
काठमाडौं । सरकारले मदिरा आयातमा प्रतिबन्ध खुला गरेसँगै मासिक २८ करोड रुपैयाँ बढीको पैठरी हुन थालेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार आयात प्रतिबन्ध खुला गरेको एक महिनापछि नै मासिक २८ करोड बढीको मदिरा पैठरी हुन थालेको हो ।
अत्यधिक आयातका कारण विदेशी मुद्राको सञ्चिती घट्दै गएपछि सरकारले गत वैशाख १३ मा राजपत्रमा सूचना प्रकाशित गर्दै मदिरादेखि मोटरसाइकलसम्मको विभिन्न १० वटा वस्तुको आयातमा प्रतिबन्ध गरेको थियो ।
सरकारले विभिन्न चरणमा उक्त निर्णय संशोधन गर्दै गत मंसिर मसान्तसम्ममा कायम गरेको थियो । पुसयता प्रतिबन्ध लगाएको सम्पूर्ण वस्तुको आयातमा सहज बनाएको थियो ।
सरकारले आयात खुकुलो बनाएसँगै मदिराको आयात ह्वात्तै बढेको छ । विभागअनुसार पछिल्ला ४ महिनामा महिनामा ७० करोड ९३ लाख रुपैयाँको मदिरा आयात गरेको छ ।
चैत महिनामा मात्रै २८ करोड १५ लाख ७२ हजार रुपैयाँको मदिरा आयात भएको विभागको तथ्यांक छ । प्रतिबन्ध रहेको अवस्था अर्थात् साउनमा ९ करोड ६७ लाख रुपैयाँको ५७ हजार १६५ लिटर मदिरा आयात भएको थियो । नेपालले आयातित मदिराबाट १२ करोड ९२ लाख ६२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
त्यस्तै, भदौमा ४ करोड ६५ लाख रुपैयाँको ३२ हजार लिटर, असोजमा १ करोड ८७ लाख रुपैयाँको ४२ हजार लिटर, कात्तिकमा १७ हजार रुपैयाँको १२ लिटर र मंसिरमा १ करोड ४४ लाख रुपैयाँको ३३ हजार लिटर मदिरा आयात भएको थियो ।
त्यसैगरी, सरकारले प्रतिबन्ध खुला गरेसँगै पुसमा ८ करोड ३१ लाख १६ हजार रुपैयाँको ५० हजार ६२९ लिटर मदिरा आयात भएको विभागको तथ्याङ्क छ ।
विभागअनुसार पुसमा २८ करोड ५० लाख रुपैयाँको १ लाख २२ हजार लिटर, माघमा १४ करोड २७ लाख रुपैयाँको ८५ हजार लिटर र चैतमा २८ करोड १६ लाख रुपैयाँको २ लाख २१ हजार लिटर आयात भएको छ ।
यस्तै, नेपालले चालु आर्थिक वर्षको चैतसम्ममा ९६ करोड ८९ लाख ३० हजार रुपैयाँको ६ लाख ४४ हजार १२९ लिटर मदिरा आयात गरेको छ । उक्त आयातित मदिराबाट नेपालले १ अर्ब ६२ लाख २१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । गत वर्षको तुलनामा यो वर्ष आयातमा प्रतिबन्ध गर्दा ३५.२८ प्रतिशतले घटेको छ ।
गत वर्षको सोही अवधिमा नेपालले १ अर्ब ४९ करोड ७३ लाख रुपैयाँको १२ लाख ५० हजार लिटर मदिरा आयात गरेको थियो । साथै, सरकारले २ अर्ब ७२ करोड ३९ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।
सबैभन्दा बढी बेलायतबाट आयात
नेपालले चालु आर्थिक वर्षको चैतसम्ममा ९६ करोड रुपैयाँको मदिरा आयात गर्दा बेलायतबाट मात्रै ६४ करोड रुपैयाँको आयात गरेको छ । नेपालले ९ महिनाको अवधिमा बेलायतबाट ६४ करोड ५९ लाख रुपैयाँको २ लाख ३४ हजार लिटर मदिरा आयात गरेको छ । साथै, ९३ करोड ६८ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।
बेलायतपश्चात नेपालले अमेरिकाबाट ७ करोड ३४ लाख रुपैयाँको ५६ हजार लिटर मदिरा, अष्ट्रेलियाबाट ५ करोड ३३ लाख रुपैयाँ ९४ हजार लिटर, फ्रान्सबाट ४ करोड १० लाख रुपैयाँको ७४ हजार लिटर र जर्मनीबाट १ करोड ७ लाख रुपैयाँको ८ हजार लिटर मदिरा आयात गरेको छ ।
त्यस्तै, इटलीबाट १ करोड ६४ लाख रुपैयाँको १९ हजार लिटर, भारतबाट ८२ लाख रुपौयँको २२ हजार लिटर, आयरल्यान्डबाट २ करोड ९६ लाख रुपैयाँको २१ हजार लिटर, जापानबाट ५७ लाख रुपैयाँको ८९८ लिटर, मेक्सिकोबाट ९३ लाख रुपैयाँको ४ हजार लिटर र ६३ लाख रुपैयाँको २१ हजार लिटर मदिरा आयात भएको छ ।
विभागअनुसार स्पेनबाट ७८ लाख १७ हजार लिटर, स्वीडेनबाट २ करोड ५९ लाख रुपैयाँको २४ हजार लिटर, सिंगापुरबाट ३२ लाख रुपैयाँको १२ हजार लिटर र इरानबाट ६९ लाख रुपैयाँको करिब ५ हजार लिटर मदिरा आयात भएको छ ।
SHARE YOUR THOUGHTS