टुकुचाको प्राकृतिक अधिकार पुनःस्थापनामा पहिलो चरणको सफलता मिलेको छ: प्रमुख शाह « Eglish Khabarhub

टुकुचाको प्राकृतिक अधिकार पुनःस्थापनामा पहिलो चरणको सफलता मिलेको छ: प्रमुख शाह



काठमाडौं । टुकुचाको प्राकृतिक अधिकार पुनःस्थापना गराउन सुरु गरिएको काममा पहिलो चरणको सफलता प्राप्त भएको काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले बताएका छन् ।

उच्च अदालत पाटनबाट टुकुचाका विषयमा भएको फैसलाको पूर्ण पाठ उधृत गर्दै प्रमुख शाहले खोला छोप्ने कार्य वर्जित भएको र वर्जित कार्यलाई सक्रियतापूर्वक रोकथाम तथा नियन्त्रण गर्नुपर्छ भन्ने नीतिअनुरूप चालेका कुनै पनि कदम खेर नगएको बताए ।

‘केही दिनअघि सार्वजनिक भएको उच्च अदातल पाटनको फैसलाको पूर्णपाठले टुकुचा खोलालाई प्राकृतिक स्वरूपमा खुला कायम गर्ने विकल्पलाई स्पष्ट रूपमा मान्यता दिएको छ,’ उनले भने, ‘टुकुचा ढल होइन, टुकुचा खोला नै हो भन्ने पुनः प्रमाणित भएको छ । नदीको प्राकृतिक अधिकार र कानुनी व्यक्तित्व हुन्छ भन्ने विधि शास्त्रको, घोषणा गरेको छ ।’

अदालतको फैसलाले फैसलाले टुकुचा खोला अर्थात इच्छुमती नदीको प्राकृतिक अधिकार पुनःस्थापना तथा संरक्षणको लागि काठमाडौं महानगरपालिकालगायत संघीय सरकारका सम्बद्ध निकायको ध्यानाकर्षणसमेत गरेको शाहले बताएका छन् ।

‘कुनै पनि नदी वा खोलाको वहाव क्षेत्र, त्यसको दायाँबायाँ वा माथिको जग्गा व्यक्ति विशेषको नाममा रहन नसक्ने वैधानिक मापदण्ड छ । तसर्थ, अब टुकुचा खोलाको क्षेत्राधिकार भित्रको व्यक्ति विशेषको नाममा त्रुटीवश कायम हुन गएको जग्गाको कानुनबमोजिम लगत कट्टा गर्ने र त्यस्तो जग्गा महानगरवासीको सर्वोत्तम हित हुने गरी सार्वजनिक प्रयोजनमा ल्याउनेसम्बन्धी आवश्यक प्रक्रिया अगाडि बढाइनेछ,’ उनले भने ।

Publish on: