
काठमाडौं । काठमाडौंबाट गुल्मीको रेसुंगा विमानस्थलसम्मको पहिलो व्यवसायिक उडान शुक्रबारबाट सुरु भएको छ ।
शुक्रबार बिहान ६ बजेर ३० मिनेटमा नेपाल एयरलाइन्सको नाइन एन एबिटी कल साइनको जहाजले काठमाडौंबाट रेसुंगा बिमानस्थलसम्मको उडान गरेसँगै रेसुंगासम्मको व्यवसायिक उडान सुरु भएको हो ।
शुक्रबार चालक दलका सदस्यबाहेक १३ यात्रु बोकेर गएको विमान बिहान नै १४ यात्रु बोकेर काठमाडौं पनि फर्किएको छ ।
काठमाडौंदेखि रेसुंगासम्मको हवाई रुटको भाडा ६ हजार रुपैयाँ प्रति व्यक्ति गर्ने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणकाअनुसार नेपाल एयरलाईन्सलाई हप्तामा दुई उडान (मंगलबार र शुक्रबार) रेसुंगा विमानस्थलसम्मको उडान गर्ने अनुमति दिएसँगै व्यवसायिक उडान शुक्रबारबाट सुरु भएको हो ।
दुई साताअघि नेपाल वायुसेवा निगमले रेसुंगा विमानस्थलमा परीक्षण उडान सम्पन्न गरेको थियो । निगमको ९ एन– एबिटि जहाजले वैशाख १७ गते काठमाडौंबाट रेसुंगा विमानस्थलसम्म परीक्षण उडान गरेको थियो ।