
काठमाडौं । मनोज पौडेलले नेपाल उद्योग वाणिज्य महासंघको ‘लगानी तथा अन्तर्राष्ट्रिय मामिला फोरम’को नेतृत्व गर्ने जिम्मेवारी पाएका छन् ।
हालै सम्पन्न साधारण सभाबाट एसोसिएट समूहतर्फ कार्यकारिणी सदस्य पदमा नर्वाचित पौडेलले महासंघको महत्वपूर्ण जिम्मेवारी पाएका हुन् ।
यसअघि उनी अन्तर्राष्ट्रिय लगानी प्रवर्धन समितिको सहसभापति थिए । फोरमको सभापतिको हैसियतले नेपालको आर्थिक कूटनीतिलाई सबल बनाउन सहयोग गर्नेतर्फ ध्यान केन्द्रित हुने उनले बताएका छन् ।
‘प्रत्यक्ष वैदेशिक लगानी, स्वदेशी लगानी, सुलभ तथा वैकल्पिक लगानीलाई बढावा दिने र द्वि-राष्ट्रिय चेम्बरहरूसँगको सम्बन्धलाई थप मजबुत बनाउन पहल गर्नेछु,’ उनले भने, ‘गैरआवासीय तथा आप्रवासनमा जानुभएका नेपालीलाई नेपालको समृद्धिमा सहज तरिकाले सामेल हुन सक्ने वातावरण बनाउन र विकास वित्तीय संस्था तथा साझेदारहरूसँग सहकार्य गर्नेमा केन्द्रित रहनेछु ।’
बेलायतको लन्डन स्कुल अफ इकोनोमिक्सबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेर नेपाल फर्किएका युवा उद्यमी पौडेल आध्यान्त फन्ड म्यानेजमेन्ट नामको संस्था खोलेर प्राइभेट इक्विटी एन्ड भेन्चर क्यापिटलमा काम गरिरहेका छन् । उनले बेलायत सरकारको छात्रवृत्तिमा स्थानीय आर्थिक विकासमा केन्द्रित भएर अध्ययन गरेका छन् ।
उनले लगानी बोर्डमा अर्थशास्त्रीका रुपमा करिब २ वर्ष कार्यानुभव हासिल गरेका छन् । सीपयुक्त जनशक्तिले मात्र देशको विकासमा बलियो टेवा पुग्ने धारणा राख्ने पौडेलले काठमाडौं टेक्निकल स्कुल पनि सञ्चालन गरेका छन् ।