
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले थप १४ कम्पनीलाई धितोपत्र दलाल (ब्रोकर) का लागि आशय पत्र दिएको छ । यसअघि २ चरणमा २९ कम्पनीलाई आशयपत्र दिएको सेबोनले आज १४ कम्पनी थप गरेको हो ।
यससँगै धितोपत्र दलालका लागि आशय पत्र पाउने कम्पनीको संख्या ४३ पुगेको छ । ४३ मध्ये १२ वटा वाणिज्य बैंकका सहायक कम्पनीले आशय पत्र पाएका छन् ।
सीमित कार्य गर्ने धितोपत्र दलालको अनुमति पत्र प्राप्त गर्न बोर्डमा आवेदन दिएको इगल स्टक इक्विटी प्रालिले रितपूर्वक निवेदन नदिएकाले अनुमति पत्र जारी हुन नसक्ने देखिएको सेबोनले जनाएको छ ।
एनआईसी एसिया सेक्युरिटिज कम्पनी खारेज भइसकेको छ भने सेन्चुरी स्टक ब्रोकर लिमिटेडले निवेदन फिर्ता लिएको छ ।
बोर्डले नयाँ ब्रोकर कम्पनीलाई आयश पत्र दिएपछि कम्पनीहरुले बोर्डले तोकेको मापदण्ड अनुसार पूर्वाधार तयार पार्नुपर्छ । पूर्वाधार तयार पारेपछि सेबोनले अनुगमन गर्ने छ । अनुगमन गर्दा मापदण्ड पुरा गरेको पाएमा ब्रोकर लाईसेन्स पाउने छन् ।