बजेटले पोलिसी ट्रयापबाट निस्किने उपाय दिएन: पृथ्वीराज लिगल « Eglish Khabarhub

बजेटले पोलिसी ट्रयापबाट निस्किने उपाय दिएन: पृथ्वीराज लिगल



काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष पृथ्वीराज लिगलले सरकारले बजेटमार्फत पोलिसी ट्रयापबाट निस्किने उपाय नखोजेको बताएका छन् ।

त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विद्यार्थी समाजले केन्द्रीय अर्थशास्त्र विभाग कीर्तिपुरमा आयोजना गरेको बजेटपछिको छलफल कार्यक्रममा उनले बजेटबाट आन्तरिक गतिविधि बढाउने र परनिर्भरता हटाउने कुनै कार्यक्रम र योजना सरकारले नल्याएको टिप्पणी गरेका हुन् ।

‘पोलिसी ट्रयापबाट बाहिर निस्किन दोस्रो चरणको सुधारको कार्यक्रम या आन्तरिक उत्पादन बढाउने कार्यक्रममा बजेट केन्द्रित हुनुपर्ने थियो,’ उनले भने, ‘तर सरकारले सामान्य अवस्थाको जस्तो हिसाबले बजेट ल्यायो, यसले हाम्रो शिथिल अर्थतन्त्रलाई सही बाटोमा ल्याउँदैन ।’

अर्थतन्त्रलाई दोस्रो चरणको सुधारमा लैजान ढिला भइसकेको उनले बताए । ‘३२-३३ वर्षदेखिको नीतिले अहिलेको अवस्थामा देश माथि जान सक्दैन,’ उनले भने, ‘अर्थमन्त्रीले काम गरेर देखाउने अवसर गुमाएका छन् ।’

कुन क्षेत्रलाई पहिला रिफर्म गर्ने भनेर योजनाका साथ बजेट ल्याउनुपर्ने र सोही अनुसार राज्यका सबै निकायलाई परिचालन गर्नुपर्ने स्थिति रहे पनि अर्थमन्त्री डा. प्रकाशशरण महतले त्यसो नगरेको उनले बताए ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभाग प्रमुख प्रा. डा. शिवराज अधिकारीले आयातमा रोक लगाउँदा बाह्य क्षेत्रमा सुधार देखिए पनि बाँकी सबै क्षेत्र असन्तुलन भएको बताए । ‘हामीले सरकारलाई आयातमा रोक लगाउनेभन्दा पनि विलासी वस्तुमा कर बढाउन सुझाव दिएका थियौं,’ उनले भने, ‘त्यसलाई बेवास्ता गर्दा पनि समस्या भएको देखियो ।’

अध्ययन र अनुसन्धानबिना जे ठिक लाग्छ त्यही गरेका कारण समस्या थपिएको उनले स्पष्ट पारे । आयातमा आधारित कर घट्दा अर्थतन्त्रमा आधारित कर राजस्व पनि घट्नुले हामी आयातमा कति निर्भर रहेछौं भन्ने स्पष्ट भएको प्रा. डा. अधिकारीले बताए ।

कार्यक्रममा अर्थशास्त्र विद्यार्थी समाज (इकोज)ले ‘अ रिपोर्ट अन स्टेकहोल्डर्स् पर्सेप्सन अन बजेट- २०८०/८१’ सार्वजनिक गरेको थियो । जेठ १५ गते सार्वजनिक भएको आगामी आर्थिक वर्षको बजेटका विषयमा १७८ स्याम्पल लिएर सर्वेक्षण गरिएको थियो ।

सर्वेक्षणका क्रममा कृषिक्षेत्रलाई प्राथमिकता दिनुपर्ने, पुँजीगत बजेट खर्च हुनुपर्ने तथा रोजगारी सिर्जना हुनुपर्ने जवाफ अधिकांश सहभागीले दिएका थिए । विद्यार्थीहरु ज्योति दाहाल, ऋचा सापकोटा, पवनकुमार सिग्देल, आकृति मगरले प्रतिवेदनमाथि प्रस्तुति दिएका छन् । विद्यार्थी सञ्जिता पाण्डेले सञ्चालन गरेको कार्यक्रमको समापन इकोजका अध्यक्ष सन्तोष पन्थीले गरे ।

Publish on: