राधी विद्युत् कम्पनीका तत्कालीन अध्यक्ष रुंगटाले गरेको भित्री कारोबारको २ वर्षपछि सेबोनले थाल्यो अनुसन्धान « Eglish Khabarhub

राधी विद्युत् कम्पनीका तत्कालीन अध्यक्ष रुंगटाले गरेको भित्री कारोबारको २ वर्षपछि सेबोनले थाल्यो अनुसन्धान



काठमाडौं । नेपाल धितोपत्र बोर्डले राधी विद्युत् कम्पनीका तत्कालीन अध्यक्ष अनिलकुमार रुंगटाले कानुनविपरीत गरेको भित्री कारोबारको अध्ययन/अनुसन्धान सुरु गरेको छ ।

रुंगटाले कानूनविपरीत भित्री कारोबार गरेको २ वर्षपछि बोर्डले अध्ययन/अनुसन्धान सुरु गरेको हो । रुंगटाले २०७८ वैशाख २९ गतेदेखि २०७८ असोज १३ गतेसम्म २१ लाख ६१ हजारभन्दा बढी कित्ता सेयर २ अर्ब १७ करोड ४७ लाख बढी रकमको सेयर बिक्री गरेका थिए ।

उक्त समयमा गरेको कारोबारको बोर्डले बल्ल अध्ययन सुरु गरेको छ । बोर्ड निकट स्रोतका अनुसार कानून विपरित भएको सबैखाले कारोबारलाई कारबाहीको दायरमा ल्याउने अध्यक्ष रमेश हमालको तयारी अनुसार फाइलको अध्ययन÷अनुसन्धान सुरु भएको हो ।

‘राधीमात्रै नभएर कानून बिपरित भएका (शिवम् सिमेन्ट) लगायत सबै खाले कारोबार, कारोबारमात्रै नभएर कानून विपरित पुँजी बजारमा भएका हरेक गतिविधिरलाई अध्यक्षज्यूले निकै चासोका साथ हेर्नु भएको छ,’ बोर्डका एक कर्मचारीले भने, ‘सेयर बजारमा शुद्धीकरण, पारदर्शी गर्नुपर्छ भनेर उहाँ लाग्नु भएको छ । कानूनविपरित भएका यस्ता भित्री कारोबार गर्ने कानुनी दायरामा आउने देखिएको छ ।’

सोही अनुसार सम्बन्धीत विभागले अनुसन्धानको कामलाई तिब्रता दिएको बताइएको छ । बोर्ड अध्यक्ष हमालले पनि अनुसन्धानले कानूनविपरित कारोबार भएको पाइएमा जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याउने बताए ।

‘कानूनविपरित काम गर्ने जोकोहीलाई पनि बोर्डले छाड्दैन,’ अध्यक्ष हमालले क्लिकमान्डुँग भने । राधी विद्युत् कम्पनीका तत्कालीन अध्यक्ष रुंगटाले धितोपत्र दर्ता तथा निष्कासन नियमावली–२०७३ को दफा ३८ को १ (क) मा भएको व्यवस्थाविपरीत सेयर बिक्री गरेका हुन् ।

रुंगटा राधी विद्युत् कम्पनीको अध्यक्ष रहँदा लमजुङ इलेक्ट्रिसिटी डेभलपमेन्ट कम्पनीले राधीको उक्त रकमबराबरको सेयर बिक्री भएको थियो । राधीका तत्कालीन अध्यक्ष रुंगटाको लगानी रहेको मुख्य कम्पनी सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी हो । यो कम्पनी नेप्सेमा लगानी समूहमा सूचीकृत छ । मुख्य कम्पनी सीइडीबी हाइड्रोपावर हो ।

सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको १०० प्रतिशत लगानी गण्डकी इनर्जी लिमिटेडमा छ भने लमजुङ इलेक्ट्रिसिटी डेभलपमेन्ट कम्पनीमा ८४.१९ प्रतिशत सेयर स्वामित्व छ । उक्त कम्पनीको ४७.२६ प्रतिशत सेयर स्वामित्व राधी विद्युत् कम्पनीमा छ ।

तत्कालीन समयमा यी चारवटै कम्पनीको अध्यक्ष रुंगटा नै थिए । चार वटा कम्पनीमध्ये सीइडीबी हाइड्रोपावर र राधी नेप्सेमा सूचीकृत छन् । अहिले रुंगटा सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीमा मात्रै अध्यक्ष छन् । उनी उक्त ५ महिनाको अवधिमा लमजुङ इलेक्ट्रिसिटी कम्पनीले राधीमा गरेको लगानी बिक्री गरेर निस्किए । उनले आफूसँग भएको संस्थापक सेयर बिक्री गरेर कम्पनी छोडेका छन् ।

कम्पनीका अनुसार २०७७ भदौ २५ देखि लागू हुनेगरी रुंगटालाई अध्यक्षमा नियुक्त गरिएको थियो । रुंगटा करिब १० महिनामात्रै कम्पनीको अध्यक्षका रुपमा रहे । उनी अध्यक्ष भएको समयमा साढे ८७ करोड र अध्यक्षबाट राजीनामा दिएपछि १ अर्ब २९ करोड रुपैयाँभन्दा बढीको सेयर बिक्री भएको देखिएको छ । प्राप्त विवरणअनुसार रुंगटाले २०, २८, ३२, ३३, ४३ र ५६ नम्बर ब्रोकरबाट सेयर बिक्री गरेका हुन् ।

उनले उक्त रकमको सेयर बिक्री गरे पनि यी चार वटै कम्पनीको वित्तीय विवरणमा उक्त रकम उल्लेख गरिएको छैन । उक्त रकम वित्तीय विवरणमा नभएपछि धितोपत्र बोर्ड र नेप्सेमा २०७८ कात्तिक २५ गते उजुरी परेको थियो ।

सहायक कम्पनीले बिक्री गरेको सेयरको हिस्सा माउ कम्पनीको वित्तीय विवरणमा उल्लेख गर्नुपर्ने प्रावधान छ । त्यो नगरेको भएर बोर्डमा उजुरी परेको हो ।

नेप्सेले राधी विद्युत् कम्पनीलाई खारे इन्भेष्टमेन्टको प्रबन्ध पत्र, नियमावली, सम्पूर्ण सञ्चालकको विवरणलगायतका विवरण पटक पटक माग गर्दा आंशिक विवरण दिएको र लगानीको विवरण नदिएको भन्दै पुनः २०७८ कात्तिक २५ गते तीन दिनभित्र पेस गर्न पत्र काटेको थियो । तीन दिनभित्र पेस नगरेमा धितोपत्रको प्रचलित ऐन, नियमअनुसार कारबाही गरिने जनाएको थियो ।
धितोपत्र बोर्डले २०७८ असार असार १ गते इन्साइडर ट्रेडिङ, कर्नरिङ भयो भनेर निकालेका ५१ वटा कम्पनीको सूचीमा राधी विद्युत् कम्पनी पनि छ ।

नियमावलीमा के छ ?

धितोपत्र बोर्डको धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को दफा ३८ को १ (क) मा ‘संगठित संस्थाको सञ्चालक, कार्यकारी प्रमुख, लेखापरीक्षक, कम्पनी सचिव वा संगठित संस्थाको व्यवस्थापन वा लेखासम्बन्धी कार्यमा प्रत्यक्ष रुपले संलग्न व्यक्तिले त्यस्तो पदमा बहाल रहँदाका बखत वा त्यस्तो पदबाट अवकाश प्राप्त गरेको मितिले एक वर्षसम्म सम्बन्धित संगठित संस्था वा त्यसको सहायक कम्पनीको धितोपत्र आफ्नो वा आफ्नो परिवारको सदस्य वा अन्य कुनै व्यक्ति वा त्यस्ता व्यक्तिको नियन्त्रणमा रहेको फर्म, कम्पनी वा संस्थाको नाममा वा अन्य व्यक्तिलाई खरिद बिक्री गर्न गराउन वा हस्तान्तरण गर्न वा लेनदेन गर्न सक्ने छैन’ भन्ने उल्लेख छ ।

Publish on: