साढे ५ अर्ब लगानीमा इसुवा खोला प्रोर क्यासकेड जलविद्युत आयोजना बन्ने

काठमाडौं । संखुवासभाको मकालु गाउँपालिकामा इसुवा खोला प्रोर क्यासकेड जलविद्युत आयोजना बन्ने भएको छ ।

इसुवा इनर्जी प्रालिले मकालु गाउँपालिकामा ४०.१ मेगावाट जलविद्युत उत्पादन गर्ने भएको हो । कम्पनीले पूरक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार गरिसकेको छ ।

यसअघि ३७.७ मेगावाट क्षमताको विजुली उत्पादन गर्ने गरी तयार प्रतिवेदन स्वीकृत भएको थियो । तर, प्रस्तावले पेनस्टक पाइप, टेलरेस टनेल, टर्वानको क्षमता परिवर्तन गर्दा क्षमता ३७.७ मेगावाटबाट बढेर ४०.१ उत्पादन गर्ने भएकाले पुनः प्रतिवेदन तयार गरेको जनाएको छ ।

कम्पनीले आयोजना निर्माणका लागि करिब साढे ५ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरेको छ । कम्पनीअनुसार आयोजनाको निर्माणमा ५ अर्ब ३६ करोड ७४ लाखक १२ हजार रुपैयाँ खर्च हुने उल्लेख छ । जसमा प्रति मेगावाट उत्पादन गर्न १३ करोड ३८ लाख ५० हजार रुपैयाँ लागत खर्च हुने कम्पनीको भनाइ छ । यसअघि कम्पनीले ३ अर्ब ८३ करोड ६० लाख रुपैयाँ लगानीमा ३७ मेगावाट उत्पादन गर्ने योजना बनाएको थियो ।

परिमार्जित प्रतिवेदनअनुसार आयोजनामा थ्री जेट होरिजेन्टल पेल्टन प्रकारको ३ वटा टर्वान हुनेछ । आयोजनाबाट सुख्खायाम ऊर्जा १०४.६३ गिगावाट आवर, वर्षायाम ऊर्जा १६५.६० गिगावाट आवर र औसत वार्षिक ऊर्जा २७०.२३ गिगावाट आवर विजुली उत्पादन गर्नेछ ।

आयोजना ३ वर्षमा निर्माण सम्पन्न हुने जनाएको छ । जसमा ६.८९ हेक्टर क्षेत्रफलमा जमिन आवश्यक पर्ने उल्लेख छ ।