वर्षमा ७ महिना ताला लाग्ने बागलुङको मुठाचौरमा पुग्यो सडक « Eglish Khabarhub

वर्षमा ७ महिना ताला लाग्ने बागलुङको मुठाचौरमा पुग्यो सडक



बागलुङ । मुठाचौर बागलुङको सबैभन्दा उच्च स्थानमा रहेको बस्ती हो । उच्च पहाडको टुप्पोमा समथर भूभागमा फैलिएको मुठाचौर खेतीपाती र पशुपालनका लागि उर्वर ठाउँ हो ।

वरपर घनाजंगल । चारैतिर घना जंगलले घरिएको मुठाचौरमा ढुंगा, माटो र काठले बनेका कलात्मक घर छन् । यी घरमा वर्षको सात महिना ताला लगाइएको हुन्छ ।

घुम्ती बसाइँले स्थानीय यहाँ बर्खाको समय पशुचौपाया लिएर पुग्ने गर्छन् । मुठाचौर मोटरबाटो, खानेपानी, विद्युत्लगायत विकासका पूर्वाधारले नजोडिएको हुँदा स्थानीय छोटो समय मात्रै बस्ने गर्छन् ।

छोटो समयमै पनि उनीहरुले यहाँ आलु, भाँगो र सिमी उत्पादन गर्छन् भने पशुचौपाया पनि पाल्ने गर्छन् । सेवासुविधाले पछि परेको मुठाचौर अब विकासले जोडिँदै छ ।

तमानखोला गाउँपालिका-२ मा पर्ने यो ठाउँ बागलुङको मुख्य पर्यटकीय गन्तव्य बराह तालको छेउमै छ । भौगोलिक हिसाबले निकै विकट हुँदा मुठाचौरमा अहिलेसम्म मोटरबाटो पुग्न सकेको थिएन ।

यो वर्ष बल्ल यहाँ सडक पुगेको छ । पर्यटकीय हिसाबले भने निकै मनोरम रहेको मुठाचौर पुग्ने जोकोही यहाँबाट देखिने हिमशृंखला र अनेकौँ दृश्यले लोभिन्छन् ।

प्राकृतिक सुन्दरताले भरिएको मुठाचौरमा करिब २ सय घर-परिवार बसोबास गर्दै आइरहेका छन् । हरेक वर्ष स्थानीय ५ महिना मुठाचौरमै बस्ने गर्छन् भने बाँकी समय कटेरी, भयरभबोंगा गाउँमा झर्ने गर्छन् ।

सेवासुविधा नपुग्दा घुम्ती बसाइँ गर्ने स्थानीय अब मुठाचौरमै बस्ने भएका छन् । गण्डकी प्रदेश सरकारले विनियोजन गरेको ५० लाखले मुठाचौरमा सडक पुर्‍याइएको गाउँपालिका अध्यक्ष जोकलाल बुढामगरले बताए । उनका अनुसार मुठाचौरसँगै बराहतालसम्म सडक पुर्‍याइएको छ ।

‘अब स्थानीय र बराह तालमा आउने पर्यटकलाई सहज हुनेछ, यो ठाउँ निकै मनोरम हुँदा पर्यटकीय गन्तव्य बन्नसक्छ भने उत्पादनका हिसाबले निकै सम्भावना बोकेको छ, अब यसको प्रवर्धन गर्नतर्फ योजना बनाएर लाग्छौँ, यो वर्ष सडकले जोड्यौँ, अब खानेपानी र विद्युतको व्यवस्था गर्छौं,’ उनले भने ।

मुठाचौर प्राकृतिक रुपले सुन्दर भए पनि सडक, विद्युतलगायत विकासका पूर्वाधारले जोडिन नसक्दा अहिलेसम्म ओझेलमा परेको स्थानीय ढालेन्द्र छन्त्यालले बताए । बर्खाको समयमा यहाँ बस्ने स्थानीय अँध्यारोमै बस्न बाध्य थिए । बजारबाट सामान पनि मान्छेले नै बोकेर लैजाने हो ।

गाडी चल्न थालेपछि वर्षौंदेखिको स्थानीयको समस्या समाधान हुने उनी बताउँछन् । मुठाचौरभन्दा केही तल रहेको कटेरी गाउँसम्म भने मोटरबाटो, बिजुलीको पहुँच पुगेको छ ।

मुठाचौरमा सडक पुगेपछि स्थानीय हर्षित भएका छन् । स्थानीय खिमा रसाइलीले अब आफूहरुका दुःखका दिन हराउने बताइन् । ‘सबै गाउँमा मोटर गुड्दा अहिले बल्ल मुठाचौरमा मोटरबाटो आएको छ, अब दैनिक उपभोग्य सामान थाप्लोमा बोकेर खान पर्दैन,’ उनी भन्छिन्, ‘सडक आएपछि यात्रा गर्न र सामान ढुवानी गर्न पनि सहज हुन्छ । खानेपानी तथा विद्युतको पनि व्यवस्था भए आमी सबैको कल्याण हुने थियो ।’

विद्युत् नहुँदा उनीहरु वर्षौंदेखि अँध्यारोमा बस्न बाध्य छन् । पानी पोखरी तथा कुवाबाट लिएर उपभोग गरिरहेका छन् ।

गाउँपालिकाले कटेरी गाउँ हुँदै कोलचेप्पासम्म अघिल्लो वर्ष सडक पुर्‍याएको थियो । यो वर्ष बराहतालसम्मै सडक पुग्नेछ । सडकले मुठाचौरको विकास र बराह तालको प्रवर्धनका लागि टेवा पुग्ने रसाइलीको भनाइ छ । सडक हुँदा आन्तरिक पर्यटक मुठाचौर र बराह तालमा घुम्न आउने गरेको उनले बताइन् ।

(रासस)

Publish on: