
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले वायुसेवा निगम खाने खुम्लेकिरा मन्त्रीहरु नै रहेको बताएका छन् । नयाँ मन्त्री आएपछि निगमका कार्यकारीदेखि विभागीय प्रमुख नियुक्ति गर्दा रकम असुल्ने गरेको भन्दै मन्त्री किरातीको भनाइ छ ।
नेपाल वायुसेवा निगमको वार्षिक समीक्षा बैठकलाई सम्बोधन गर्दै मन्त्री किरातीले निगमलाई यो हालतमा पुर्याउन मन्त्रीहरुको ठूलो हात रहेको बताए ।
मन्त्री भएको सय दिनसम्ममा आफूले धेरै कुरा थाहा पाएको भन्दै उनले यो सबमा निगमका कर्मचारीहरु पनि चोखो नरहेको बताए ।
नागरिक उड्डयनको तालुकदार मन्त्रीले लाख होइन करोडमा पैसा उठाएपछि कर्मचारीले व्यवसायीक नभइ पैसा असुल्ने कार्ययोजना बनाउने उनको भनाइ छ ।
‘मलाई पैसा मन पर्दैन खाली मेरो सरोकार कामसँग रहन्छ, म वर्ग र जातपात हेर्दिन खाली मेरो सम्बन्ध कामसँग हुने छ । म व्यवहारमा नरम र नीतिमा कठोर मान्छे हो,’ उनले भने, ‘अरु मन्त्रीलाई जस्तो मलाई पैसा होइन एउटा चक्लेट पनि चाहिँदैन । किन कि मलाई मृत्यु थाहा छ र म मरेपछि जम्मा पशुपतिमा अलिकति धुवाँ बन्छु त्यो भन्दा ठूलो अरु केही हुँदैन । त्यसैले म मरेपछि पनि अजम्बरी हुन चाहान्छु त्यसैले मसँग लोभ छैन ।’
आफूले निगमलाई टुटुटुलु हेरेर नबस्ने उनको भनाइ छ । ‘अब विगत जे भयो भयो । निगमलाई म टुलुटुलु हेरेर बस्न सक्दिन । तपाईंहरुसँग मलाई विश्वास छ, अब निगमलाई यो भेन्टिलेटरको अवस्थाबाट सर्जरी गरेर स्वस्थ मान्छे जस्तै डिस्चार्ज गर्नुपर्छ’ मन्त्री किरातीले भने ।
निगमलाई सुधार्न आफू जस्तो सुकै जोखिम मोल्न तयार रहेको भन्दै उनले कुनै पनि दबाब र प्रभावले फरक नपर्ने बताए । मन्त्री हुनका लागि आफू न जन्मिएको भन्दै उनले पद जोखिममा राखेर भए पनि निगमलाई सुधारेर छाड्ने उनको दाबी छ ।
कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निर्देशन दिँदै मन्त्रीले भने, ‘ अब तपाईंलाई यो काम गर्ने अवसर हो । म
तपाईंलाई कारबही गर्छु तपाईंले क-कसलाई कारबही गर्ने हो गर्नुस् । यदि काम गर्न सक्नु भएन भने सल्लाह गरेर नै छाडेर जानुस् सौहार्द ढंगले नै बिदाइ गर्नेछौँ । तपाईंले काम गर्नुहुन्छ भन्ने आशा मलाईं जागेको हो । आज जसरी मुखले प्रतिवद्धता गर्नुभयो सोही अनुसार काम गर्नुहोला । बाहिर शक्तिको ढोका न चहार्नुहोला राम्रो काममा सधैँ मेरो तपाईंप्रति सहयोग र संरक्षण रहने छ ।’
मन्त्री किरातीले निगमको वोर्ड सदस्यलाई समेत बाँकी राखेनन् । उन्ले वोर्डका सदस्यहरु सुविधाका लागि होडबाजी गर्छन् भन्ने आफूले सुनेको बताए ।
‘निगमलाई सुधार्छु भनेर राजनीतिक नियुक्ति खाने अनि सुविधाको लागि मरिमेट्ने हो भने उमेर हुने ले जागिर खाँदा भयो हैन भने पैसा कमाउन व्यापार गरे हुन्छ सुविधाको लागि झगडा गर्ने बोर्ड सदस्यहरुलाई अब बाँकी राखिन्न’ उनले भने ।
मन्त्री किरातीले भने आफू यो युगको परीक्षामा रहेको बताए । यसमा सबैको साथ र सहयोग आवश्यक रहेको उनको भनाइ छ । ‘अब वायुसेवा निगमलाई पुरानो अवस्थामा ल्याउनुपर्छ । निगमको कर्मचारीसँग जो कोही विवाह गर्न तयार होस्, घडी हेरेर प्लेन होइन निगमको जहाज हेरेर मानिसहरु आफ्नो घडी मिलाउन् ‘ मन्त्री किरातीले भने ।
प्रतिक्रिया दिनुहोस्