
काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद ढाकाकुमार श्रेष्ठलाई पार्टीले गरेको कारबाही तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
श्रेष्ठले दायर गरेको रिटमा सोमबार सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले दुबै पक्षलाई बोलाएको हो ।
दुबै पक्षको बहस सकिएर आदेश नहुन्जेल श्रेष्ठलाई गरिएको कारबाही कार्यान्वयन नगर्न सर्वोच्चले आदेश दिएको हो ।
आफूलाई सांसद र पार्टीको साधारण सदस्यबाट हटाउने रास्वपाको निर्णयविरूद्ध रिट दायर गरेका श्रेष्ठले संसदमा पुनर्वहालीको माग गरेको छ ।
श्रेष्ठलाई सांसदबाट हटाइएको सूचना सभामुख देवराज घिमिरेले संसदमा पढेर सुनाइसकेका छन् ।
आफू स्वास्थ्य मन्त्री बन्नका लागि पार्टीमा रकम बुझाउनु पर्ने भन्दै श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि श्रेष्ठलाई रास्वपाले समानुपातिक सांसद र पार्टी साधारण सदस्यबाट हटाएको थियो ।
SHARE YOUR THOUGHTS