकार नियुक्त गरेका हुन् ।
पौडेल र पाण्डेले तलब सुविधा लिने छैनन् र दुवै राज्यमन्त्री सरह नियुक्त भएका हुन् ।
शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा २०७८ साउनमा पौडेल योजना आयोगको उपाध्यक्ष नियुक्त भएका थिए ।
पौडेलले अमेरिकाको युनिभर्सिटी अफ क्लालिफोर्नियाबाट कृषि अर्थशास्त्रमा विद्यावारिधी उपाधि प्राप्त गरेका छन् ।
पौडेलले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को नेपाल कार्यालयमा आर्थिक सल्लाहकारको रुपमा काम गरेको थिए । पौडेल काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टमा प्राध्यापन समेत गर्छन् । नेपाली कांग्रेसले गत मंसिरमा सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पौडेललाई चितवन-३ बाट उम्मेदवार बनाएको थियो ।
तर, पौडेल राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालसँग पराजित भएका थिए ।
नेपाललाई विश्व व्यापार संगठन (डब्लूटीओ)को सदस्य बनाउने पक्षमा वार्ता गरेका पाण्डेले बहुपक्षीय व्यापार एकीकरण र क्षमता अभिवृद्धिका लागि संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी)मा रहेर काम गरेका छन् ।
उनले अर्थशास्त्रमा विद्यावारिधी र बिजनेस म्यानेजमेन्टमा स्नातकोत्तर छन् । आधा दशकभन्दा बढी त्रिभुवन विश्वविद्यालयको अर्थशास्त्र विभागमा रहेर अध्यापन गराएका थिए ।
SHARE YOUR THOUGHTS