
काठमाडौं । सहयोग र सहकार्यमा निर्माण तथा सञ्चालन हुन सक्ने १३ परियोजनाका लागि रुसले नेपाल सरकारसँग विस्तृत परियोजना प्रस्ताव मागेको छ ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र रुसी समकक्षीबीच भएको भेटवार्तामा १३ परियोजनामा चासो राख्दै रुसले विस्तृत परियोजना प्रस्ताव माग गरेको हो ।
भेटवार्तामा विद्युतीय रेलवे, राजमार्ग, बालबालिका क्यान्सर अस्पताल निर्माणदेखि नेपाली विद्यार्थीलाई मस्कोमा अध्ययनका लागि छात्रवृत्ति कोटा बढाउनेसम्मका परियोजना माग भएको अध्यक्ष तिमिल्सिनाको सचिवालयले जनाएको छ ।
भ्रमणका क्रममा रुसको उपल्लो सदन फेडेरल एसेम्बलीका अध्यक्ष भ्यालेन्टिना मात्भिएन्को, रुसी तल्लो सदन डुमाका अध्यक्ष भ्याचेस्लाभ भोलोदिन र रुसी उपप्रधानमन्त्री दिमित्री चेर्निसेन्कोका बीचमा भएको छलफलमा परियोजना अघि बढाउने विषय उठेका थिए ।
नेपालस्थित रुसी दूतावासले राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनालाई मे ४ मा पत्र लेख्दै नेपाल सरकारबाट विस्तृत परियोजना प्रस्ताव अघि बढाउन आग्रह गरेको छ ।
रुसले पूर्व-पश्चिम विद्युतीय रेलमार्ग र काठमाडौंमा मस्को रेल वेसँग मिल्दोजुल्दो रेल वे निर्माण गर्न तथा नेपालको मुख्य पर्यटकीय स्थल पोखरादेखि नजिकका पर्यटकीय स्थललाई जोड्ने पोखरा-रिडी सडक निर्माणका लागि पनि परियोजना प्रस्ताव मागेको छ ।
पोखरादेखि पर्वत हुँदै गुल्मी पुग्ने पोखरा-रिडी सडकको लागत झन्ड ४ अर्ब छ । अध्यक्ष तिमिल्सिनाको प्रस्तावअनुसार यो सडक रुसले आफ्नै लगानीमा निर्माण गर्न इच्छा देखाएको हो ।
यो सडक पोखराको पामेबाट पर्वतका ६ वटा पालिका हुँदै गुल्मीको रिडीसम्म पुग्ने दोहोरो साइकल लेनसहित निर्माण गरिनेछ । यसैगरी काठमाडौं र पोखरामा बालबालिकाको क्यान्सरसम्बन्धी उपचार गर्ने अस्पताल निर्माण गर्न पनि रुसले चासो देखाएको छ ।
अस्पतालमा प्रारम्भिक चरणमा रुसी डाक्टर उपलब्ध गराउने र त्यससम्बन्धी अनुभव नेपाली विशेषज्ञलाई हस्तान्तरण गर्ने प्रस्ताव रुसले गरेको छ । अहिले नेपालबाट वार्षिक १८ विद्यार्थीलाई रुसले छात्रवृत्ति उपलब्ध गराउँदै आएको रुसले चिकित्सा र इन्जिनियरिङ विषय अध्ययनका लागि वार्षिक १ सय ५० देखि २ सय विद्यार्थीलाई छात्रवृत्ति कोटा उवलब्ध गराउन खोजेको छ ।
अध्यक्ष तिमिल्सिना र रुसी उपप्रधानमन्त्री चेर्निसेन्कोबीच भएको छलफलमा नेपालमा जी टु जी मार्फत रासायनिक मल र गहुँ निर्यात गर्न रुसले चासो देखाएको थियो । रुसले रासायनिक मल र गहुँबाहेक पेट्रोलियम पदार्थ पनि प्रत्यक्ष रुपमा उपलब्ध गराउने प्रस्ताव मागेको छ ।

यस्तै रुसले नेपालसँग मस्कोबाट सीधा हवाई उडान गर्ने, नेपालको हिमाली तथा पहाडी क्षेत्रमा उपयुक्त हुने रुसी हेलिकप्टर बिक्री गर्ने तथा नेपालका पहाडी क्षेत्रका लागि उपयुक्त हुने सवारी साधानको बिक्री गर्न पनि चासो देखाएको छ । अध्यक्ष तिमिल्सिनाको निम्तो स्वीकार्दै रुसको उपल्लो सदन र तल्लो सदनका प्रमुखले छिट्टै नेपालको भ्रमण गर्न प्रस्ताव पनि पठाएका छन् ।
रुसी प्रस्तावका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल, अर्थमन्त्री डा. प्रकाशशरण महत, कृषिमन्त्री डा. वेदुराम भुसाल, भौतिक पूर्वाधार तथा यातयातमन्त्री प्रकाश ज्वाला, शिक्षामन्त्री अशोक राई, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत र युवा तथा खेलकुदमन्त्री डिकबहादुर लिम्बूलाई समेत परियोजना कार्यान्वयनका लागि प्रस्ताव तयार गर्न तिमिल्सिनाले आग्रह गरेका छन् ।
सरकारका तर्फबाट सबै मन्त्रालयले प्रस्ताव तयार पारेर पठाउने क्रम सुरु भएको छ । तिमिल्सिनाले वैशाख ६ देखि ११ सम्मको रुसको भ्रमण गरेका थिए ।
SHARE YOUR THOUGHTS